हिउँदको पहारिलो घाममा
लामखुट्टेको भनभनले झै
घेरिएको छु म एउटा जिज्ञाषाले
नजिकै वनस्पतिको अनिकाल देख्छु
टाढा एकदुई ठुटा देख्छु वनस्पतिका
गमलाको बोनसाई उदास देख्दै छु
उसले सकिनसकी बच्चा जन्माएको छ खिनौटे
तिम्रो
अनुहारमा चमक छ
वर्णनमा उल्लास छ
चालमा जीतको झलक छ
सहरमा चर्चा चल्छ तिम्रो बोनसाइको
तिम्रो बोनसाइमा लागेको फलको
…
जोडी ढुकुर
हरायो दृश्यबाट अचेल
केहि दिन अघि , एउटाको क्रन्दन थियो जोडी खोज्दै
अब त त्यो पनि गायब
मेरो करेसामा
सलबलाउन छोडे अचेल सर्प
थरिथरीका सर्प
भूमिगत संगठन झैँ तिमीले
घात लगाएर पालै पालो
अपहरण र हत्या गर्यौ तिनको
र हराए ती पनि अचेल
जङ्गलबाट लखेटिएका छन्
बचेखुचेका चितुवा
चारखालतिर ती घेरिँदै छन् मान्छेबाट
कङ्क्रिटमा परिवर्तन भैसके छ
हेर्दाहेर्दै तिनको निवास
तिम्रो आँखामा
बढ्दै गएको चमकले भन्छ
तिमी
कति सुरक्षित ठान्दै छौ आफूलाई
ठिक यसबेला
जिज्ञाषाले घेर्दै छन् मलाई
लामखुट्टे जिज्ञाषाले
तर तिनको कुनै सुनवाइ छैन
जिज्ञाषालाई प्रवेश निषेध छ
उच्चा पर्खालभित्र
फाँटमा जति फैले पनि
अबाञ्छित भुस्याहा कुकुर झैँ जिज्ञाषा
गल्लीमै डुल्छन्
गल्लीमै भुक्छन्
लुतो कन्याउँछन्
खरानीमा सुत्छन्
ग्यालग्यालती बच्चा जन्माउँछन्
जेहादी बच्चा
पर्खालभित्र प्रवेशनिषेध छ
…
मैले कुनै प्रलय देखेको छैन
वनस्पति , डाइनासोर कसरी भए !
ढुकुर , डाइनासोर कसरी भए !
सर्प र चितुवा , कसरी डाइनासोर भए !
तर पनि हराउँदै छन् क्रमशः
तिम्रो तथाकथित साम्राज्यबाट
साँच्चि भन त !
के यो तिम्रै साम्राज्य हो त !
वनस्पतिका ठुटामाथि तिमि पाउलियौ
जङ्गलको विनाशसँगै तिमी फैलियौ
अरु जीवको विनाशसँगै तिमी झाङ्गियौ
सहअस्तित्व बिर्सेर एक्लै झाङ्गियौ
मलाई कतै लाग्दै छ
तिमी पनि विनाप्रलय
विना पूर्वसंकेत
लोप हुने बाटोमा छौ
मूतको न्यानो झैँ तिम्रो आँखामा चमक देख्दै छु
घुमी घुमी जिज्ञाषा भनभनाउँदैछ
साँच्चि !
कसले पढ्ला !
तिमी डाइनासोर झैँ लोप भएको कथा ?
भक्ति प्रसाद पौडेल
बिराटनगर नेपाल
(स्रोत : साहित्य संग्रहालय )