~खलील गिब्रान~
अनु : डा. दीपक कुमार खड्का
एक जना सज्जन मानिसको बगैंचामा थुप्रै दाडिमका रुखहरू थिए । हरेक वर्ष दाडिमको याममा उनी आफ्नो घर अगाडि एउटा किस्तीमा दाडिम राख्थे र त्यसमाथि एउटा पर्चा पनि राखिदिन्थे जसमा लेखिएको हुन्थ्यो, “यी फलहरू सित्तैमा दिनको लागि राखिएका हुन्, एक एक वटा लिएर जानुभए हुन्छ ।”
मानिसहरू त्यो बाटो हिड्थे तर दाडिम भने कसैले पनि छुदैनथे ।
त्यसबारे निकै गम खाए पछि ती सज्जनले अर्को याममा त्यही किस्तीमा दाडिम नराखी केवल एउटा ठूलो ठूलो अक्षरले लेखिएको पर्चा ठड्याएर राखे जसमा लेखिएको थियो, “हामीकहाँ सन्सारको सबैभन्दा असल दाडिम पाइन्छ, तर मूल्य भने अन्य दाडिम भन्दा अलि बढी छ है ।”
त्यसपछि अचम्मै भयो । छिमेकका सारा मानिसहरू दाडिम किन्न घुइँचो लागे ।
(Khalil Gibran: The Wanderer बाट ‘Pomegranates’को भावानुवाद गरिएको ।)
(स्रोत : Shabdahar )