~हेल्लेन सोल्टी~
उत्साहित भएर सोधेकी थिएँ; खाहुनको भाषण कस्तो थियो ?
सुनैनाको छोटो जवाफ थियो- ”आउनु भा’ थिएन” ।
दमकको विशाल कार्यक्रममा म जान पाएकी थिइन र पनि चासोको विषय त हुन्थ्यो नै । थप म जिज्ञासु बन्न थालेकी थिएँ- कार्यक्रमहरुको बारेमा । विर्तामोड अग्रसेन भवनअगाडि कार्यक्रम हुने थाहा पाएकी थिएँ तर जान नपाएकी । उसैगरी सोधेकी थिएँ नितुको उत्तर थियो, ”आउनु भा’ थिएन ।” मलाई लाग्ने गथ्र्यो कार्यक्रम र खाहुन पर्यायवाची शब्द हुन् । हरेक कार्यक्रमहरुमा खाहुनको उपस्थिति अवश्य हुने गर्थ्यो र म निकै नै प्रभावित भएकी थिएँ । यतिबेला करिब चारवर्षपछि म खाहुनलाई पुनः सम्झन थालेकी थिएँ निकै धेरै । जतिलाई सोधे पनि खाहुन् कार्यक्रममा उपस्थित थिएन भन्ने सुन्थेँ । यो कुराले मलाई थप सताइरहेको थियो । के भएछ कहाँ गएछ खाहुन ?
धेरै कोसिसपछि इटहरीको कार्यक्रममा जाने साइत जुरेको थियो । एघार बजेको कार्यक्रम भनेको भए तापनि मैले करिब १२ बजेमात्र इटहरी चोकमा स्कुटर रोकेँ । त्यतिबेलासम्ममा लिम्बुवान भोलेण्टियस्र लेखिएको व्यानरहरु टाँगिएका बसहरु पचास-साठीवटा अझ पश्चिमतिर गइरहेका थिए । मैले पनि बसहरुलाई पछ्याएँ । बसपार्कमा छेउमा कार्यक्रमस्थल रहेछ । हेर्दाहेर्दै सयौं बसहरुमा लिम्बुवान भोलेण्टियस्रका युवाहरु हजारौं सङ्ख्यामा भेला हुँदै थिए । सुनेकी मात्र थिएँ ‘लिम्बुवानका जनप्रदर्शनहरु ठूल्ठूला हुन थालेका छन् रे ।’ तर यस पटक मेरै आँखाले देख्ने मौका पाएँ । इटहरी नगरलाई परिक्रमा गर्ने कार्यक्रम रहेछ सबै तयारीमा जुटे । नारा-जुलुश गर्दै भोलेण्टियस्रका युवाहरु अगाडि बढे । सुनेको हल्ला पटक्कै महशुस भएन किनकि सबै जातजातिका युवाहरु उत्तिकै देखिन्थे । तीनवर्षअघि स्टाफ नर्स पढ्ने बहानामा मैले यही सङ्गठनलाई कसैसँग केही नभनी छोडेकी थिएँ तर आश्चार्य लागिरहॆको थियो यति छोटो समयमै जनताले विश्वास गर्न थालेछन् ।
लिम्बुवानी माटोको इतिहासलाई आत्मसात गर्दै यहाँका धेरै जनताहरु जुरुक्कै उठेर ‘एउटै सपना र एउटै बाटो’ मा हिँड्न थालिसकेका रहेछन् । मैले स्कुटर राख्ने ठाउँ भेटाउन हम्मे पर्यो । जताततै मान्छेमात्र । निकै तल स्कुटर राखेर कार्यक्रमस्थलमा आएँ । सबै जना लामवद्ध भएर जुलुशमा सहभागी भए । चर्को घाम थियो तर कति जोसिला र उत्साहित नारा लगाउँदै ती युवा र युवतीहरु उफ्री उफ्री अगाडि बढिरहेका थिए । ती जोशहरु देख्ता म पनि जोसिएकी त थिएँ तर मेरो उद्देश्य अलिकति फरक थियो- यी हजारौ मान्छेहरुका बीचमा खाहुनलाई भेट्ने । म पनि कस्ती ! सबैजना एकातिर व्यग्र मेरो