कथा : विवशता

~पार्वती शाही~Parbati shahi

यहिनेर भयो उनी सँग मेरो भेट । राहत साम्रगी थाप्नेहरुको लाइनमा । लाईनमा बच्चा देखि बुढा सम्म सबै उमेरका मान्छे भए पनि आईमाई केटाकेटीको संख्या बढी थियो । प्रायः केटाकेटी नाङ्गा–भुतुङ्गा देखिन्थे । आईमाईहरु पातलो एकसरो म्याक्सीमा लामबद्ध थिए । उमेर पुगि सकेका धेरैले काखमा बच्चा च्यापे पनि तीस बर्ष जति कि उनी, मात्रै एक्ली थिईन् ।

हामी पनि चार जना थियौं । रेडक्रस काठमाडौंले बर्दिया राजापूर क्षेत्रको बाढी पिडित उद्धार कार्यकालागि पठाएको थियो हामीलाई, केहि राहत सामग्रीका साथमा । जताततै जलमग्न, ओभानो ठाउँ भनेकै त्यहि एउटा विद्यालय परिसर मात्र । जहाँ राजपूर आसपास क्षेत्रका बाढी पिडितहरुको उद्धार गरी राखिएको थियो । त्यहि छोडेर गएको थियो हामीलाई हेलिकप्टरले, केहि समय अघि मात्रै ।

चार जना हामीलाई चार थरि राहत सामग्री बितरणको जिम्मा दिईएको थियो । लत्ता कपडा, औषधि, खाद्य सामग्री र नगद पैसा । मलाई लत्ता कपडा बितरणको भाग परेको थियो । शशस्त्र प्रहरी र नेपाली सेना उद्धार कार्यमा खटिएका थिए र त्यतिबेला उनिहरुकै सहयोगमा राहत सामग्री बितरणका गर्दै थियौ हामी ।

भोक र पिडाले निचोरिएका मायालाग्दा अनुहार बीच आफै भित्र दुखेको थिए म । बीच लाइनमै थिइन उनी । अरु भन्दा केहि फरक । लाईन सर्दै जान्छ क्रमशः ।उनको पालो आयो । “तपाईको नाम ?” मैसे सोेधे । पुलुक्क हेर्छिन टिढ लाग्दा पाराले र मुस्किल सँग भन्छिन–“कविता देवि” । “कति जना हुनुहुन्छ ?” फेरी सोध्छु । “थिए सबै तर …….” भक्कानो फुट्छ उनको ।
उनका बारेमा मैले भन्दा बढी उसले बुझेको हुँदो हो शायद, नजिकैको सेनाको जवानले भन्छ–“सर ! उनी अहिले एक्लै छिन् ।” एक सेट लत्ताकपडा उनको हातमा थमाई दिन्छु । उनी अर्को लाइनतिर सर्छिन ।

आफै भित्र नाङ्गिएका सबै सामग्री संकलनमा स–परिवार नै झिट्टी बाँधेर आउँथे । तर मात्रै एउटी उनी थिईन एक्लै । त्यस पछिका प्रत्येक आक्रान्त अनुहारमा म उनैलाई देख्न थाले ।

दिन ढल्यो । सामग्री बितरणको काम पनि सकियो । वातावरण अलि शान्त भएको थियो । दुई दिन देखिका भोका पेटमा अन्न परेकोले होला प्रायः निदाएका थिए सबै । तर पल्लो पट्टीको कुनोमा टोलाई रहेकि थिईन उनी एक्लै ।

उनलाई देख्दा उनको अघिको एउटै वाक्य सम्झिन पुन्छु – “थिए सबै तर …….. ।” पोखिन्छु म उनी प्रति । आफै सँग प्रश्न गर्छु । मुस्किलैले तीस जतिकि उनी । को को थिए होलान परिवारमा ? लोग्ने, बालबच्चा वा अरु कोहि ? खुल्दुलि चल्छ मनमा ।

