ढल्यो
सर्वश्व ढल्यो ।
त्यसैले दिग्भ्रमित छन् मेरा आँखाहरु
र खोज्दैछु म त्यस्तै
नोष्टाल्जिक आँखाका सुन्दर सपना
ओहो
कसरी भयो एकाएक यस्तो ?
कसले भत्कायो मेरो घर ?
कसले उखेल्यो पारिजातको रुख ?
कसले ढाल्यो तुलसीको मोठ ?
कसले सल्कायो गोठमा आगो ?
उग्राइहेका चौपाया
र भकारो सोहोरी रहेकी बुहारी
कोही जीवित भएनन
जहाँ म जन्में, त्यही हो मेरो धर्ती
थाहा छ ?
म जन्मेको देशले स्वीकार गरेन मलाई
पिता पुर्खाको के कुरा ?
आफ्नै दौंतरीका आँखामा म अनागरिक बनें
के दोष थियो मेरो , जहाँ म अनागरिक बन्न पुगें ?
आफ्नै चाहानामा मान्छे जन्मन सक्दैन भने
कसरी म अनागरिक हुन सक्छु ?
पटक्कै सक्दिन ,
म जन्मेकै देश मेरो हो
त्यसैले मलाई यही देशको माटो प्यारो छ
मलाई यही देशको माटोको सुगन्ध प्यारो छ ।
म आफ्नो सुन्दर वाल्यकालको
सुखद क्षण सम्झँदैछु ।
र, कुर्दैछु विरानो ठाउँको अत्यासलाग्दो परिवेश ।
सम्झन्छु कति रमाइलो हुन्थ्यो होला
मेरो देश यतिकै विकसित भैदिए
मेरो देशको सरकार
यतिकै विवेकी भैदिए ।
कसले विझाउन सक्थ्यो मलाई
शरणार्थीको बोझिलो शव्दमा
र अप्रिय आश्वासनमा ?
यतिबेला
पाइलै सार्न नसक्ने भएको छु म
किनभने मेरा चाहनाका पाइलाहरु रोकिएका छन्
अमेरिकाको यो विशाल आकाशमा
म मेरो देशको सानो नक्सा कोरिरहेको छु
जहाँ अनगिन्ती सपना
मेरो आँखा अगाडि विस्कुन बनेर
सुकिरहेका छन् ।
(भुटानी शरणार्थीलाई अमेरिका लगिएपछि लेखिएको कविता )
(स्रोत : Shabdahar )