भने अहिले नै तुरुन्तै खाहुनलाई नमस्कार गर्न नपाए पनि यही जुलुशमा नारा लगाउँदै यही चर्को घाममा असिन-पसिन हुँदै हिँडिरहेको हेर्ने मन ओर्लिरहेको थियो । खाहुन्लाई देख्न भनेर नै म अलिकति माथिपट्टिको पर्खालमा छाता ओडेर उभिरहेकी थिएँ । गहिरिएर कल्पना गरेँ यो जुलुशमा खाहुनलाई निकै सुहाउँछ । स्मृतिमा तस्वीर थियो- कार्यक्रममा खाहुन र खाहुन कार्यक्रममा । हेर्दाहेर्द्रै जुलुश धेरै अगाडि बढिसकेको थियो तरपनि मान्छेहरु हुलका हुल थिए । खाहुनलाई देखेर अथवा भेटेर ठूलो युद्ध जितिछाड्ने विश्वासमा जुलुश सकिाजेल उभिरहेँ छाता ओढेकी भएपनि पसिनाले निथ्रुक्कै भिजेँ खुट्टा निक्कै थाक्यो तर खाहुन मेरो आँखाको स्वाद बन्न सकेन । उहाँ दाइहरु अथवा नेताहरु प्रायः धेरैलाई देखेँ तर मेरो मन अलिकति अमिलो-तीतो भयो । छेउको पसलबाट अलिकति पानी किनेँ अनि दुईचार घुड्को पियेँ र स्टेज छेउ जान खोजेँ तर सम्भव थिएन । करिब दुई सय मिटर एतैबाट शुरुभएको कार्यक्रम हेर्न थालेँ । खाहुनलाई देख्ने र भेट्ने आसा ताजै थियो विश्वास मात्र भाग्दै थियो । तर स्टेजमा पनि उसलाई देखिन ।
अन्तमा, म निर्णयमा पुगेँ- यो विशाल कार्यक्रममा पनि खाहुन आएन छ । साङ्गीतिक कार्यक्रम झाँकी भाषण भइरहेको थियो म भने बेचैन थिएँ । यो मेरो पुरानो रोग थियो यतातिर खाहुनको बारेमा बुझ्नलाई चिने जानेको कोही छन् कि भनेर खोजिरहेकी थिएँ । कार्यक्रम आधा सिद्धिएपछि विन्दालाई भेटेँ । खाहुन विन्दा म लगायतका थुप्रै जना विद्यार्थी सङ्गठनमा समकालीन थियौं । खाहुन विद्यार्थीको ठूलो नेता भइसकेको छ रे भनेर सुनेकीसम्म थिएँ हुनुपर्ने पनि हो । अनि विन्दा पनि महिलाको ठूलो नेता रे । चारवर्षपछि विन्दालाई नमस्कार भन्दै बोलाउँदा सजिलै चिनिन् । खुशी लाग्यो । मैले सोचेकी थिएँ अनौठो मान्छे होली । विन्दाको छोटो समय मागेर खाहुनको बारेमा सोधेँ ‘खाहुन काठमाडौंमा छ छ-सात महिनादेखि सम्पर्कमा छैन सबैलाई अचम्मै बनाएर भूमिगतजस्तै भा’छ विद्यार्थी नेता नै हो यी ठूल्ठूला कार्यक्रम हुनसक्नुको श्रेय खाहुनलाई पनि जान्छ’ इत्यादि जानकारी पाएँ विन्दाबाट । विन्दाले मलाई मेरो बारेमा सोधी । जवाफमा भनेँ स्टाफ नस्र गरेँ सरकारी हस्पिटलमा जागिरेनी भाुछु । बधाई दिइन् । लाजसरी भएँ । मलाई महशुस भइरहेको थियो विन्दाहरुले प्रगति गरेछन्- हामी सबैको लागि । मैले भने मेरो व्यक्तिगत जीवनको लागिमात्र गरेँ । एउटा स्क्रटर किनेँ त्यति नै ।
