जीवनका अनेक मोडहरुमा अक्षरको खेती गर्दै जाँदा
मैले थुप्रै मृत्युका कथाहरु लेखिसकेको छु
भोको पेट र नाङ्गो आङ्गको पीडाबोधमा
दन्दनी आक्रोशका ज्वालाहरु ओकलिसकेको छु
र, प्रतिफलमा असङ्ख्य बधाई तथा शुभकामनाका
परि परिका दोसल्लाहरु पनि ओढिसकेको छु ।
हो, मैले रुकुम र रोल्पाको बिद्रोह लेखेको छु
खारा र गामको चित्कार बोलेको छु
रित्तिएका काख र पुछिएका सिउँदोका पीडा ओकलेको छु
छुटेका साथ र फुटेका भाग्यका गीतहरु गाएको छु
र, लेखेको छु मेरी रुग्ण आमाको सिङ्गो जीवन कथा l
बिडम्बना ! मेरो कथा कसैले बुझेनन्
असह्य पीडा र वेदना मिश्रीत मेरा चित्कारहरु कसैले सुनेनन्
भालुलाई पुराण सुनाए झैं एकोहोरो भट्ट्याइरहेँ निरन्तर
तर कसैको संवेदना दुखेन मेरा शब्दहरुले / आवाजहरुले
दिन बित्यो, महिना बित्यो, बर्ष बित्यो
र बिते समयरेखाका थुप्रै दशकीय दुरीहरु l
हो म बद्लिएँ र बद्लियो मेरो नाम
कथाकार, उपन्यासकार, कवि, गीतकार
स्रष्टा, सर्जक, साहित्यकार अनेक अल्ङ्कारहरुले सु-शोभित बनेँ म
तर अफसोच ! बद्लिएन मेरी आमाको रुग्ण तस्बीर
उही दुख:, उही पीडा अनि उही अशक्तत्ता
अर्थात बाह्र बर्षमा उन्यू फूल्यो ‘…………को गन्ध’ l
त्यसैले अब म हिजोको कवि रहन चाहन्न
उपन्यासकार, गीतकार र कथाकार पनि हुन चाहन्न
सम्झ तिमी, ती केवल समयको यौटा कालखण्डमा
मेरो अन्धो कलमले गरेको अर्थहीन दस्तखत मात्रै थिए
अर्थात, दाल, भात र डुकुको चिन्ततामा सिर्जना भएका
जीवनका बाध्यात्मक संझौता-पत्र मात्रै थिए l
हो, अब म आँशुको कविता लेख्दिन
दु:ख, दर्द र वेदनाको मसीले जिन्दगीका पानाहरु भर्दिन
किन कि, युगले मलाई यौटा यस्तो दृष्टि दिएको छ
कि, अब मैले जीवनलाई त्यही दृष्टिले नियाल्नु पर्छ
र, सुख, शान्ति र समृद्धिको दीप प्रज्वलन गरेर
जीवनको विजयोत्सव मनाउनु पर्छ ।
अनि, म निर्धो र निस्सारताको बिस्कुन सुकाएर
आफैलाई अर्हर्तारहित र अविपुल बनाउँदिन
किन कि, समयले मलाई यौटा यस्तो चेतना दिएको छ
कि, अब मैले जीवनलाई त्यही अवचेतनले डोर्याउनु पर्छ
र, सार्थकता, सादृश्यता र समादृतताको शिखर टेकेर
जीवनको विजयोत्सव मनाउनु पर्छ ।
(स्रोत : Sabda Sarathi)