मेरो नजिकै थियो त्यो दिउँसो सामग्री बितरण कार्यमा सहयोग गर्ने शैनिक जवान । त्यहाँ सबैका पिडा उत्तिकै महत्वपूर्ण थिए त्यसैले एउटी कवितालाई मात्रै आफै गएर उनका बारे मनमा लागेको कुरो सोध्न मिल्दैन थियो । ऊ सँग सोध्न मन लाग्छ र अलिकति भुमिका बाँधेर उनकाबारे सोधे । “भाई! कविता देवि छिन नी, उनको बारे केहि थाहा छ तपाईलाई ?” भन्छ– “सर ! उनलाई हिजो बिहान मैले नै उद्धार गरेको हुुँ । उनको परिवारमा उनी बाहेक कसैलाई बचाउन सकिएन ।”

ओहो ! उसको भनाईले झनै गहिरिन्छु म । फेरि साधे । “कसरी बचाउन भयो भाई ?” भन्दै थियो ऊ– “हिजो बिहान हाम्रो टोली उद्धारकार्यका लागि राजापूर क्षेत्रमा खटिएको थियो । यो आसपासका एघार गा.वि.स. बाढी प्रभावित छन् । जसमा सबै भन्दा बढी दौलतपूर–२, मुर्गुवा गाउँ प्रभावित छ । कविता त्यहि मुर्गुवा गाउँ कि हुन सर ! घरको नाम निशाना सम्म थाहा थिएन । घर नजिकैको रुखमा चिच्याउँदै थिईन । बिहानी पख पानीको सतह घटे पछि डोरीको सहायताले रुखबाट उद्धार गरेको थिएँ ।” भन्दै थिईन–“छोरा, छोरी, गाई, बाख्रा सबै लग्यो कर्णालीले ।”

कठै ! दैबको नियति पनि कति निर्दयी ? दशकौको सृजना एकै रातमा बगर हुन्छ ।

त्यतिबेला सम्झिन्छु । अस्ती भर्खर कुरीनटारमा त्रीशुलीले बगाएका चारवटी किशोरीलाई । तिर्थाटनमा बाढीले अलपत्र पारेका हजारौं तिर्थालुलाई । दार्चुला खलङ्गाका व्यापारीलाई । चिसापानीका माछा पसलेलाई । र सम्झन्छु कविताको मलिन अनुहारलाई र यहाँको जलमग्न दृष्यलाई । मन त्यसै–त्यसै अमिलो हुन्छ ।

शैनिक जवान त्यहाँबाट हिडेको पनि पत्तो पाउँदिन । म निःशव्द टोलाई रहन्छु । पिडा नै पिडाको कोलाहलमा निस्सासिन्छु । साथिहरु सँग पनि कुरा गर्ने मन लाग्दैन् । बाढीको सन्त्रास र ती प्रत्येक माया लाग्दा अनुहार एक–एक गरि बिझाउँछन् मनमा । निदाउन सक्तिन म त्यो रात उद्धार शिविरमा ।

भोलिपल्ट बिहान बाढी प्रभावित मुर्गुवा गाउँको निरीक्षणका लागि जाने तयारी भो । साथमा मुर्गुवाका बाढी पिडितलाई लगेर । जसमा कविता पनि हुन्छिन । अरु भन्दा पनि खासमा कविता कै बारे जान्नु पर्ने भएको थियो मलाई । त्यसैले खुशी पनि थिए आफै भित्र । प्रश्न गर्छ मनले “जानकारी त पाउँलास् तर के उनको चहराईरहेको आलो घाउँमा मलम लगाउन सक्छस् त ?” भय पलाउँछ मनमा ।
जानु अघि कवितालाई भने– “कविता जी ! मुर्गुवा गाउँ निरीक्षणका लागि जादैछौं, हिड्नुस तपाई पनि । “बाँकि के नै छ र सर त्यहाँ ? आस्थाको भग्नापशेष शिवाय ।” बडो माया लाग्दो पाराले भन्छिन् ।