कार्यक्रम सिद्धिनु आधाघण्टा अगावै म इटहरी चोक गछिया पत्थरी उर्लावारी दमकहुँदै घर फर्केँ । प्रचण्ड घाम दिनभरिको उभ्याई स्कुटरको लामो यात्राले थाकेकी त अवश्य थिएँ तर खाहुनको विषयमा अझ धेरै बुझ्ने कौतुहलताले निँद लागिरहेको थिएन । खाहुनले चारवर्षअघि पनि यस्तै बनाएको थियो । रातको लामो गहिराईसम्म निँद पर्थेन । सबै निदाएका हुँन्थे म ब्यूँझेकी हुन्थे । सायद आज पनि दोहोरिनेवाला थियो । निँद भाग्नमात्र खोजिरहेको थियो।
एकदिन एकजना साथीको विवाहमा खाहुन र मेरो पहिलो भेट हुँदा उसले माटो अस्तित्व र समाज परिवर्तनको कुरा गरिरहँदा त्योभन्दा बढी उसको बोल्ने शैली मन्द हाँसिरहने स्वभाव हाउभाउबाट बढी प्रभावित भएँकी थिएँ । विवाहमा साथीहरुसँग एकदमै डटेर काम गर्ने गफ गराइएको नेतृत्व उसैले गर्ने अनि अरु ऊजस्तै युवाहरुले चाहिँ साथ दिने गरेको देख्दा म खाहुनसँग पहिलो भेटबाट नै प्रभावित भएकी थिएँ । सबै कार्यक्रमको निम्तो दिने कार्यक्रममा लाने कार्यक्रममा जानुपर्छ भनेर सम्झाउने बुझाउने खाहुनको बानी थियो । एकदिन उसले सुरुङ्गाको कार्यक्रममा आउनुपर्छ भनेर खबर पठायो । जान्न होला भनेर मन एक प्रतिशत पनि भएन धेरै उत्साहित भएर सउभागी भएँ । त्यो दिन मैले थाहा पाएँ राजनीतिक कार्यक्रमहरुको जिम्मेवारी बोध खाहुनले आत्मैबाट गर्दोरहेछ। सबैजनासँग बोल्ने सबैलाई चिन्ने । टाढाबाट आएका अतिथिहरुले पनि खाहुनलाई नै केन्द्रविन्दु मानेको जस्तो महशुस गरँे । जीवनमा पहिलो पल्ट यस्तो राजनीतिक कार्यक्रममा उठेर परिचय गरेको दिन त्यो दिन थियो मेरो लागि ।
बारम्बार सम्झन्छु…खाहुनले मलाई के सम्झ्यो होला जतिखेर चिट्ठी लेखेर भनेकी थिएँ- ‘खाहुन म त हरेक कार्यक्रममा तपाइँ हुनुहुन्छ र मात्र आएकी हुँ । कार्यक्रममा तपाइँ नहुने हो भने कहिले पनि आउदिन ।’ यसरी यो पत्र लेखेकी रात र त्यसदिन पछिको रातहरु मेरो जीवनको जटिल मोड बन्यो । कति डराएकी म ! कति हडबडाएकी ! रातभरि निँदै नलाग्ने! खाहुनलाई सम्झनेबितिक्कै आङ सिरिङ्ग हुने । कतिपटक त लाजले आँखा पनि छोपेकी थिएँ । ऊ सायद व्यस्त भएर पनि होला चिट्ठीको जवाफ तीन महिनासम्म दिएन । त्यो तीन महिना म बेस्सरी तड्पीएँ। एक दिन खाहुनले जवाफमा लेखेको थियो। हो त जुनू तिमीले ठीक भन्यौं ।
म छु र त तिमी आयौं तिमी छौ र म पनि आउँछु। खाहुनको भाषा बढो कूटनीतिक भाषाको लाग्यो । त्यतिबेला खाहुनको पत्ररुपी शब्दहरुले मेरो तड्पाइको निमित्त हल्का मल्हम्को काम गरको थियो । मैले त्यसपछिका दिनहरुमा अझ प्रगाढरुपमा खाहुनको सम्झना र कल्पना गरेकी थिएँ । ऊसँग कसरी बोल्ने होला उसलाई गिफ्ट किनेर दिँदा के हुन्छ होला कस्तो दिए ऊ खुशी हुन्छ होला आदि इत्यादि बेसमारी सम्झन्थेँ । मैले