सत्य कथा : जेल यात्रा

~सुशिल ताम्राकार~Shushil Tamrakar 2

त्यसो त पंचायतकालमा प्रतिबन्धित झण्डा मुनि बसेर भाषण नगरेको पनि होइन, बिद्यार्थी राजनीतिमा जानी न जानी न होमिएको पनि हैन, पंचायत बिरोधी आम सभा, जुलुस हुलुसमा न लागेको पनि हैन तर पनि कहिलेइ न पुलिसको फन्दामा परियो न कहिलेइ डण्डा खाइयो | सधैं पुलिस प्रशासनबाट बचेर हिडियो| २०४६ सालको पहिलो जन आन्दोलनमा पक्राउ पुर्जी जारी भै घरमा खोजि गर्दा नि पुलिसले भेटाउन सकेन | नेता बन्ने रहर थिएन र थाना जेल जाने कहिलेइ लहड चलेन | तर ……..

तर एक दिन मेरो गज्जबको जेल यात्रा भयो | कुनै अपराध गरेर वा बदमासी गरेर चाहि हैन नि फेरी | बदमासी गर्ने भए नेता बनी हाल्थें नि, मखुला ??

प्रजातन्त्र पुनर्स्थापनाको लगत्तै भएको स्थानीय निर्वाचन पछी नगरपालिकामा जागिर मिल्यो | मेयर साहेबको ख्याती देश विदेशमा यति थियो कि हरेक दिन कुनै न कुनै राजदूत र कार्यालय प्रमुखहरुको ताँती लाग्थ्यो | कतै बाट हुन नसकेको काम मेयर साहेब मार्फत हुन सक्ने अन्तिम आशा हुने गर्थ्यो | अहिले यी कुराहरु सुनाउँदा दन्त्य कथा झैँ लाग्न सक्ला | सत्य यही थियो, कुनै लोभ लालचमा न फसेका ब्यबहारिक र राजनैतिक रुपमा इमान्दार कोही नेता थियो भने मेयर साहेब नै थियो | अहिले उहाँ गुमनाम हुनु भएको छ , शहरको ४५ लाख मान्छेको भीड भित्र अन्जान हुनु भएको छ |

डिल्लीबजार चारखाल अड्डा भित्र चार खाल खोर नामले परिचित “जेल ” अद्यापी छदै छ | हो त्यै जेलका जेलर साहेबले जीर्ण जेलको मर्मत सम्भार गर्ने प्रयास गर्नु भएको र कतैबाट सहयोग न पाए पछी अन्तमा मेयर साहेबलाई भेट्न आउनु भएको रहेछ | जिन्दगीको उर्बर समयमा दसौं बर्ष जेल नेल भोग्नु भएका मेयर साहेबले तत्काल सहयोग गर्ने वचन दिनु भए छ र त्यसको लागि आबश्यक प्राबिधिक तथा प्राशानिक कार्यको थालनी गर्नको लागि मलाइ बोलाउनु भयो |

जेलको निरीक्षण नगरी मर्मत सम्भार सुधारको थालनी हुन सक्दैनथ्यो, त्यही भएर जेलर साहेबले सके भोली नै जेल भ्रमणमा आउन आग्रह गर्नु भयो र मेयर साहेबले पनि भोलि फस्ट आवर मै चारखाल गएर साँझ सम्म प्रतिबेदन पेश गर्न भन्नु भयो |

बिहान साढे दस न बज्दै जेल आउछु भने अनुसार साढे दस नपुग्दै जेल पुगियो | जेलर साहेब दङ्ग | महिनौ प्रयास गर्दा सिन्को न भाँचिएको काम १ दिन मै हुने भयो भनेर होला कि ? जेलर गृह मन्त्रालयबाट खटिने अधिकृत हुने र सुरक्षाको जिम्मा मात्र प्रहरीको हुने रहेछ | हिन्दी सिनेमामा जस्तो पुलिस नै जेलर हुने ब्यबस्था नेपालमा रहेन छ | जेलर साहेब, इन्स्पेक्टर साहेब सहितको टोलीले जेलको जीर्ण भाग र गर्नु पर्ने सुधारहरु बारे ब्रिफिंग गर्न जेल घुमाउने भए | सबै जना पहिले महिला सेल तिर लाग्यौं |

महिला सेल पुग्ने बित्तिकै राम राम राम…. गालीको बौछार सुरु भयो | महिला कैदीहरु बाफ रे बाफ ….. जेलर पुलिस् देखि निकै रुष्ट भाको प्रष्ट थियो | आमा चकारी गाली त मुखैमा | हुन त केही बाहेक प्राय अपराध गरेकै कारणले वा अपराधी आचरणले जेल परेका हुन् तिनीहरु |

