सानी छँदा एकान्त पारेर एउटा सर्पले उनलाई झम्टियो । डसाइबाट जोगिन उनले सक्दो प्रयास गरिन् । लुगा च्यातिए, शरीर चिथोरियो तैपनि उसले छोडेन । आफ्नो सबै बिष उनीमाथि खन्याएपछि सर्प त्यहाँबाट भाग्यो । उनी रक्ताम्य अबस्थामा रुँदै घरमा पुगिन् । उनको दर्दनाक अबस्था देखेर घरका जहान आत्तिए । सक्दो औषधिमुलो गरे । छिमेकीहरुले सहानुभूति देखाए । सर्पका बिरुद्धमा आक्रोष उब्जियो तर तत्काल त्यो सर्पलाई मार्न सकिएन । डसाइको पीडाले उनी महिनौं थलिइन् । बिसेक भएपछि उनलाई गाउँमा बस्न मन लागेन र आफन्तको साथ लागेर सहरतिर लागिन् ।
सहरमा जुठोभाँडो गरेर जेनतेन प्राण धान्दै थिइन् । एक रात त्यतै अर्को सर्पले उनलाई फेरि डस्यो । त्यस घटनाले उनका जीवनमा अर्को पीडा थप्यो र जीवनलाई झन् विशाक्त बनायो । सर्पहरुको अत्याचारबाट आजित भएर उनी सर्पविहिन ठाउँको खोजीमा भौंतारिदै मन्दिर, पाठशाला, कार्यालय, सामाजिक संघसंस्था जस्ता ठाउँहरुमा पुगिन् तर ती ठाउँहरुमा पनि कुनै न कुनै प्रकारका सर्पसँग जम्काभेट भइनैरह्यो । डसाइका प्रयत्नहरु जारीरहे ।
सर्पको डसाइ अब उनका लागि नौलो विषय रहेन । डसाइ खप्दा खप्दा उनी सर्प भन्दा पनि बढी बिषालु भइन् । सर्पहरु अहिले उनलाई अमृत ठानेर पिउन खोज्छन् र पिउँदा पिउँदै लठ्ठियर ढल्छन् । सर्पहरु ढलेको देखेपछि उनलाई आनन्द लाग्छ । अनि ढलेको सर्पमाथि घृणाले थुक्छिन्।
अब उनलाई कुनै सर्पले डस्छ कि भन्ने पिरलो छैन । सर्पको डसाइविना उनी नै बाँच्नै नसक्ने भएकी छन् । त्यसैले हिजो-आज उनी शरीर डसाउनका लागि काला सर्पको खोजीमा भौंतारिइरहेकी हुन्छन् ।
(स्रोत : Nepalisahityaghar.com)