तीनचार पटक कलम र डायरी उपहारस्वरुप पठाउन उचित सम्झेर पठाएँ । उसले पनि एकदिन ‘लिम्बुवानको नलेखिएका कथाहरु’ नामक राम्रो किताब उपहारस्वरुप पठाएको थियो । खाहुनले पठाएको पुस्तक एकशब्द नछोडी सबै पढेँ । वास्तवमै त्यहाँभित्रका कथाहरुबाट निक्कै प्रभावित भएँ त्योभन्दा धेरै प्रश्नहरु ममा उठेका थिए- ‘खाहुनले यस्तो खालका कथाहरु भएका पुस्तक मेरो लागि किनेर किन दियो होला कथाहरुमा भएजस्तै मसँग हाम्रो समाज परिवर्तनको लागि ठूलो आसा गरेको पो हो कि !’ त्यतिबेला मैले खूब टाउको दुखाएकी थिएँ- ‘पुस्तकभित्रको कथाहरूमा खाहुन नै बोलिरहेको छ ।’ कार्यक्रममा जाँदा बस्दा रहँदा खाहुनको सानातिना झिनामसिना सबै ख्याल गर्थें । एकपटक तीनदिने कार्यक्रम विर्तामोडमा भइरहेको थियो । खाहुनको दाँत माझ्ने ब्रस थिएन । मैले प्रयोग गर्ने गरेको ब्रसमा माजन भरेर ब्रस गर्न भनेँ । उसले पनि सहजै स्वीकारेर धन्यवाद दिँदै प्रयोग गर्यो । पछि उसले भनेको थियो- ‘जुनू फ्रेस भएँ ।’ म त्यतिबेला बेजोड खुशी भएकी थिएँ ।
एकदिन मेरो दिदीको छोरी काठमाडौंबाट फर्किनेक्रम्मा खाहुनसँग संयोगले एउटै बसमा परेछिन् । खाहुन र छोरी फरक-फरक सिटमा थिएछन् तर छोरीसँग बस्ने त्यो अधबैंसे मान्छे खराब स्वभावको रहेछ । दुई तीनपटक चेतावनी दिँदा पनि उसको खराब नियतलाई उदाङ्गो पार्न कोसिस गरिरहेपछि छोरी जुरुक्क उठेर अलिकति अगाडिको सिटमा गएर नचिनेको एकजना दाइलाई गुहारिछे । त्यो दाइसँग सिट परिवर्तन गरेर बस्नेक्रम्मा छोरी र खाहुनको भेट भएछ । खाहुन मस्त सुतिरहेको थियो रे । त्यो रात बोलचाल भएन रे । बिहान मात्र चिनजान भएछ । काठमाडौंबाट आएकी तीनचार दिनपछि छोरीले मलाई अचानक खाहुनको बारेमा कुरा झिकिन्। सोह्र-सत्र वर्षकी छोरी खाहुनसँग धेरै प्रभावित भइछिन् । उमेरले होला छोरीले पागलले जस्तै भनेकी थिई- ‘छ्यामा खाहुनले मेरो प्रस्ताव स्वीकार गरे मेरो जिन्दगी पूर्ण हुन्छ । ऊसँग भेट भएपछि अर्कै आनन्द महशुस भइरहेछ ।’ उनले यो पनि भनिन्- ‘छ्यामा खाहुनले मलाई स्वीकार गरे म मेरो जीवनलाई पूरा परिवर्तन गरिदिन्छु ।’ त्यसबेला मैले यसरी सम्झाउने कोसिस गरेँ- ‘तिमी भ्रममा छौं। खाहुन ठूलो सपना बोकेर हिँडेको मान्छे हो । उसको कुराको प्रसङ्ग महत्वपूर्ण हुन्छ उसको कुरा गर्ने शैली अभूतपूर्व छ तिमीमात्र होइनौं तिमी र हामीजस्ता धेरैले प्रभावित भएर खाहुनलाई मन पराउँछन्।’
