दुःख लुकाइ कृत्रिम हाँसो हाँस्नु पर्छ जिन्दगिमा
थुँगा थुँगा खोजि माला गाँस्नु पर्छ जिन्दगिमा
यात्रा गर्दा जँघार तर्दा छरिन्छन् केहि सपना
पत्र पत्र भेला गरि टाँस्नु पर्छ जिन्दगिमा
रहरलाग्दो बैंशपनि विचारसँगै वरालिन्छ
कुत्सित् सोच मन भित्रै मास्नु पर्छ जिन्दगिमा
छेक्छन् बाटो हाल्छन् बाधा रोक्न सक्छु पाइला भनि
त्रसित् पार्न ठुलो स्वरमा बास्नु पर्छ जिन्दगिमा
उज्यालो हो सफलता यथार्थ यो जिन्दगिको
अन्धकार छाउँछ कुनै नास्नु पर्छ जिन्दगिमा
प्रशान्त खरेल
२०६६ चैत्र ११
(स्रोत : Prashant’s Blog )