त्यो शहरमा शीत पर्ने याम आएको छ l
बल्ल तिम्रो ओठमा यो नाम आएको छ l
सम्झिँदैछौ आज आफ्नो फाइदाका लागि
याद मेरा बाँच्न पक्कै काम आएको छ l
जो नबिक्ने फूल उसको भाउ बढ्ने धेरै
बिक्न खोज्ने हेर सस्तो दाम आएको छ l
माफ माग्ने भक्त नाङ्गो पाउ जाने गर्छन्
फेरि खाली हात पापी धाम आएको छ l
जूनलाई ठाउँ दिन्थेँ रात मात्रै हुन्थ्यो
धन्य मेरो जिन्दगीमा घाम आएको छ l
बहर ए रमल मुसम्मन महजूफ
11 डिसेम्बर 2011, इण्डिया l
(स्रोत : Shabdahar )