~तारा पराजुली~
तिमी बगेपछि
म अनायास जम्न थालेको छु।
यो निस्पट्ट तलाउ
निर्वेग प्रवाह
सिसाजस्तै चर्किएको मन
अनि अपमानको हिउँले छोपिएर
म अनायास जम्न थालेको छु
तिमी बगेपछि
अवरुद्ध छाल
थकित सुसाइ
मनका पर्वत हल्लाउने मझ्ाधारका ठक्करहरू
हतारका पाइला
नसङ्लिंदै धमिलिएर बग्ने
अतृप्त मनोलोकका नागवेली
दोहोरी फुल्ने बाटोहरू
सबै सबै थाती राखेर
म अनायास जम्न थालेको छु
तिमी बगेपछि
सम्झ्ानाले दुखेका किनारहरू
एकान्तले चिमोटेको मौनता
पलपलको उच्छ्वास
एकोहोरो रिक्तता बोकेर
म अनायास जम्न थालेको छु
तिमी बगेपछि
छानो सम्झे मैले प्रेम गरेको आकाश
जब शिरैमाथि खस्यो
फूलैफूल सम्झिएँ बाटोहरू
काँडा भई बिझाए पैतालामा
तब लरखराइरहे पाइलाहरू
एकाएक डस्न थाले आफ्नै फूल र कोपिलाहरूले
तब असिनाले कुटेको पालुवा झै
हराउँदै गयो आफ्नै ओज समेत
साँघुरो धरातलभित्र उडिरहेछ
अनौठोसँग तृषार्त कुहिरो
अब कसरी छिचोल्नु यो पीडाको राजमार्ग
अर्धमूर्छित जिन्दगीलाई करैले घिस्याउँदै
कसरी पुग्नु घामहरूको गाउँ?
आज त आएर भने,
नफुल्दै गरेका फूलहरूले
नबल्दै गरेका दीपहरूले
नबग्दै गरेका तालहरुले
समय यसरी जमेको त बग्नलाई पो त!’
हिमालखबर, मंगलबार , २१ असोज २०७१
(स्रोत : Himal Khabar )