कति हुँ हुँ गर्छस हँ ?
अगेनुमा हात सेक न
हैन
अझै कति हुँ हुँ गर्छस ?
तेरा बा कम्बल लिन गा’का छन्
पुसको छानोले
यस पालिको शीत लहर छेक्ला नछेक्ला
तँ सानै छस
तेरा निलिएका ओंठ
कठ्याँग्रिएका हात गोडा
हेर त
कस्तरी काँपेका छ्न
जा जा
आगो छेउमा बस
सुकुम्बासी बस्तीको
आफ्नै महल छेउमा उभिएर
म ती दुईको गुनगुन सुन्दैछु
पल्लो घरमा त
दाल छ चामल छ
ओढ्ने कम्बल छ
टि.भी. फ्रिज छ
हाम्रो घरमा किन छैन?
तँ
कति कुरा गर्छस हँ?
कठ्याँग्रिएर मर्लास
जा आगो ताप
पल्लो घरको कुरा नगर
ती धनिमानी हुन्
अस्ति तिमीले भनेको हैन
सुकुम्बासी गाउँ त केहि नहुनेको गाउँ हो
ए बच्चु!
मुख मुख नलाग
निलो भैसकिस
हात गोडा सेका अगेनुमा
यी दुईको गुनगुन
जारी नै छ
अलि सुस्तरी
अरुले नसुनोस् भने जसरी
बच्चु जा हँ
आगो ताप
तेरा ओंठ निला छन
हात गोडा
कठ्याँग्रिएका छन्
ती पल्ला घरका धनीमानी हुन्?
हो त
उता गुल्मीमा
तिनका ठुला घर छन
खेतबारी छ
अनि याँ’किन त?
भोलि भोलि तैं था’ पाउछ्स
जा जा आगो ताप
अहिले तेरा बा
कम्बल लिएर आउछन
आज त
हाम्रो घरमा पनि कम्बल आउछ
पोहोर परारको कम्बल त्यसै छ
एउटा चाँही बच्चुलाई लगेर ओढाई दिउ कि?
ह्या मपनि !
हुन न खानुको के दयावान बन्नु पर्यो?
ए बच्चु!
हजुर आमा
तेरा बाले कम्बल ल्या’का छन्
अनि आमा
चामल पनि ल्या’का छन्?
छैन
लु यता आ’ त
मज्जाले कम्बल ओढेर सुत
भात नखाई?
हो त
तीन दिनदेखि कम्बलकै पछी दगुर्दा काम गर्न पाएनन्
भोलि काममा जान्छन
र चामल ल्याउछन
आज सुत
नयाँ कम्बल ओढेर सुत
निंद लाग्छ
गुनगुन हरायो
सायद नयाँ कम्बलले
तीन पेटको भोक मेटियो होला /
स्वप्निल नीरव
दर्छा -८ पाल्पा
(स्रोत : Literatureofnepal)