र पनि
यो कस्तो शून्यता !
कतै कुनै कुनामा
चुपचाप आफैमा खुम्चिएर
तिम्रा यादहरू बसेका छन्
हावाको मन्द वेगसँगै
तिम्रा पाइलाका ध्वनी गुञ्जित हुन्छन्
तिम्रो शरीरबाट बहने मन्द सुवास छरिएका छन्
र पनि
यो कस्तो शून्यता !
झ्यालबाट
घाम चोइटिएको एक टुक्रा उज्यालो
टुक्रिदै जोडिदै कोठामा छिरेको छ
यसको उज्यालोमा
भुईँमा थुप्रै रेखाहरु तन्किएका छन्
बीच बीचमा कतै टुक्रिएका
बीच बचिमा कतै बांगिएका
तिम्रा यादहरू जस्तै
भुर्इँका रेखाहरु
जो कहिले बिना सूचना सल्बलिन्छन्
जो कहिले आमन्त्रणमा पनि झुल्किदैनन्
ती सबै यतै छन्, यतै मसँग छन्
र पनि
यो कस्तो शून्यता !
तिमीले छोडेका अनगिन्ती शब्दहरू निक्कै खेलाउने गर्छु
अक्षर अक्षरलाई जोडछु, छुटाउँछु
तिनलाई गणितिय भागबण्डा लगाउँछु
कतै ऋण भएर ठडिन्छन्
कतै घन भएर उभिन्छन्
कतै भाग लागेर बाँडिन्छन्
कतै गुणन बनेर अधिकिन्छन्
गणनामा निस्किएका हिसाब
कहिल्यै मसँग मिल्दैन
कहिल्यै तिमीसँग मिल्दैन
मेरो जोडमा एक हुनुपर्ने थियो
यहाँ बाँडिएर दुई भएको छ
र पनि
एक र दुई बीच
यो कस्तो शून्यता !
मलाई याद चाहिदैन
मन बिद्रोहीत हुन्छ
मलाई उज्यालो चाहिदैन
आँखा अँध्यारो खोज्छ
तिमी र मबीच यो हिसाबको फिरिस्त !
सँधै शून्य हुन्छ भने
मलाई तिमी चाहिन्छ
मलाई प्रतक्ष्य तिमी चाहिन्छ ||
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )