१.
आऊ साथी
सुरुवाल सुर्केर घुँडामाथि
घुङ्रिङ् बनाऔं र बाँधौं चार किल्ला
यसरी कि. टेकेर दह्रो चार पाइला
-धर्ती. आकाश. हावा. पानी….
बस्.
नूनको ढिक्का चाट्दै
मिथक उगाई साँढेको त्यागेर
होङ्ग्रायोको भोक पालेर चेतनामा
युद्धघोष गरौं-
बुडुङ्…बुडुङ्…
रक्तिले आकाश रङ्गियोस्
छरपष्ट होस् गिदी
भत्कोस् ब्याकरण-
आफ्नै इंश्वरको विरुद्ध
आफ्नै इश्वरको विरुद्ध
आफ्नै भाग्यको विरुद्ध
स्वयम् आफ्नो विरुद्ध
युद्धमा-
साहसभन्दा खतरनाक अस्त्र अर्को हुन्न
जगाऊँ आफूभित्र चुक्मिबा र लादिप्पाहरूको आँट
र, उत्रौं बुद्धिको कुरुक्षेत्रमा
२.
हामी.
धेरै अबेरसम्म बसिसक्यौं
अहम्को यो भन्ज्याङ्मा
-भन्ज्याङ् भएर
-चौतारी भएर
-बैस कुरेर
-समय पर्खेर
र बाटोमुनिको सानो फोक्टा
ऐलेनी विचार अँठ्याएर
हामीले त्यसैलाई किपट मानेर
आफ्नो दाबी गरिरह्यौं
प्रमाण स्वरुप-
आफ्ना पुर्खाहरूको चिहान खनी, खोस्रेर
बाउ, बाजेका खोपडीहरू झिकेर, लहरै राखेर
कुनै तान्त्रिकले जस्तो
खोपडीहरूलाई बकाउन खोजिरह्यौ-
”हो कि होइन, हो भन…” भन्दै
हामीले
हामीलाई नै बरबाद गर्यौ
जब खोपडीहरूले केही बकेनन्
र हामी फर्किंदा
मूलबाटोमा
मूलबाटो नै मुर्कुटाहरूको भइसकेको थियो
३.
हिजो आफ्नो बलले साहसले बाँच्थे मान्छेहरू
आज आफ्नो बुद्धिले चलाखीले बाँच्छन् मान्छेहरू
मान, समय बदलेको छ
मान, बाँच्ने तरिका बदलेकोछ
मान, मान्छेहरू बदलेका छन्
मान, तर हामी बदलेका छैनौं
मात्र यति फरक छ-
हिजो हामी कमजोर/निम्छरो बाँच्यौं
आज हामी लाटा/बुङ्गा बाँच्दैछौं
४.
साथी
हामी पो सिधा रहेछौं
बाटो त बाँङ्गो रहेछ
बाँङ्गो हिँडे पनि, नाङ्गो हिँडे पनि
यो लीलाको अन्त्य पनि
त्यै डाँडामुनि रहेछ
त्यहाँ कोही उडेर जाँदा रैछन्
त्यहाँ कोही गुडेर जाँदा रैछन्
त्यहाँ कोही हिँडेर जाँदा रैछन्
तर,
हामी त घिस्रिएर जाँदै रछौ
नपत्याए हेर आफ्नो छाती
हामी गोहोरो घिस्रिएको
इतिहास कसले लेख्छ र –
आऊ साथी
अब, सुरुवाल सुर्केर घुँडामाथि
घुङ्रिङ बनाऔं र ज्ञानले चार किल्ला बाँधौं
यसरी कि-
आकास बाँधौं…
धर्ती बाँधौं….
हावा बाँधौं…..
पानी बाँधौं……
र बाँधौं जिन्दगी ।
(स्रोतः संघीय मासिक वर्ष १, अङ्क १, पूर्णाङ्क १, चैत्र-वैशाख २०६६/२०६७)