पछि भेटमा मैले खाहुनलाई यो कुरा सुनाएकी थिएँ ऊ थोरै हाँस्यो । खासमा खाहुन समुन्द्रजस्तो थियो । खाहुनको नजर र व्यवहारमा सबैजना समान हुन्थे । मानिस स्वभाविक रुपमा स्वार्थी हुने रहेछौं । मैले खाहुनसँग जहिले पनि आसा गरेकी थिएँ- खाहुनको नजरमा म अरुभन्दा एकदम नजिक भएकी महशुस गर्न चाहन्थेँ । नबुझिने खालको थियो ऊ । माया-प्रेमको प्रसङ्गमा खाहुन कसैसँग पनि नखुलेको पाएँ । मैले उसको धेरै अध्ययन गर्न भ्याएँ तर पास गर्नै सकिन । म त छोरी मान्छे खुलेर ‘माया गर्छु मन पराउँछु’ जस्तो शब्द त भन्न सक्दिन नै थिएँ तर व्यवहारले भने सयौं पटक प्रस्ताव गरेँ । यो मेरो भ्रम पनि हुन सक्थ्यो । यो मेरो पागलपन मात्र पनि हुनसक्थ्यो । इन्फ्याचुएइशन् पनि हुनसक्थ्यो । तर यतिबेला यो आन्दोलन र कार्यक्रमहरुमा खाहुनलाई नदेख्दा र नसुन्दा पहिलेकै जसरी थुप्रै प्रश्नहरु उठ्न थालेका थिए । खोई ! के हुनेवाला थियो कुन्नी म विगतमा झैँ सताइन थालेकी थिएँ । खाहुनलाई एकपटक फोन गरेर सोध्न मन लागेको थियो- ‘हाम्रो आन्दोलन के भइरहेछ ? अथवा यी विशाल आन्दोलहरुले तपाइँको नेतृत्व पर्खिरहेको छ । एकदिन मैले खाहुनकै घरमा गएर उसको बारेमा बुझ्ने योजना बनाएँ । स्कुटर किनेदेखि त जता जान पनि सजिलो लाग्थ्यो । करिब एकघण्टाको स्कुटर ड्राइभिङपछि म खाहुनको घरमा पुगेँ । यो मेरो खाहुनको सानो घर र बाक्लो गाउँसँगको तेस्रो पटकको साक्षात्कार थियो । थाहा थियो- यो घर थोरै खर्चमा बनेको हो । मिस्त्री लगाई खर्चबाट बनेकोभन्दा पनि जानीनजानी आफैले बनाएजस्तै लाग्ने घर थियो । घर छेउवैमा पानी तान्ने ट्युव् थियो । त्यो बिग्रिएको रहेछ । नबनाई छोडेको थियो । घर छेवैको फूलबारी पहिलेकै जस्तो देखेँ ।
खाहुनलाई भनेको याद आयो- ‘हाम्रो देश पनि विभिन्न फूलहरू मिलेर फूलबारी बनेजस्तै त हो नि । सबै फूलहरूको सत्तिकै महत्व छ, यो सुन्दर फूलबारीमा ।’ आज फूलबारी देख्दा खाहुनको त्यही शब्द सम्झनामा दोहोरियो । अलिकति पश्चिमतिर सानो किचन घर थपिएर परिवर्तनको झुल्को दिइरहेको थियो । त्यही किचनको छेवैमा खाहुनको आमा मलाई नै हेर्दै हुनुहुन्थ्यो । चिन्नु भएन सायद, तीनवर्षछिको तेस्रो भेट हुँदै थियो, यो । मैले ‘सेवारो आमा’ भनेँ । जवाफमा ‘सेवारो’ भनेर ‘छोरी बस्नू’ भन्नु भयो । हतासे गुन्द्री ओछ्याउनु भयो । म थचक्क बसेँ । आमाको सबैलाई छोरी भन्ने बानी थियो । अनुमान गरेभन्दा राम्ररी र धेरै कुरा गर्ने हुनुहुन्छ, वहाँ । आफूलाई चिनाएँ । वहाँले बिर्सिनु भएछ । पचपन्न-छपन्न वर्षी आमाले जाँड, रक्सी, चुर केही पनि लिनु हुन्न रहेछ। तर, दिनमा चारपाँच पटक नुन हालेको चिया लुम्बामा पिउने गर्नुहुँदो रहेछ । एकैछिनमा मलाई गिलासमा र उहाँले लुम्बामा चिया खन्याउनु भयो । नुन ठिक्कले हाल्नु भएछ, हामी दुवैले पिउनु थाल्यौं, मेरो योजनाचाहिँ खाहुनको बारेमा बुझ्ने थियो । आमाले भन्दै हुनुहन्थ्यो- ‘अझै पनि खाहुनलाई भेट्ने धेरै जना आइरहन्छन् । फोन नाम्बर माग्छन् ।’ जवाफमा मैले भनेँ- ‘आमा, खाहुनलाई विश्वास र भरोसा गर्ने मान्छेहरू धेरै छन्। तर, एतिबेला, ऊ कार्यक्रमहरूमा नआएको नगएको छ-सात महिना भयो रे । त्यसैले थुप्रैले चासो राखिरहेको छन् ।’ मेरो कुरा सुनेपछि आमाले खाहुनको बारेमा भटाभट् भन्नु थाल्नु भयो- ”खोई छोरी, घरमा ऊ हुँदा मान्छे, इष्टमित्र आइरहन्थे । उसकी ठूली बहिनी घरमै बसिरहनु पर्ने । चिसो पानी, चिया बनाएर खुवाउँदै ठिक्क ठूलीलाई त । खाहुन उठ्न पाएको हुँदैनथ्यो, गाउँका युवाहरू, अधबैसेहरू, बुढाहरू कुरा गर्न आइरहने । अलिकिति फुर्सद भयो कि त ठाकठाक् ठूक्ठुक् काम पनि गर्न थाल्ने । यो घर उसैले आफै बनाएको हो । उतापट्टिको कोठा मात्र थियो, पछि उसैले जानी नजानी यो तल्लो र भान्सा घर पनि बनाएको हो । ट्वुवेल धारा बिग्रिएको पनि चार दिन भयो । ऊ भएको भए त एसरी रहन नै नदिने । दुइवटा भाले छन् । झिलझिले बजार लगी बेचेर बनऊ कि भनेको, नानी ।”
आमा, खाहुनप्रति पूर्ण् सन्तुष्ट हुनुहुँदो रहेछ । आमा आफ्नो कुरालाई जोड्दै हुनुहुन्थ्यो-”तर, खाहुनले पैसा कमाउन सक्दैन, नानी । आफ्नो लागिभन्दा अर्काको लागि मात्र हेर्ने मान्छेले कसरी कमाउँछ – तर, खाहुनले निक्कै धेरै दुक्ख गरेको छ । क्याम्पस पढ्न इलाम गयो । चिट्ठीमा लेखेको थियो- ‘विहान क्याम्पस जान्छु, दिउँसो बाटो खन्ने जागीर खुलेको छ । पैसा कमाउदैछु ।’ अनि, एकदिन चाहिँ, चिट्ठीमै पाँनसय पठाइदिएको थियो । सुनाखरी स्कुलमा मिस्त्री काम गर्छु, त्यहाँबाट कमाएको पैसा हो भनेर लेखेको थियो । खाहुन, इलाम पढ्दा उसको लागि पैसा खर्च गर्नु परेन नानी ।”
खाहुनको त्यो साहसिक यात्राको कथा आमाबाट सुन्दै जाँदा, मलाई एस्तो लागिरहेको थियो- खाहुन अभ्रख थिएछ । साँच्चै केही नभए पनि ठूलो सपना बोकेर महान यात्राको निम्ति हिँडिरहेको महानयात्री थिएछ । गाउँमा खाहुनको जमिन पनि रहेन छ । यो घर जहाँ छ त्यो जमिन पनि अर्कैको रहेछ । इलामबाट फर्किपछि बोर्डिङ स्कूल पढाउनु थालेछ । त्यो बिग्रिएको पानीको ट्युवबेल उसैले कमाएको पहिलो महिनाको सालरीबाट बनाएको रे । पछि- काठमाडौं गएर पढ्नेक्रम्मा तीनलाख जति ऋण गरेछ । साथीभाइ, आफन्त, छरछिमेकीहरूबाट ऋण गरेर पढ्न काठमाडौं गएको रहेछ । पढ्दै राजनीति गर्दो रहेछ । खाहुन रत्ति पनि नआतिने स्वभावको थिएछ । आमाको कुरा सुनेपछि ममा थुप्रै प्रश्नहरू उठे । खाहुनले घरमा प्रायः काम गर्ने, र