जेल भित्र सौचालयको संख्या जम्मा २ अनि नुहाउने ठाउँ नै छैन | सयौंको संख्यामा कैदी छन् | न्यूनतम मानबिय सुबिधा पनि थिएन | अनि जेलर ले गाली न खाए ताली खान्छ त ?? बिचरा जेलरले नि के गर्न सक्थ्यो र ??
न खल्तीको पैसाले गर्न सक्थ्यो न गल्तीले बजेट झर्थ्यो | जेलरले गालीको गदगदाहत बीच ” उहाँ तपाइँहरुको यिनै असुविधाको सुधारको लागि हेर्न आउनु भएको इन्जिनियर साहेब हो, आफै के के चाहिन्छ भन्नु ” भनेर गाली म तर्फ फ्लिक गरि दिनु भयो |

मैले भनें ” मेयर साहेबले आजै रिपोर्ट दिनु भन्नु भएको छ , तपाईहरुको सुबिधाको लागि हुन सक्ने जति काम १ महिना भित्रै सम्पन्न हुन्छ , ढुक्क हुनु होस् ” | अनि देखाउन थाले अगुवा कैदी महोदयले के कस्तो असुविधा छ भन्ने |

सबै भन्दा खत्तम त ट्वाइलेटको संख्या र अवस्था नै थियो | अर्को गुनासो चाहि स्नान गर्ने समस्या रहेछ स्नान घर नभएर | खुला चोकमा आएर नुहाउनु पर्ने र नुहाउने समयमा संगै को पुरुष सेलको माथिल्लो तल्लाबाट सर्बांग देखिने हुँदा पुरुष कैदी हरुले सिट्टी बजाउंदै तमासा गर्दो रहेछ |

” साले रण्डीका सन्तानहरुले कहिलेइ न देखे जस्तो हाम्रो … ….. हेर्न आउछन, हामी पनि देखाई दिन्ठेम तेरो आमा बहिनी संग भाको … यही हो भनेर …” मुख त …… बाफ रे बाफ |

महिला जेलको अवस्था र गर्न सकिने सुधारको आंकलन र नाप जांच गरी पुरुष सेलमा जान निस्केम | जेलर साहेबले एक छिन मेरो अफिसमा बसम र चिया एक कप खाम , त्यस पछी उता जामला भन्नु भयो | ठिकै हो यत्रो गाली खाएको पचाउन एक गिलास चिया त पिउने पर्यो भन्दै चिया खान बस्यौं |

चिया गफ सकिवरी पुरुषजेलमा जाने बेलामा जेलर साहेबले ” म त उता जान्न, इन्स्पेक्टर साहेबले तपाईलाई लैजानु हुन्छ ” भन्नु भयो | मैले किन भनेर प्रश्नै गर्नु परेन , महिला सेल को त यति हरि बिजोग छ भने पुरुष सेल को राम बिजोग हुने नै भयो | शायद पुरुषको गाली पचाउन सक्ने आँट जेलर साहेबमा थिएन |

इन्स्पेक्टर साहेब संग पुरुष जेल अर्थात जेलको मूल द्वारमा गइयो | महिला सेलमा जस्तो कार्यालय परिसर भित्रबाट जान न मिल्ने रहेछ | बन्दूक बोकेको सेन्ट्री, अनि ३ फीटे फलाम को ढोका पार गरेर जानु पर्ने | अघि सम्म मैले कर्मचारी परिचय पत्रको माला लागेको थिइन | अब भने लाग्यो कैदी लाने बाटो तय गर्दा पास झुन्ड्याएन भने म बबुरोलाई लाई नयाँ कैदी आयो भनेर लाम लागेर र्याग गर्न बेर छैन ( हिन्दी सिनेमाको प्रभाव) |

त्यो ३ फूटे फलामे गेटबाट साढे पांच फीटको म के छिरेको थिएँ, भित्रबाट गाली हैन ताली पो बज्यो बाइ ……………

ताली किन बज्यो भने …. धेरै दिन देखि नयाँ कैदी आएका रहेन छ , बल्ल नयाँ मुर्गा आयो भनेर ताली ठोक्या रैछन बज्जेहेरु ले | एक छिन मै ताली , खाली भो | गलामा झुन्ड्याएको सरकारी छाप भएको परिचय पत्रले कैदी हैन मार्साब रैछ भन्ने थाह भो |

संगै हिडेको इन्स्पेक्टर साहेबले कैदीको नाइकेलाई बोलायो | कैदी नाइके त …………….

कैदी नाइके चिनेको मान्छे नै परेछ | आफ्नै अड्डाको खरिदार साप | केही महिना अघि आफ्नै बजेई पर्ने बृद्धाको हत्या अभियोगमा पुर्पक्षको लागि थुनिएका | आफ्नै टोल छिमेकमा हरि दाइ | हरिदाईको मुहारमा कान्ति छायो | मानौ बर्षौं देखि अँध्यारो काल कोठरीमा थुनिएका हरिदाईले घाम देखे जस्तो |

सर नमस्कार भन्दै नेवारी मै किन पाल्नु भएको भनेर सोध्नु भयो | मैले आफु आउनुको बेलिबिस्तार लगाएँ |
सर संग लामो कुरा गर्नु छ , अहिले सबै संग परिचय गराई दिन्छु भन्दै एक एक लाई बोलाउनु थाल्नु भयो |

जेल भित्र कैदीहरु बिचको आन्तरिक ब्यबस्थापन गर्न नाइके , भाइ नाइके , चौकीदार , भाइ चौकीदार को ब्यबस्था हुने रहेछ | जेल भित्र सानो पसल हुने रहेछ , चिया नास्ता त दैनिक बन्दोबस्तीका सामान पाइने | पसल कल्ले राख्ने , बजार को जाने , आदि इत्यादि को ब्यबस्था यिनै नाइके चौकीदारहरुले गर्दो रहेछ | लामो समय सम्म थुनिएका, अलि पढे लेखेका र जिउडाल अच्छा भएकालाई यी पदहरुमा नियुक्ति गर्ने रहेछ|

नाइके हुनु को रवाफ हरिदाई को मज्जा ले देखियो |

“ओहे कृष्णे, हाम्रो सरलाइ स्पेशल चिया र अमलेट तु ल्याउनु | “

“ओह सानुकाजी, सरलाई राम्रो कुर्सी को ब्यबस्था गर त |”

जेल भित्र एउटा चोक रहेछ . चारै तिर थुनुवा सुत्ने पाटी जस्तो घर | ट्वाइलेटको हालत उही, सबैलाई लेट हुने | ढल निकास, नेपाल को बिकास जस्तै |

चोक भित्र कुर्सिमा बसेर हरिदाई संग के कुरा गर्न थालेथें, अरु थुनुवाहरु पनि आइ पुगे | हरि दाइले सबै संग परिचय गराई दिनु भयो |

उहाँ हाम्रो सर , इन्जिनियर साहेब , मेरो टोलको भाइ | जेलको भौतिक अवस्था सुधार गर्न हेर्न आउनु भएको | हाम्रो मेयर साहेब बडा इअमा जमान भाको मान्छे हो , मेयरले पठाएको मतलब केही काम हुन्छ , उहाँले गर्बका साथ् सुनाए |

चिया , अम्लेट आइपुग्यो , सबैले चिया लिए | आ-आफ्नो परिचय दिदै गए | थुनुवा मध्ये एक जना बुज्रुक नेपाली कालो टोपी लाइराख्या हेर्दै हाकिम जस्तो देखिनेले आफ्नी परिचय यसरी दिनु भयो –

“म चाहि रामानन्द शर्मा , यही जेलको जेलर, अहिले कैदी भाछु |”

” जेलर साहेब नि जेल भित्र कसरी ?? “

” यस्तै परिबन्दमा परियो सर , ब्याड लक् खराब भए सी यस्तै हो | बिस्तारमा म मेरो कोठा मै भन्छु है , मेरो कोठामा पाल्नु पर्छ नि सर खाजान खान ..| “

जेलर साहेब को आग्राह टाल्ने कुरा भएन , हुन्छ भने |

अर्को एक जना कलिलो केटो पनि संगै थियो | भाइ किन नि , जिज्ञासा लागेर सोधें |

“केटी बेचेको आरोपमा | ” धक नमानी उसले भन्यो |

“साँच्चै केटी बेच्या हो त ?? त्यो त राम्रो हैन नि भाई | “

यति के भन्या थिएँ बिचराको आँखाबाट बलिन्द्र झरे |

“सर ….| मैले केटी बेच्या हैन , धरोधर्म हैन | “उ भन्दै गयो –

गाउँमा स्कूल पढ्दा पढ्दै एउटी संग पिरती बस्यो | जात भात को कुरो ले मागेर बिहे गर्न सम्भव भएन र एक दिन भगाएर सदरमुकाम सम्म के पुगेको थिएँ , असत्ती सुन्तालीका दाई हरुले समाएर पुलिसलाई बुझाइ दियो | केटी बेच्न लागेको आरोपमा २ बर्ष …..|

“बिचरी सुन्तली पो के गर्दै होली ……” त्यसपछी त्यसले बोल्न सकेन |

सर जाउँ भित्र तिर , मेरो नि आफ्नो कुरा सुनाउनु छ – हरिदाईले बाहिर को गम्भीर माहौलबाट कुरा अन्त सार्न भन्नु भयो | हुन्छ नि , मलाई नि छिट्टै फर्किनु छ | आजै रिपोर्ट बुझाउनु भन्नु भा छ मेयर साहेब ले |

भित्र गएँ , जेलर साहेब को रुम मा | अरु कैदीहरु को चाहि ४-५ जना सुत्ने एउटा रुम हुन्थ्यो भने जेलर साहेबको चाहि सानो तर सिंगल | सानो ब्ल्याक एण्ड ह्वाइट टिभी पनि रहेछ | कानूनले न दिएको सुबिधा जेलर भएरै पाएको हुनु पर्दछ |

छोटकरी मा भन्नु होस् , म सबैको कुरा सुनेर जान्छु | मैले आफ्नी मनशाय प्रकट गरें |

हरि दाइले पहिले मेरो कुरा भन्छु भन्नु भयो |

सरले मेयर साहेबलाई मेरो कुरा सुनाइ दिनु पर्र्यो | म एकदम निर्दोष छु | मैले मान्छे मारेको हैन | म संगै समातिएका ८ जना मध्ये एक जना वकिल बाहेक कसैलाई चिन्दिन | मलाई फसाइएको हो | भाइ ले नै भन त मैले मान्छे मार्छु होला र ??

मैले चिने जाने सम्म हरिदाई को चरित्र एकदम सफा , समाज सेवामा लागेको . टोल छिमेकमा हरेक जात्रा पर्वमा अगुवा | तर समातियो किन ?? मैले प्रश्न गरें | त्यसै त समात्न आएन होला |

“हैन भाइ, त्यो बुढी मेरो नजिकको बजेई | बजेईको सन्तति कोही नभएकोले सबै सम्पती मैले नि पाउने, म किन हत्या गरूँ? “

कुरा जायज थियो र पनि टोलमा भाको साबिती सर्जमिनमा मैले नै मारेको हुँ भनेको मैले खुदै सुनेको थिएँ |

“तपाइँले मारेको हैन भने , अस्ति पुलिसले सर्जमिन गराउँदा , किन सबको सामु मैले नै मारेको हुँ भन्नु भएको त ?? “

“त्यो मैले भनेको हुँ, मैले हैन भनेको भए पुलिस ले मार्थ्यो , बाच्नको लागि भनेको हुँ| “

“कसरी??” मैले पुरक प्रश्न सोधें |

“पुलिसले यति पिट्यो .. यति पिट्यो…………………….”

पुलिस ले पिट्यो रे …पिट्दैमा नभाको कुरा हो भन्नु पर्छ त त्यो पनि हत्या जस्तो संगिन आरोपमा ? मैले पनि केही केरकार गरें|

हैन सर, म बिस्तारमा भन्छु |

“अजि (बजेइ) को हत्या भएको थाह भए पछि पुलिसलाई पहिलो सूचना दिने मान्छे नै मै हुँ | अजिको बारे सम्पूर्ण जानकारी दिने नै मै हुँ | सबैभन्दा नजिकको आफन्त पनि मै हुँ | एक्लै बस्ने गरे पनि ट्याम ट्याम मा हेरविचार गर्ने पनि मै हुँ | खुशी भएर अजिले सबै सम्पति शेष पछि मेरो नाममा गरि सक्नु भएको थियो | दिन दिनै हनुमान ढोका जान्थे, अनुसन्धानमा प्रगती भयो कि भनेर | सोधेको जवाफ दिन्थे | ७-८ दिन पछि ७-८ जनालाई समाएर ल्याए छ, पुलिस ले | मलाई यिनमा को माथि शंका लागेको छ भनेर सोधे | मैले चिन्दिन कोहि पनि भनें | एक जना जग्गा सम्बन्धि काम गर्ने वकिललाई चाहि बजेइ कै एक टुक्रा जग्गा बेच्ने क्रममा चिनेको थिएँ | तर पुलिसले थप झन्झटमा पार्ला भनेर त्यसलाई नि चिनेको छैन भन्दिए | “

भोलिपल्ट अफिस सके पछि हनुमान ढोका गएको थिएँ, केही पत्ता लाग्यो भनेर |
“अरुले बकी सक्यो हत्या गर्ने मुख्य अपराधी तैं हो” भनेर नेल लगाई हाल्यो |

“मैले साप के गर्नु भएको यो के भनेको थिएँ , बढी बोल्ने हैन” – भन्दै एक झाप्पु लायो अनि “जे बोल्नु छ , भोलि सरकारी वकिलको कार्यालयमा बोल्ने | ओह केटा लै जाउ त्यसलाई केरकारमा | “

मैले आफ्नी श्रीमतीलाई नि खबर गर्न सकिन | नेल लगाएर हनुमान ढोका थानाको केरकार कोठा भन्नेमा लग्यो |

“तैले किन हत्या गरिस , आफ्नै बजेइलाई ल भन” -हिजो सम्म नमस्कार फर्काउने पुलिसको सक्कली अनुहार देखें |

“साप मैले गरेको हैन , मैले गरेको भए म दिन दिनै सरको मा किन धाउँथें ? जाहेरी नै किन दिन्थे ?”

