खनिनुपर्छ/जोतिनुपर्छ- माटो
फोडिनुपर्छ/तोडिनुपर्छ- पहाड
पुरिनुपर्छ/भरिनुपर्छ- खोँचहरू
अनि सम्मिएर रोपिनुपर्छ- बीउहरू
युगान्तकारी क्रान्तिका
आह्वान हो यो-
युवाहरूका/बृद्धाहरूका
कलिला नानीहरूका
जो चाहन्छन् बन्न
यो देसको असल नागरिक
जो चाहन्छन् गर्न
यो देसलाई माया
जो चाहन्छन् बाँड्न
यो देसभरि खुसी
जो चाहन्छन् बनाउन
यो देसलाई समृद्धशाली
म सुनिरहेछु-
पोखिएका मनहरू
शोषित मस्तिष्कहरू
गर्जिदै खबरदारी गरिरहेछन्
अराजकतावादीहरूप्रति
सामन्तवादीहरूप्रति
हामी स्वतन्त्र बाँच्न चाहन्छौँ
हामी सही आवाज बोल्न चाहन्छौँ
हामीलाई तिमेरूका बाटो हिँड्न मन छैन
सचेतन आदेश बोलिरहेछ निरन्तर…
निहत्या नसोच- हामीलाई
हामी संकल्पित हातहरू लिएर आउँदै छौँ
हामी संकल्पित खुट्टाहरू हिँडेर आउँदै छौँ
हामी संकल्पित शरीरहरू बोकेर आउँदै छौँ
तिमेरूका भण्डाफोर गर्न
र
एउटा उज्यालो आकास भर्न
एउटा उज्यालो धर्ति बाँच्न
रक्तिम ध्वजा फहराइरहेछन्- उसरी
फलामे जंजीरहरू तोडिन्छन्- त्यसरी
हिमाल, पहाड, तराईभरि
अत्यासलाग्दो आवाज
बोकेर आएका हिंस्रकहरू
आफै क्षतविक्षत हुँदै जान्छन्
ठीक त्यही बेला
उभिएर सहिदहरू जड्किन्छन्
फेरि हामी
हाम्रा आदिम सभ्यता छर्न उठ्तै छौँ
हाम्रा पसिना र रगतमा
जीवन्त युग/समावेशी युग/संघीय युग
आत्मीय युग/ समायोजित युग उमार्न जुट्तै छौँ
सावधान ! सावधान !!
सशंकित दु:ख फैलाउनेहरू
मनका ढोकाहरूमा गजबार लगाउनेहरू
उच्चताको अहंकार देखाउनेहरू
निरंकुसतावादी पैताला हिँड्नेहरू
संकीर्ण भाषा बोल्नेहरू
…………………………… ।
“गरिमा” साहित्यिक मासिक २०६७ भदौ
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )