म दुख्छु अश्रुमा तिम्रो, भारी सही बिडम्बना,
म रुन्छु या म हास्दैछु के छ भित्र यथार्थमा,
के लुक्थ्यो दृष्टिमा तिम्रो, पुत्र हुं म दया गर,
फर्कन्छु पाऊमा तिम्रो, तरेर भवसागर । ।
***
म खान्छु अन्नमिष्टान्न यो बाहु बलशुन्य छ,
दौडन्छु दूरकोगामी तर लक्ष अगम्य छ,
भुलेको पथको बटुवा सृष्टी तिम्रो क्षमा गर,
फर्कन्छु पाऊमा तिम्रो, तरेर भवसागर । ।
***
म पिउछु क्षीर सागर त्यो तर तृष्णा अतृप्त छ
म गांउछु गीत पीरतीको तर माया बिक्षिप्त छ,
भुलेको क्रोधमा तिम्रो लुक्ने माया कहाँ छ र,
फर्कन्छु पाऊमा तिम्रो, तरेर भवसागर । ।
***
हे माता पुत्र हू तिम्रो ,म जे छु या म जस्तो छु,
बिकाउ यी नगर मांझ अनायासै म सस्तो छु,
तोडेर भ्रमको जालो, भ्रान्तिका कटु-सुन्दर,
फर्कन्छु पाऊमा तिम्रो, तरेर भवसागर । ।
*******************************
बिलोल पोख्रेल
ह्युस्टन टेक्सास
(स्रोत : रचनाकारको फसबुकबाट सभार )