घरिघरि आकाशमा हेर्दा हेर्दै
मैले सोचें
मेरो देवता शुन्यमा बिलाएको छ
चिसो सिरेटोसंगै
अविरल बर्षासंगै
र, अनगिन्ती हिउँका थुप्रासंगै
झर्दै झर्दै
कहिले
हिरोशिमा र नागाशाकिमा
कहिले न्युयोर्कको गगनचुम्बी महलमा
पालैपालो ठोक्किन पुग्छ
मेरो देवता
मैले थालिको अक्षताले पुज्दा
अदृश्य बन्छ
र, पनि कती शक्तिशाली छ
म अझै उसलाई पूजा गर्छु।
मैले धेरैपटक मेरै आँखा अगाडि
देवता मरेको देखेको छु
कहिले सोमालिया
कहिले युगाण्डा
र, कहिले हुम्लामा
मेरो देवता
कहिले भोको पेटमा
चौबाटामा लम्पसार पर्छ अभावले
कहिले सगरमाथामाथि धावा बोल्छ-स्वाभिमानले
असरल्ल परेका
मनभित्रका बान्किमा
एकमुठी सुस्केरा हाल्छ
र, सुस्ताउँछ घरिघरि।
मेरो देवता
खाली पेटमा-माग्न बस्छ
अघाउँदा-इज्जत खोज्छ
इज्जत पाउँदा रवाफ खोज्छ
रवाफ पाउँदा हैकम चलाऊँछ
हैकम पाएपछी-तानाशाह बन्छ
त्यसैले मेरो देवता
अब मेरो बशमा छैन
आकाशमा बस्छ
र, आकाशमै बिलाउँछ।
(‘आकाशमाथिको देवता’ कविता संग्रह-२०५९)
(स्रोत : Shabdahar )