उनका थोरै वाक्यले म भित्र धेरै जतिलता थपि दिन्छ । बाटोमा सँगै हिडिरहेका हामी । आँशु सँगै दुःख पोखिरहेकि हुन्छिन् – “सर ! दुःखीको खुशी क्षणिक नै हुँदो रहेछ । अघिल्लो रात म सँग सबै थोक थियो । कोखका छोराछोरी थिए । पल्लो पट्टी दुहुनो कोरली गाई थियो । सँगै जुम्ल्याहा पाठा सहित कि लामकाने बाख्री पनि थिई । हातमुख जोर्न अलि–अलि अन्न पात छदै थियो तर बिहान नहुदै नियतिले म बाट सबै खोसेर लग्यो । म नाङ्गिए र मात्र एक्ली भएँ ।

आफ्नो ज्यान त बचाएँ तर कठै ! बिबशताका नासा मेरा छोरा छोरी ? बाउको पहिचान नखुले पनि उनीहरुको आफनै परिचय पनि जोगाउन सकिन मैले । र सकिन बचाउन ती मेरा चौपायालाई ।

दौलतपूरको मुगुर्वा गाउँ । गाउँको मुखैमा, कर्णाली तिरमा रैछ कविताको घर । घर त के भन्नु ? अवशेष पनि बाँकि छैन । बालुवाकोे सुकिलो बगर मात्रै । घर भन्दा अलि तल बुढो पिपलको रुख छ । त्यसैले नै कविताको ज्यान बचाएको रे ।

निदाएकै अवस्थाका छोरा छोरी, दुध चुसाईरहेकी पाठा सहितकि माउँ । ओत लाग्ने कटेरो सबै–सबै सोहरेर लगेछ बौलाएको कर्णालीले । त्यस पछि बगरै–बगर तल सम्म अरु पनि हेर्दै जान्छौं हामी । क्षतविक्षत भएको थियो सारा गाउँ नै तर अरु मानवीय क्षति चाहि देखिएन ।
जो होचो उसैको मुखमा घोचो भने झैं विचरी, कविता ! झनै करुण जान्छ मनमा ।

सिविर फर्किदै गर्दा बाटोमा सोधे – “कविता जी ! तपाईका आफन्त यहाँ नजिक कोई छैनन् ?” मेरा आफ्ना जति सबै बगे । दौलतपूरको घाट पारी टिकापूरको बिजयनगर शिविरमा एउटी दिदि छे । ऊ त लोग्ने सँग बस्छे सर ।” ओहो, लोग्ने प्रतिको उनको यति धेरै आशक्ति । “जाने मन छ उता ?” फेरि सोध्छु । “सँगै घाट तर्ने कोई साथि भेटे जाने थिए ।” यत्तिले चित्त बुझ्दैन मेरो र अर्को प्रश्न हुल्याउँछु उनैतिर । “मैले तारि दिए भने ?” अवस्य नै, सर । हजुर पनि टिकापूर पार्क हुदै उतैबाट काठमाण्डौं फर्किनुहोला । म बिजयनगर जाउँला ।”

जन्मघर ईटहरी भई हाल कर्मथलो काठमाण्डौलाई बनाएको छु । पैतिसमा हिडिरहेको म । यस्तै खाले बिबस अनुहार देख्दा पटक पटक यसै गरि कुडिएको छु आफै सँग । यहि नै हुन सक्छ शायद, अहिले सम्म कसैको मायाको भागमा पर्न सकेको छैन । अबिबाहित भए पनि जिन्दगीका यस्ता खाले जटिलता सँग परिचित छु ।

उहिले नै स्कुल पढदा ताका, सुदुर पश्चिम शैक्षिक भ्रमणमा गएका साथीहरुले टिकापूर महेन्द्र विश्राम गृहका बारेमा कुरा गरेको सम्झे । यहाँ सम्म पुगेर पनि पार्क हेर्न किन नजाउँ ? यस्तै सोच्दा, पार्क हेर्ने हुट्हुटी चल्छ मनमा ।

