बालककालमा
बालसाथीहरुले भन्थे-
“फलफुल खाँदा बियाँहरु ननिल्नू
निलेपछि
पेटमा उम्रिन्छन बियाँहरु
पेटमा नै बिरुवा लाग्छ
पेटमा नै बिरुवा पलाउँछ
रुख बन्छ
र मानिसको मृत्यु हुन्छ | ”
रातभरी सपनामा म
आफ्नो पेटमा रुख देख्थें
मृत्युदेखि भयभित
म संधैसंधै
फलफूलका बियाँहरुसंग सतर्क रहन्थेँ
थाह छैन कहिले निलें मैले
अन्जानमा फलफुलका बियाँहरु ?
कहिले उम्रियो यो उल्टो रुख मेरो शरीरभित्र ?
कहिले हाँगाहरु पलाए ?
मेरो मस्तिष्कभरि
कहिले झ्यांगिए रुखका जराहरु ?
थाह छैन
कहिले र कसरि हुर्काएँ मैले
यो सुन्दर उल्टो रूख आफुँभित्र ?
यधपि थाह छ-
म भित्र हुर्किएको यो उल्टो रुख
कोर्न थालेको छु आस्थाले ब्रसले
मनको रङ्गहीन क्यानभासमा-
एक सुन्दर देश र एक सुन्दर विश्व,
मन पराउन थालेको छु-
सम्झौताहीन जीवन,
माया या घृणा गर्न थालेको छु जीवनलाई
माया या घृणा गर्न थालेको छु मृत्युलाई
र खोज्न थालेको छु उत्साहले-
मान्छेकै बस्तीमा मान्छे हरु
मनकै बस्तीमा इश्वरहरु !
हामी सबैले निल्छौँ अन्जानमा
फलफुलका बियाँहरु
उम्रिन्छन् तिनीहरु
हाम्रो मलिलो छातीभित्र
र हुर्काउँछौं आफुँभित्र
सुन्दर तर उल्टा रुखहरु !
बाल्यकालमा
बालसाथीहरु भन्थे-
‘फलफुल खाँदा बियाँहरु ननिल्नू !’
(स्रोत : Sahitya Sangrahalaya )