~रहन राई~
मेरो सहगामी!
थाहा छ…….?
यो कठिन यात्रामा हामी हुनुले
स्वच्छन्दता चुम्ने कुरामा म ढुक्क छु,
बसन्तसंगै हिमपात अनी
खडेरी त छदैछ, साथमा शारदी फल नभुल्नु है।
आए…अवसादपूर्ण पलहरु
खैर,
नरोकी यी वेगवान पाइला,
तिमीसम्म आइपुग्दा
म त सुनामीले नहल्लाउने भैसकेछु,
स्वयं,
आणविक विकिरणको प्रतिरोधक भैसकेछु,
तर, फगत परायाको प्रायोजनमा,
त्यसैले,
अब ईतिहासको पुनरावृति होइन
अर्को बैचारिक युद्ध हामी आफ्नाहरुकै लागि लड्ने छौं।
यो भूमिमालाई कंगाल बनाउने
आयातित विचारका प्रतिलिपीहरुलाई
यो निधारको पसिनाले मेटाउन नसके,
अनी, युगबोधी क्यान्भासमा
स्वसत्व दर्शन घोली घोली
स्वकृत र स्वकीय चेतनाको
मुर्त, अमुर्त स्वच्छन्द रङ भर्न नसके,
बैचारिक दासताको खाल्डोमा फेरी पुरिनेछौं युगौंयुग।
संगी!….हामीले,
अरुको अनुकरणमै बितायौं युग
अरुको गुणगानमै निल्यौं आफुलाई,
परायाहरुको स्वार्थ युद्धमा
सुरक्षा कवच बनाइ फैलायौं चौडा छाती,
तिमी बहादुर, म बहादुर
बहादुर भनिनेले पनि दर्शनको कुरा गर्दा
ग..ल..ल..ल हाँस्दो रहेछ सिमा पारिको सभ्यता,
अनी,.. ऐंचो पैंचो मागेर
टलुवा निकम्मा सिद्धान्तको
भोटो लगाइ देशको रथ हाँक्ने जातले
दर्शनको कुरा गर्यो भनेर,
पेट मिचीमिची हाँस्दा रहेछन् मित्र भनाउँदाहरु,
ती हाँसोहरुलाई बेजोड जवाफ फर्काउनु छ हामीले।
मलाई आजभोलि
रुवाइ र दु:खका कुरा नगरौं लाग्छ,
माल्दाईको बनिहारा जीवनको
कथा लेखेर मनहरु निरस नबनाउँ लाग्छ,
तिम्लाई पनि भन्छु बरु
अब,
यिनको प्रेरणाले
सधैंको बैचारिक र
कर्मगत गुलामी तोडी
स्थिर मनहरु गतिशिल बनाइ,
चैतन्य उत्सर्गमा
आफ्नै दर्शन र बिचारको सगरमाथा अग्ल्याउन,
युगद्रष्टा सहगामी हातहरु चलाउँ, आफ्नै बैचारिक उद्यानमा घोटीघोटी।।
**
रहन राई
भोजपुर
(स्रोत : Shabdahar )