आफ्ना कलिला कलिला औँलाहरू दोब्रयाउँदै
जीवनलाई एक एक हिसाब लाउँदा
मेरो सानो मुठ्ठीमा
पर्न आएका छन् मात्र दुर्भाग्यपूर्ण दिनरातहरू ।
मेरा यी दुई हातहरू छन् उनकै सेवामा व्यस्त
कि, आँैलाहरूले स्पर्श गर्न पाएका छैनन् जीवनलाई ।
खुट्टाहरू खटेका छन् अर्काकै निम्ति
कि, हिँड्न पाएका छैनन् यिनले
आफ्नै बच्पनका रमाइला गल्लीहरू ।
धेरै धेरै चोटि,
मेरा दुई आँखा उँधो, भीरैभीर
चिप्लेका छन् आँसुका अबोध डल्लाहरू
लतार्दै गालाभरिका मुस्कानहरू
बगाउँदै मनभित्रका पालुवा खुशीहरू ।
र,आफ्नै छातिमाथि
हिँडेका छन् मेरा यी दुई खुट्टाहरूले
विवशताको एक उराठिलो यात्रा
छाप्दै दुःखका नरमाइला नरमाइला पाइलाहरू ।
यी पखेटा पलाएका उडन्ते रहरहरूमा
मैले, कहिल्यै
आफ्नो जीवनलाई सौन्दर्यपूर्ण देखेको छैन
आफ्नो जीवनलाई लोभलाग्दो भेटेको छैन
आफ्नो जीवनलाई स्वादिलो चाखेको पनि छैन ।
हुँदैन रहेछ
सुन्दर जीवनको कल्पना सोचाइमा ल्याउनु ।
जीवन र फूल एकै रहेछन् –असाध्धै मनमोहक !
तर, दुबै फुल्छन् काँढामाझमा ।
हुँदैन पनि रहेछ
सुखसयलको सपना मनका आँखाले हेर्नु ।
सुख र जून एकै रहेछन् –दुबै रहरलाग्दा !
तर, छन् धेरै धेरै टाढा ।
म
घामको सप्तरंगी चुम्बनदेखि टाढा हुनु परेको
शीतको एक अनाथ थोपो भएको छु ।
यसरी अलग्गिएको छु जीवनको लहलह खुशीहरूदेखि
यसरी टाढिएको छु आफ्नै सपनाहरूको सुन्दर संसारदेखि
यसरी छुट्टिएको छु आफ्नै मनको डिलडिलै फुल्ने रहरहरूदेखि
कि बनेको छु बिल्कुलै एक्लो !
छैन केही आफ्नो भन्ने लायक मसित, यसक्षण
बस छन् त यही, मात्र एक अनुरोध, कि–
ए मालिक हजुर !
मेरो नाबालक बच्पनलाई खोस्दै,
नभन्नुस मलाई–
“तिमी मेरो सबभन्दा प्यारो बालमजदूर !”
(स्रोत : Shabdahar )