खर्च पनि पुर्याएर कार्यक्रमहरूको नेतृत्व पनि कसरी गर्न सक्यो होला – उसले आफ्नो पढाइ पनि सँगसँगै लगिरहेको थियो । सङ्घीयता, लिम्बुवान, अस्तित्व र समाज परिवर्तनको निम्ति खाइ-नखाई, सुतीनसुती लागेको मान्छे छ-सात महिनाबाट के भएछ, थप जिज्ञासाका प्रश्नहरू तरङ्गित भए । आमाले यसको खास कुरा सुनाउनु भयो- ”सात महिनाअघि बेलुकी टुप्रुक्क घर आइपुग्यो ।
मैले सोधेँ, ऋण तिर्ने पैसा पनि लिएर आइस् -”
ऊ झक्र्यो- ”कसरी ल्याउँछु पढिरहेको विद्यार्थीले -” मैले सबै कुरा सुनाएँ । ऋण दिने मान्छेहरूले मलाई पैसाको कुरा गरेर सताएको कुरा भनिदिएँ । गाली गरेको र धम्क्याएको यी सबै सुनाएपछि पैसा छैन भने तुरुन्तै घर छोडी हाल्नु भनेँ किनभने भोलिपल्ट विहान हुन नपाउँदै साहुहरू आएर खाहुनलाई पकड्नेवाला पक्कै थियो । छोराको त्यो दिनको अनुहार देख्दा म धुरुधुरु रोएँ ।”
खाहुनले भनेको थियो- ”आमा, ऋण मैले चलाएको हो, मेरो पढाइको लागि काठमाडौं गएर पढ्दा मैले खर्च गरेको हो । उनीहरूले धम्क्याए पनि, गाली गरे पनि मलाई गरुन् । म अहिले नै हिँडे भने तपाइँलाई गाली गरिरहन्छन् ।” त्यतिबेला उसले मलाई सम्झाउँदै भनेको थियो- ”गाली नगर्ने अवस्था बनाइदिन्छु ।’ नभन्दै भोलि सबेरैदेखि माइलाकी आमा, यासके, सिराने काइँला, देशी जेठा आए । खोई, कसरी मनायो, गाली बेइजति त कसैले पनि गरेनन् । त्यसको तीनचार दिनपछि, विहानै हिँडेको मान्छे राति आइपुग्यो । त्यो माथिल्लो कोठामा बसेर सुँक्सुँक् रोयो । खाना खान बोलाउँदा पनि निक्लेन । राति बाह्रबजेतिर भोक लागेछ, खाना खाने भनेर मलाई उठायो र मैले नै पस्केर दिएँ । उसको एकजना असाध्यै मिल्ने साथी थियो । मैले नै पनि कति पटक खाना पकाएर दुवैजनालाई खुवाएको थिएँ । खाहुनले त्यो साथी खूब मन पराउँथ्यो । पछि, ऊ अम्रिका गयो । उसैको पैसा पनि चलाएको रहेछ । भर्खरै नेपाल आएको थिएछ । चलाएको त्यो पैसा माग्नेक्रम्मा साथीले हातपात गरेछ । खाहुनले भन्दै थियो, धेरै मिल्ने साथी पैसाको कारण गुमाएँ भनेर । मसँग पैसा थिएन, ऊ त्यो तल्लो घर गएर गंगालाई चारसय मागेर ल्यायो राति नै । विहान चारबजे नै उठेर अचानक हामीसँग विदा मागेर हिँडेको छोरो, आजसम्म आएको छैन । अहिले आउँदिन भन्छ, पातलो फोन गर्छ ।”