“पुलिसलाई उल्टै कोइशन ?? ल भन खुरुक्क यो कागजमा सहि गर्छस कि भित्र लगेर केरकार गरूँ? “

“साहेप मैले गरेकै होइन त म किन गरूँ ?” मात्र के भनेको थिएँ , “लैजा केटा यसलाई भित्र | लातको मान्छे बात ले बोल्दैन | ” पुलिसको क्रुरताको पहिलो रुप देखियो |

भित्र अँध्यारो कोठा , बत्ति भए न भएको जस्तो | आँखामा पत्त्ति लगायो | नेल लगाएको हातलाई खै के मा हो झुन्ड्यायो |

“तैले हत्या गरेको स्वीकार्छस् कि नाईं भन्छस्” – भन्दै सलिड प्लास्टिकको पाइप हो कि रबरले झुण्डीएको पैतलामा के एक डण्डा के हानेको थियो , तीन त्रिभुवन देखें |

“मैले सर मैले हैन , मैले कही गरेको छैन” – भन्न सकेको थिएन अर्को पाइप हान्यो |
मैले केही सोच्न सकिन , बाल बच्चा सम्झे , श्रीमती सम्झे | भगवान सम्झें |

“साला कुकुर, मान्छे मारेर नि चुँ सम्म नि गर्दैन , दे अर्को एक |” हाकिम चिच्यायो |

अर्को एक पाइप खाँदा लाग्यो, अब बाँच्दिन | बाच्नु छ भने हो नै भन्नु पर्छ | १०-१५ जेल बस्नु परे नि मर्नु भन्दा हो भन्नु नै जाती भनेर मैले हिम्मत हारें |

“हो सर मैले , हो भनें | हो भन्नै पर्र्यो | “

“साप मैले नै मारेको हो साप, गला थिचेर मारेको हो ” भने पछि बल्ल पानी खान दियो | भोलि पल्ट सरकारी वकिलको कार्यालयमा फेरी डण्डा खाने डरले मैले नै मारेको हो भनेर साबिती बयान दिएँ | टोलमा भएको सर्जमिनमा पनि फेरी त्यही डण्डाको भूतले तर्सायो र मैले नै मारेको हो भनि दिएँ |

या त मलाइ थाहा छ या भगवानलाई , मैले मारेको हैन सर ,मैले मार्नु पर्ने कुनै कारण नै थिएन | ८३ बर्षकी अजि कति बर्ष नै बाच्नु हुन्थ्यो र सम्पतिको लोभमा हत्या गरूँ ?? उहाँको शेष पछि मेरै हो | त्यसमाथी म माथि कुनै शंकट आइलागेको थिएन, घर छ , जागिर छ |

“त्यसो भए अहिले के गर्ने बिचार गर्नु भएको छ त ??” मैले भाबी योजना जान्न खोजें |

सके सम्म छिटो यो खोरबाट निस्कन चाहन्छु , घरमा फुच्चे बिरामी छ रे , हिजो बुढी भेट्न आएकी थिई | हरिदाइ को अश्रुधारा बाह्रमासे खोला सरि थियो | पीडा बगिरहेको थियो | बिबशता सुक्सुकाइ रहेको थियो |

मुद्दा चलिराख्या छ | वकिल अर्कै राख्नु पर्छ भन्ने सल्लाह आएको छ ससुरालीबाट |

“वकील त तकडा नै राख्नु पर्छ है ” मैले नि हौस्याए|

“को वकिल ?” मलाई जिज्ञासा लागेर सोधें |

फलानो ….( नाम चाही उल्लेख नगर्नु नै बेश होला ) |

मैले तत्काल हुँदैन भने |

” किन ?? “

“त्यो क्रिमनल जस्टिसको ज्ञाता हैन, सम्बन्धित वकिल नै हाल्नु पर्छ है , यो संगिन मुद्दा खेलाँची हैन | “

“हुन्छ सर म यो कुराको बिचार गर्छु | सर चाहि मेयर साहेबलाई मेरो कुरा पुर्र्याई दिनु पर्र्यो | मेयर साहेबले केही गर्नु सक्नु हुन्छ कि ? ” हरिदाईले हतास आश प्रकट गर्नु भयो |