अर्को तिर, कवितालाई शिविर मै एक्लै अलपत्र छोडेर फर्कि आउन मनले मान्दैन । सँगैका अरु साथिहरु त्यहिबाट फर्किन्छन काठमाण्डौ तर म उनिहरु सँगै नफर्किने नै भए । धेरै गर्न नसके पनि उनका आफन्त सम्म मिलाई दिन पाए भने, उनको दुखेको मनलाई केहि राहत मिल्ला कि । यहि सोचेर हानिए म कवितासँगै टिकापूर तिर ।

दौलतपूर घाटमा बर्दिया र टिकापूरलाई जोड्ने एउटा मात्रै नाउँ थियो, त्यो पनि खचाखच । घण्टाको पर्खाई पछि बल्ल हाम्रो पालो आउँछ । त्यो नै थियो नाउँमा बसेको पहिलो अनुभव मेरो । डराएको थिए । बिचै घाटमा पुगेपछि कर्णालीको भंगालोले नाउँ हल्लिन्छ । कविता अत्तालिदै कराउँछिन । कुन्नी ? कस्तो आत्मिएता थियो त्यो मेरो उनि प्रतिको ? थपथाउँदै छातीमा च्याप्छु म, आमाले बच्चा च्यापे झैं ।
घाट तरिसके पछि टिकापूर पार्क रोड तिर सोझिन्छौं हामी । कविता चुपचाप हिडिरहेकि थिईन । प्रसंङ्ग कोट्टयाउँदै सोध्छु – “कविता जी ! लोग्ने खोई तपाईको ?” भन्छिन– “सर ! लोग्ने नै नभएकि सधुवा हुँ म ।” मतलब ? “हो, सर ! म कविता देवि बादी हुँ । बादी महिला विधवा हुदैनन् र साथमा लोग्ने पनि हुदैन ।”
भावुक हुदै विगत तिर फर्किन्छिन उनी ।
“सानामा हामी टिकापूर कै सत्ती बजार तिर बस्थ्यौ । बा आमाको निधन पश्चात दाई भाई दुई जना सिमला पहाडतिर हानिए । दिदी बिजयनगर मुक्त कमैया शिविरमा छे । म मुर्गुवामा थिएँ ।
थाहा छैन, अरुलाई कति बर्षमा आउँछ बैस ? तर हामीलाई ! १३, १४ बर्षकै उमेरमा जबरजस्त जवानी सँग सम्झौता गर्नु प¥यो । त्यही बेला देखि नै हामीलाई थरिथरिका भिमकाय पहाड उचाल्न सिकाइयो किनकी परिवारलाई बाँच्नु पर्ने बाध्यता थियो । त्यो बेला हाम्रो आम्दानीको स्रोत भनेकै हामी दिदी बहिनीको यौवन नै थियो ।”

पार्क नजिकै पुगि सकेका थियौं । फर्केर हेर्छु । रोई रहेकि थिईन उनी ।

मेरा आँखा नजिकैको होडि बोर्डमा गएर ठोक्किन्छन् । जहाँ लेखिएको थियो “बनाना क्याफेमा यहाँलाई स्वागत छ ।”केहि दिन यता देखि मिठो खान नपाएको जिब्रोलाई कज्याउन सक्तिन म । भोक पनि लागि सकेको थियो र कवितालाई केहि खान आग्रह गर्दै क्याफेमा गयौं । बाफ रे बाफ ! हर परिकार केराका मात्रै । अचम्म लाग्छ । मैले त खुवै मिठो गरी खाएँ तीन चार थरि परिकारलाई । तर कविता ? बिचरी ! दुई चार डल्ला मःम पनि मुस्किल सँग निल्छिन ।