आमाको कुरा काटेर आमासँग खाहुनको फोन नम्बर मागेँ । आमाले भन्दैहुनुहुन्थ्यो, ‘फोन लाग्दैन होला नानी । सबैले लाग्दैन भन्छन् ।’ आमाले थैलीबाट कागजकोे टुक्रा निकालेर दिनुभयो । जम्मा तीनवटा नम्बरहरू रहेछन्, मैलै मेरो मोबाइलमा सेभ् गरेँ । साँझ पर्न लागेको थियो । आमाले एतै बसेर मिठो मसिनो खानू छोरी भन्दै हुनुहुन्थ्यो, तर म पनि पर्सिदेखि हस्पिटलमा ड्युटि जोइन गर्नुथियो । त्यसैले भोलि विहानै भद्रपुर जाँदै थिएँ । बस्न अर्समर्थ जनाएँ र साँझपख घर फिरेँ । स्कुटर हाँहिरहेकी थिएँ, खाहुनको कथाले मेरो सोचाइ र बुझाइहरूमा पूरै उथलपुथल ल्याइदियो । खाहुनसँग सम्पत्तिको नाममा केही रहेनछ,, छ भने पनि ढल्न लागेको घर, त्यो पनि अर्कैको घरमा, त्यो पनि अस्ति कहिले जग्घा मालिकले जमिन छोड्नु भनेको थियो रे, अनि ऊसँग केवल उसले पास गरेका मार्स्र्टस डिग्रिको र्सर्टिफिकेट रहेछ । तर पनि मुक्ति पाउनुपर्छ भन्ने आन्दोलनमा कस्तरी लागेको थिएछ भन्ने र्छलङ्ग आज म भएँ । मसँग सम्पत्ति छ । लाहुरेकी छोरी, खर्च कहिले पनि कमी भएन । गर्न सक्नु र चाहनु हो भने सम्पत्तिले पूरै साथ दिएको मान्छे, तरपनि खाहुनको लाइन लिन सकिन । लिन खोजेपनि उद्देश्य खाहुनसम्म थियो । उसलाई भेट्ने उद्देश्यले मात्र सङ्गठनमा हिँडे । आजसम्म खाहुनले देखेको सपना र तय गरेको यात्रा पूरा गर्न सकेको छैन । ऊ आफै पनि परिस्थितिको दासी भएको रहेछ । उसले मलाई मुक्तिको आन्दोलनमा धेरैधेरै सम्झाउने कोसिस त गरेकै थियो, तर म पनि कति एकोहोरी, खाहुन मसँग नजिक हुन चाहँदैन भने म किन सङ्गठन र कार्यक्रमहरूमा जाने ! जस्तो लागि रहने । अहिले मैले सोच्न थालेकी थिएँ- उसले सधैँ देख्ने गरेको सपना र बाटोमा मैले पनि हिँड्न शुरु गरेँ भने हाम्रो सपना र बाटो मिल्नेछ । एउटै सपना र एउटै बाटो भएपछि पो नजिक हुन सकिन्छ । साँच्चै नै, दिमागमा उत्तारचढावहरू आइरहेछ । मनमा छालहरू छचल्किरहेछ । अनि, दिमाग र मनमा एउटा निर्णय जुरुक्क उठेर आयो- खाहुन, एकदिन परिस्थितिको दासत्वको बन्धनबाट मुक्त भएर उसले देख्ने गरेको सपना र हिँड्ने गरेको बाटोलाई निरन्तरता दिन अवश्य आउँछ । मैले एतिबेला उसको रिक्ततालाई पूर्ति गर्नुपर्छ । मैले चारवर्षघि नै चाहेको सामिप्यता अनि पो हुन्छ त ।
घर पुग्दा रात परिसकेको थियो । कोठामा पसी मोबाइल झिकेर डायल गर्न थालेँ । मैले भन्न चाहिरहेकी थिएँ- ”खाहुन, लिम्बुवान मुक्तिको हाम्रो सपना र हाम्रो बाटो एउटै हुनेछ ।” र्सवप्रथम, अन्ठानब्बे एकचालीस छयत्तर एकाउन्न सडसट्ठीमा डायल गरेँ, ‘स्वीच अफ् गरिएको छ,’ भन्यो । दोस्रोपल्ट अन्ठानब्बे जिरो चौरासी सत्र चारसय सत्तरीम डायल गरेँ, ‘सम्पर्क हुन सकेन’ भन्यो । तेस्रो नम्बर अन्ठानब्बे जिरो चौरासी त्रियासी चारसय त्रिचालीसमा डायल गरेँ । यो अन्तिम नम्बरमा पनि सर्क हुन सकेन । फेरि पनि डायल गरेँ । डायल गरिरहेँ ।
२०६७।०२।२०
काठमाडौं
( स्रोत: संघीय मासिक )