” हेर्नुस् दाई , तपाइँले मयेर साहेबलाई चिन्नु भएकै छ | यस्तो केसमा मेयर साहेबले पोलिटिकल कन्ट्याक्ट युज गर्नु हुन्न | गर्नुस भन्न नि मिल्दैन | तर तपाइको पीडा र दुखेसो चाहि सुनाइ दिन्छु | अरु कसैलाई केही भन्नु छ भने भन्नुस मा भन्दिन्छु | “

“पर्दैन सर , तपाइँले मलाई हत्यारा न ठानी दिए पुग्छ | “

त्यतिन्जेल खाजा ट्याम भयो | जेल भित्रको कैदी जेलर साहेबको कहानी त सुन्ने बाँकी छ | खाजा रेडी भएको कृष्णेले जानकारी गराई सकेको थियो |

जेल भित्रको खाजा, खसी मासु च्युरा , आलु चना तरकारी , टिमूर हाल्या गोलभेडाको अचार | बडा मिठो रहेछ , तीता कुराहरु बीच |

“लौ जेलर साहेब, तपाइँ को सिङ्गै कहानी सुन्न बाँकी नै छ | खाजा खाए पछि चुरोसको तलतल लाग्यो | एक खिल्ली तानेर आउछु, जेल भित्र न खानु भएन नि भन्दै बारी जेल बाहिर निस्केर कसरी पो फेरी छिर्ने हो मिलाई दिनुस न भनें |

पुरानो जेलर न ठहरियो | सेन्ट्रीमा बसेको पुलिसहरुलाई अर्डर गर्नु भयो – सर एक छिन को लागीर बाहिर निस्कनु हुन्छ , फेरी ससम्मान मेरो कोठामा पुर्र्याई दिनु नि फेरी | हस साब भन्दै कैदी जेलरलाई स्यालुट मार्दै

” जाम सर एक छिन बाहिरको हावा खान |”

पुलिसले पनि मेरो उकुसमुकुस बुझे जस्तो गरि भन्यो |

चुरोस सल्काएं | एउटा सकियो अर्को पनि सल्काएं | चुरोट तानेर धुँवा फाल्दा उडेका धुँवाको आकृतिहरु हेर्दै मनमा अनेक कल्पना आए | साँच्चै हरिदाई निर्दोष पो हुन् कि ? निर्दोष मान्छे यसरी काल कोठरीमा बन्द हुँदा उनको मनमा के कति आंधी चल्दो हो, परिवार नाता कुटुम्ब कति भात्किँदो हो | मेरो लागि अकल्पनीय बिषय हो |

दोस्रो खिल्ली पनि सके पछि जेल भित्र फेरी प्रवेश गरें | अर्को एक राउण्ड चिया आइसकेको रहेछ |

“मार्साब को चुरोस ब्रेक त लामै रहेछ , लौ एक राउण्ड चिया फेरी खाम | ” जेलर साहेबले आफ्नो वृतान्त सुनाउन भूमिका बाध्नु भयो |
————————————————————————————————————
आज भन्दा झन्डा १० महिना अघि सम्म म यही जेलको जेलर थिएँ | उप सचिबमा प्रमोशन भए पछि सोर्स फोर्स लाउन सकिन, सिडियो हुने इच्छा थियो जेलर बनाएर खटाइ दियो | ठिकै छ त काठमाडौ जानु पर्ने हैन भनेर जेलर भएर आइयो | जेल प्रशासन बारे बुझ्न खोज्दा खोज्दै एउटा नराम्रो घटना घट्यो | जेलको हाकिमको हैसियतले दोषी मै भएँ |

“घटना चाहिं के नि सर ??” मैले जिज्ञासा राखें|

लागु औषधि कारोबारमा २ बर्ष जेल सजायंमा परेका दुइ जना नाइजेरियन नागरिक यहि जेलमा थियो | बेला बखतमा झाडा पखाला लगायत पेट दुख्ने रोग लाग्ने र अस्पताल जाने गर्थे | हत्कडी लगाई हतियार धारी प्रहरीको साथमा बीर अस्पताल लान्थे र समयमै फर्किन्थे |

एक दिन ती दुवै जनाले एकै दिन पेट दुख्यो र छाती दुख्यो , अस्पताल जान पाउँ भन्ने निबेदन दिए | आफु नयाँ परेकोले वा पहिलेको बिश्वासले स्वीकृत गरि दिएँ | चार चार जना प्रहरीको जिम्मा लगाई दिएँ |
जेलबाट अस्पताल जाँदा वा पहिलेइ नै सेटिंग भएको रहेछ |

“अस्पताल हैन कोपुण्डोल स्थित होटल हिमालयमा पुर्र्याई देउ , उताबाट हामीलाई छुताउन वाकिन आएको छ | एक घण्टा जति वकिल संग कुरा गर्न देउ , एक एक जना लाई १०, १० हजार रुपैया दिन्छु ” भनेर लोभ देखाएछन |