सम्मुखमा थियो डढेलो पछिको वन जस्तो फुङ्ग उडेको उराठ लाग्दो उनको त्यो अनुहार । र फेरी पनि अघि कै प्रसंङ्ग कोट्टयाउन मन लाग्छ । “तर कविता जी ! तपाईका त छोराछोरी थिए नि ?” हो, सर ! यौवनको निश्चित थलोमा पुगे पछि हरेक आईमाईलाई आमा बन्ने रहर हुन्छ । तिनै हरेक मध्ये कि एक म पनि हुँ । त्यो उमेरमा हर कोइ आईमाई श्रीमतिमा सुरक्षित हुन चाहन्छन् तर यो समाजले हामीलाई श्रीमति हुने शौभाग्य सजिलै उपलव्ध गराउँदैन । सदा भोग्याका नजरले मात्रै हेर्छ । तै पनि कसैको स्वास्नी नभई कनै लोग्ने मान्छे कि स्वास्थी मान्छे भएर आमा बन्ने रहर त पूरा गरे ।

खासमा आफू बाँचेको समय आफैलाई निको नलागे पनि विवशता थियो त्यो मेरो ।

आमा बनी सके पछिका केहि बर्ष यता देखि समाज सापेक्ष जिन्दगी व्यतित गर्दै थिए तर त्यो पनि नियतिलाई स्वीकार्य भएन शायद, र त अहिले एक्ली भएँ । अव हजुर नै भन्नुस् सर । यस पछिको गन्तब्यहिन एकसरो यात्रा कसरी तय गरु म ? शरीरै बेचौ भने पनि पहिले जस्तो यौवन रहेन । गरी खाने ठाउँ छैन । बेसहरा भएँ, सर ।

अहो ! सोचे भन्दा फरक किसिमको जिन्दगी । एउटी स्वास्नी मान्छे जो अफ्ठेरोमा कत्रो हिम्मत बटुल्दै बाँचिरहिछे । आफू पुरुष हुनुको गौरब तुहिन्छ त्यो बेला जब यस्तै खाले स्वास्नी मान्छेमा बिकराल अनुहार पढ्छु म । त्यो स्थितिमा मन खुशी हुन सक्तैन । त्यहाँ पनि भएको थियो त्यस्तै ।

मन दुखेको थियो त्यसैले त्यो पार्कको रमाईलो पनि सबै फिका लाग्यो । पटक्कै रमाउन सकिन । घडि हेरे । एक बज्दै थियो । समय न हो किन अडिन्थ्यो र ? मेरा लागि । काठमाण्डौंको दुई बजेको बस छोप्नु थियो ।

टिकापूर सम्मलाई एउटा रिक्सा समात्यौ । त्यसैमा बस्यौ दुबै । उनी रोईरहेकि नै थिईन । मैले एक छिन उनका आँशु पुछिदिएर कति दिनलाई पुग्ला ? त्यसैले देखेर पनि नदेखे जस्तो गरि चुपचाप एकोरिन्छु म ।

छुट्टिनु अघि, टिकापूर कान्छि बजारबाट तत्काल लगाउन उनलाई एकजोर चप्पल उनि एक जोर लुगा किनिदिएँ । खुशी हुदै लिईन । कागजको सानो टुक्रोमा आफ्नो फोन नम्बर उतारेर उनको हातमा राखिदिन्छु । “मेरो तर्फबाट सकेजति सहयोग म गरुँला । हिम्मत नहार्नु । केहि प¥यो भने कल गर्नुहोला है, कविता जी !”

छुट्नै लागेको बस छोप्न हतारिदै बस पार्कतिर लागे । उनी बिजयनगरको बाटो लागिन । फर्कि–फर्कि हेर्छु म उनलाई, ओझेल नपर्दा सम्म ।

बस लम्कि सम्मको कच्चि बाटोमा उछिट्टिदै गुड्छ । त्यहि बसका चक्का जस्तै घुमिरहन्छ मथिङ्गल फनफनि । यहाँका यी कविताहरुका लागि जिवनोपगि कुनै नयाँ कार्यक्रम ल्याउँन सके भने ? यहि पिरले पोलिरह्यो मन बाटै भरि ।

(स्रोत : Fyangkhola )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.