ओहो !
कस्तरी फुलेछ यो वन
मा¥साङको जोवन फुले जस्तै !
साच्चै !
सपना लहराएका यी फुलहरू
यो वनको बाटो भएर
कुन गाउँको आँगनमा पुग्दा हुन् ?
………………..
थाहा पायौ त मैच्याङ !
उमेरको झ्याम्के डालीमा
हरियाली ओर्लिएपछि
बैँसको रातमाटे सडकभरि
तरुनी मनको धुलो उडाउँदै
कसरी दौडँदो रहेछ
रहरहरूको यो वायूपङ्खी घोडा ?
…………………
शरदको आकाश ओढेर
बाँसको कुरूसले
जीवनको भोटो बुनिरहेकी
डाँडाकी घामजस्तै पेम्साङ मामले
यो धर्तीको दलिनभरि लिपेको
छेर्तेन गुम्बाको जूनेली रङ
आज कहाँ हरायो ?
……………….
ए गाङवादाइ !
भन त –
यो मनको एकलास चुरेपहाडमा
आफ्नै रङको इन्द्रेणी लर्काएर
अब कहिले फुल्छन्
जिन्दगीका राता टोटला फुलहरू ?
…………………
अब म –
आगोको जङ्गल उमारेर
सेकाउँछु यो घोरलको छाला
र जोडजोडले गाइरहन्छु
यो वनको हराएको गीत !
ताकि –
रानीदहको पीँधबाट
फेरी उठ्न सकोस्
आवाजहरूको एउटा अविलम्वित तरङ्ग
र छमछमी नाच्न सकूँ म
यो डम्फुको आदिम तालमा !
………………
मेरो लुङदरको शीर काटेर
तिमीले तरबार पखालेको
यो नदीको पानी
म आज पनि –
उस्तै रातो देख्छु !
हो–
म त्यही रगतको नदीमा
समयका सारा सन्त्रास बगाएर
तिम्रो शहर छिरेको बहुला सोनाम हूँ !
……………….
आफ्नै ढाडको पीचमा गुडाएर
तिम्रो बेलायती गाडीलाई
भिमफेदीको अक्कर उकाल्दै गर्दा
तिमीले गिँडेको पाखुरीबाट
तपतपी ! रगत चुहाउँदै
म आज –
बरुदखाना अगाडि उभिएर
फर्छौट हुन बाँकी रहेको
मेरो जिन्दगीको बेरुजु हिसाब हेरिरहेछु !
………………..
के चिनेनौ मलाई ?
हो –
म त्यही भरिया साम्देन हूँ !
भन त –
कुन म्युजियममा राखेका छौ
मेरो काटिएको आधा हात ?
………………..
किन चुपचाप रहन्छन्
यी बन्द गरिएका ढोकाहरू ?
किन आपैmमाथि विश्वास छैन्
यति ठुलो देशलाई ?
सक्छौ भने खोल
थर्थरी काँपिरहेको सिंहदरबार ?
म यो चिहानघारीबाट
आप्पाका कङ्कालहरू झिकेर
तिम्रो देशको आयतन नाप्न चाहन्छु !
……………….
यो मनको अगेनोमा
तिमीले रोपिदिएको आगोको बिऊ
जतनसाथ बचाएर आएको छु !
हो –
म त्यही लोप्साङ हूँ !
आज बषौँपछि
यो जमिनको चट्टान फोरेर
आफ्नो मृत्युको फौसला सुन्न आएको छु !
………..
प्रथा
२०७१ फागुन ६
(स्रोत : Nepalisahityaghar.com)