दंठे पुलिस न परे | लोभमा फसिहाले | (हुन पनि हो त्यति बेला हामी इन्जिनियरको तलब २९ सय थियो प्राबिधिक भत्ता समेत जोडेर | यो हिसाबले सिपाहीको तलब मुश्किलले १४-१५ सय हुन्थ्यो होला | )

१० हजार भनेको धेरै ठुलो रकम | फसिहाले दंठेहरु |

हिमालय होटलकै रिसेप्सनमा अर्को एक जना नाइजेरियन काले कुरी राख्या रैछ रे | त्यो काले र कैदी काले बीच एकै छिन कानेखुसी के भाथ्यो, प्रहरीहरुलाई १ -१ हजार को दिए रे | कैदी काले मध्ये एक जनाले काम चलाउ नेपाली जान्थे | त्यसले प्रहरीहरुलाई भने छ – यो एक हजार एडभान्स भयो, हाम्रो हत्कडी खोलि देउ वकिल संग को पेपरमा साइन गर्नु छ, माथी कोठा न. … मा बसेको छ | बाकि पैसा हामी माथि बोलाएरै दिन्छु | यही रिसेप्सनमा बसी राख एक एक जना गरी बोलाउछि फोन बाट अनि आउनु र पैसा लिनु |

प्रहरी त मख्ख, १० हजार पाइने , झन्डै ६ महिनाको तलब एकमुष्ठ | मुर्खहरुले नेल खोलिदिए र कैदीहरु माथि गए | माथि गएको एकै छिनमा रिसेप्सनमा घन्टी बज्यो र एक जना प्रहरीको नामै लिएर माथि आउनु भन्ने आदेश आयो | दङ्ग पर्दै माथि गए छ त्यो | फेरी ५ मिनेट पछि अर्को लाई बोलायो | दङ्ग पर्दै गए | एवं रितले सबैलाई माथि बोलाए गए |

त्यस पछि कोइ पनि फर्केंन जेलमा | ५ बजे सम्ममा कुनै हालतमा फर्की सक्नु पर्ने नियम थियो | न कैदी फर्के न प्रहरी | अफिसबाट फिर्ने लाग्दा इन्स्पेक्टर साहेब हस्याङ्ग फस्यांग गर्दै आए |

“सर सर ती नाजेरियन र प्रहरीहरु कोइ पनि फरेको छैन . केहि गडबड भयो जस्तो छ | के गरूँ सर , टेन्सन भयो | “

“लौ बर्बाद भयो | अघि नै केही शंका लागेको थियो मन मा एकै दिन दुइबै जनालाइ अस्पताल जानु पर्ने किन होला भनेर | “

“लौ तुरन्तै प्रहरी हेद क्वार्टरमा फोन गर्नु , सबै कुरा खुलस्त गर्नु , भाग्न नपाओस | म पनि बिभागमा खबर गर्छु | “

प्रहरी पर्शासन दुबैमा घटनाको जानकारी गराइयो | इअरपोर्ट देखी काठमाडौको सबै नाकामा चेकिङ्ग सुरु भयो | एक टोलि प्रहरी हिमालय होटल गए |

हिमालय होटलमा बुझ्दा प्रहरी आएका र नाइजेरन बसेको कुरा पुष्टि भयो तर तिनीहरुको बसेको कोठा खाली थियो | चेक आउट नगरी भागि सकेका रहेछन | प्रहरी .. कता गए नि | हिमालय होटलका सुरक्षा कर्मी देखि लिएर अन्य कर्मचारीहरु संग जानकारी लिंदा कोइ प्रहरी र नाइजेरन कोइ पनि होटल बाहिर गएको देखिएन | रुम पुरै खालि थियो , सरसामान केही पनि थिएन | तर बाथरूम लक थियो | बाहिरबाट लक् गरेको रहेछ | बाथरुम भित्र चार जना प्रहरी इन्तु न चिन्तु अवस्थामा |

प्रहरीहरुलाई तुरन्तै अस्पताल लगियो | ज्यान जोगियो तर जोगिएन | ती प्रहरीहरु बयान अनुसार, काले ले एक एक जना गरी बोलाइ भक्कुमार पिट्ने र हात खुटा बाँधी , मुखमा पट्टि बाँधी ट्वाइलेटमा कोचेका रहेछन |

नाजेरियनहरु भागेको भागेइ भयो , समात्न सकिएन | कुटाइ खाने पुलिस , पुलिसको हाकिम लगायत मलाइ समेत निलम्बन गरी मुद्दा चलाए , सरकारी वकिलको कार्यालयले | मिलेमतोमा कैदी भगाए भन्ने संगिन आरोपमा |

अस्पताल जान पाउँ भन्ने निबेदन स्वीकृत मैले गरेको हुँ, मिलेमतोमा हैन | प्रहरीसंग के कस्तो मिलोमतो भयो मलाई थाहा छैन भनें | मेरा वकिलले पनि सक्दो प्रतिरक्षा गरे | न्यायाधिशले के मान्थ्यो ?

