~सुन्दर अल्पभाषी~
जन्डिसले खाएको
पहेँलो घाम
तिनजुरे देउरालीमा
आत्महत्या गरेपछि
कति खुशी गुम्यो होला
कति दु:ख लुक्यो होला
कति हर्ष मौलायो होला
त्यो अन्धकारमा
उभार विहीन
हर्ष न विस्मातको
फालेलुङले जून जन्माएपछि
अलैँचीको पातमा
आँशुको मोती नओवाउँदै
आएको छ नयाँ दिन
मुस्कुराउँदै
उही चोकमा
फेरिएको छ नयाँ क्यालेन्डर
पुरानै योजनामा
फेरिएको छ आवरण
समीक्षा गर्नुछ अब
बुद्धु बन्नुको रहस्य
आउने हरेक शिशिर र वसन्तमा
पहिचान गर्नुछ तिलष्मी रूप
नाप्नु छ तिम्रो उचाईचाँपको फूलबाट
(स्रोत : संगम साहित्य चौतारी)