लघुकथा : प्रेरणा

~सुषमा मानन्घर~Shushma Manandhar

“एकैछिन पर्खनुस् न है, मलाई पनि बाहिर निस्कनु छ ।” आफ्नो श्रीमान तयार हुँदै गरेको देखेर दिल कुमारीले भनी ।
“भो भो । कतै भाषणै दिन जान लागेकी हो के हो ? खुरुक्क घर सम्हालेर बस । त्यति मात्र गर्न जाने पनि पुग्छ । ” श्रीमानबाट आज पनि पुग्नेगरी नसिहत पाई उसले ।
‘घर त तपाईँको पनि हो । एकदिन तपाईँले पनि हेर्दा के बिग्रन्छ र ?”
“धेरै बिग्रन्छ । अरु दिन जस्तो हो ? आज त नारी दिवस । ठूल्ठूला र आँटिला काम गर्ने महिलाहरुलाई सम्मान गर्ने । उनीहरुसँग चिया खाँदै गफ गर्ने दिन । केही बुझ्यौ तिमीले ? दिमाग भए पो ! भाषण दिन जानु छ मलाई, डिस्टर्व नगर ।” उसले बाहिर दिनुपर्ने भाषण घरमा आधै सकेर बाहिरियो ।

आयोजना स्थल पुग्दा त्यहाँ मानिसहरु टन्नै आइसकेका थिए । दर्शकदीर्घातिर हेर्दै नहेरी ऊ गमक्क फुलेर मन्चमा सजाइएको मेचमा बस्यो । छेउमा दुइ तीन अन्य अतिथी महिलाहरु पनि बसिरहेका थिए ।

कार्यक्रम शुरु भयो । महिला पुरुषका सम्बन्ध र समाजमा महिलाको भूमिका बारे सवैले प्रकाश पारे । उसले पनि महिलाको देनबारे ब्याख्या गर्दै उनीहरुलाई जननी,संगिनी,बहिनी र प्रेरणा भन्दै प्रशंसा गरेर भीडको ताली बटुल्यो ।

कार्यक्रमको अन्तमा आयोजकले एउटा विशेष सम्मान ग्रहण गर्न नाटकीय ढंगमा दर्शकदीर्घामा एउटा नाम बोलाइन् । साधारण गृहिणी भैकन पनि आफ्नै बुध्दि, इच्छा र लगनले लेखिका बन्न सफल, छद्य नामले लेख्ने ती महिला मन्चमा आउँदा ऊ भने चार छक्क पर्यो । सम्मान ग्रहण गर्नु अगाडि दिल कुमारीले भाषण गरी “म आज जे छु त्यसमा मेरो श्रीमानको ठूलो हात छ । उनले यति राम्रो प्रेरणा र शक्ति नदिएका भए म आज यो ठाउँमा पुग्नै सक्दिनथें । त्यसैले म उनको गुण कहिल्यै बिर्सन सक्दिन । मेरो श्रीमान मेरोलागि ठूलो प्रेरणा हुन् ।”

अपराध बोधले दिल कुमारीका श्रीमानलाई भने आफू जमिनमा भासिँदै गएको अनुभव भैरहेको थियो ।

(सन्दर्भ: अन्तर्राष्ट्रिय महिला दिवस)

ललितपुर
mdhsusma@yahoo.com

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.