“मिलोमतो न भएको भए दुवै जना एकै दिन कसरी बिमारी हुन्थ्यो” भन्ने प्रश्न गरे | म संग त्यसको उत्तर थिएन | यदि मैले अस्पताल जान न दिएको भए अनि उनीहरू साँच्चै नै बिरामी भएर तल माथि केही भएको … बिदेशी नागरिकको सवाल छ , यो भन्दा गम्भीरर घटना हुन्थ्यो | दोष जम्मै मेरै मा आउथ्यो |

आखिर जेल प्रशासनको मिलेमतोमा कैदी भगाएको ठहर गर्दै मेरो सरकारी जागिर खोसियो त १८ महिनाको लागि यही थोसियो | चारै जना बदमास प्रहरीहरुको नि जागिर गयो २-२ बर्ष जेल गयो | हाल तिनीहरु नख्खु जेलमा छन् | इन्स्पेक्टर साहेब मात्र बच्नु भयो , नसिहत सहित सरुवा हुनु भयो |

यसरी सर , नखाएको बिष पनि लाग्दो रहेछ | धन्न मैले यहाँका कैदी दाजु भाईहरुलाई अन्याय गरेको रहेन छु र आज मलाई उहाँहरुले अभिबावक सरह मानेर एउतै परिवार जस्तै भएर रहेकाछौं | परिवार संग अलग्गिएर , एउटा कलंक बोकेर जिउनु पनि के जिउनु जस्तै लागेको थियो | तर यहाँ भित्र म जस्तै धेरै निर्दोषहरु थुनिएका रहेछन | सबैको कथा ब्यथा उस्तै छन् | त्यहि भएर मन बहलिएको छ | अब धेरै दिन बाँकी छैन मेरो कैद भुक्तान हुन | अब उनीहरु संग छुट्टिएर पो कसरी जाने जस्तो भैसक्यो | एउटा अचम्मको डोरीले बाँधिने रहेछ जेल भित्र पनि | शायद पीडाहरु एउतै भएर होला |
————————————————————————————————————–

जेलर साहेबको कथा पुरा हुँदा न हुँदै समयले पांच हान्ने लागिसकेको थियो | रिपोर्ट लेख्नु छ फेरी , भोलि बिहानै मेयर साहेबले खोज्ने छन् |

“लौ त यहाँको अवस्था बारे र नाप जांच गरेको आधारमा प्रोपोजल समेत आजै बनाउनु छ | काम सुरु हुने बेला फेरी आउने नै छु | तपाइहरुको आतिथ्य र मायाको लागि धन्यबाद | तपाइँहरु संगको एक दिन अबिस्मरनिय रहने नै छ | अब हिड्छु |”

हिड्छु भन्दा भन्दै पनि अर्को १५ मिनेट खायो | सबै संग बिदावारि र अघि न भेटेका संग परिचय साटासाट गर्ने पर्यो |

यही रह्यो मेरो एक दिनको जेल बसाई | मन भरि अनेक तर्कना गर्दै भारि मनले जेलबाट बिदा भएँ | तीता मिठा कहानी सुनें , देखें र तपाईहरुलाइ सुनाएँ | मन पर्यो होला नै |

अस्तु !!

(हरि दाइको सन्दर्भमा – जिल्ला अदालतले हत्याको मुख्य अभियुक्त करार गर्दै जन्म कैदको फैसला दिए . पुनराबेदन अदालतले जिल्ला अदालतको फैसला सदर गर्यो | सर्बोच्च अदालतले दुवै अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै निर्दोष भएको फैसला सुनायो र करीब पांच बर्ष पछि छुट्नु भयो हरिदाई | जागिरमा पुनर्बहाली हुनु भयो र तत्काल राजिनामा गर्नु भयो | त्यतिन्जेल मैले पनि लोक सेवा पास गरेर सरकारी सेवामा गैसकेको थिएँ | अझै पनि टोलमा हरिदाई भेट हुन्छ . नमस्कार सर भन्दै हात मिलाउनु हुन्छ | पांच बर्ष निर्दोष भैकन पनि जेलमा बिताउनु भएको कथा ब्यथा बिस्तारमा बुझ्ने सुन्ने मौका पाएको छैन , नत्र एउटा गतिलो उपन्यास बन्ने थियो | मौका मिले हरिदाईको कहानी कुनै दिन लेख्ने नै छु | )

(स्रोत : Sajha)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.