अनिंदो कैयन् रातहरूसँगै
छिचोलेर लासहरूको पहाड
टेकेर सिन्दूर पोखिएको जमीन
कमरेडको आरोहण !
शहरकी चर्चित नायिकासँगै
समयान्तरका होर्डिङ्-बोर्डहरूमा
ठिङ्ग एक्लै
विस्थापित एउटा मन
इ….! हेरिरहेछु- रक्तिम क्रान्तिको विजय
मरणासन्न राजधानीको ब्यस्त चौकमा
हावामा लहराउँदै माथि
उचालिएका कमरेडका
दाहिने हातको मुट्ठी
रङ खुइलिंदै गरेको तुलहरूमा
उप्कँदै गरेका जर्जर भित्ताहरूमा
अग्ला होर्डिङ्-बोर्डहरूमा
यथावत अझै नाराहरू –
“गणतान्त्रिक नयाँ नेपालका भावी नायक, कमरेड..”
क्रमशः रूपान्तरित सत्ता र सरकारमा,
तैपनि, किन अझै खुम्चिरहेका छन्,
आम जनताका दैनिकीहरू ?
गणतान्त्रिक नयाँ नेपालको आयतनभित्र
निर्धक्क किन हाँस्न सकिरहेका छैनन् ?
निर्दोष जिन्दगीहरू
गणतान्त्रिक नयाँ नेपालको अनुहारभित्र
किन अझै बेखबर छन् ?
हराइरहेका हरि बहादुरहरू ?
गणतान्त्रिक नयाँ नेपालको मानचित्रभित्र
भोग्दैछन् किन अझै पनि विस्थापित मनहरू ?
असह्य पीडा र वेदना बेस्कन दुखेको विगतसँगै
गणतान्त्रिक नयाँ नेपालको आँगनभित्र
कमरेड !
क्रान्तिको उदघोषसँगै कुल्चिएका तरूनी सपना
र, गुराँसका रक्तिम थुङ्गाहरू
किन अझै बल्झिरहेका छन् ?
संवेदनाविहीन मान्छेहरूको हूलभित्र ?
भो ! अपार असहमति छ मेरो
संवेदनाविहीन मान्छेहरूका हूलसँग
यदि, बेहिसाब मृत्युको मूल्य
आहुति र सपनाहरू सहिदका
फगत, सत्ता आरोहण मात्रै होभने
केवल, फगतले कज्याएको सरकार
फगतले ठडाएका तुलहरू
आस्थाको फूलसँगै च्यातिएर झर्नेछन् जमीनमा
मानौं, विज्ञापन हो समय पनि
खस्कँदो लोकप्रियतासँगै उँधोमुण्टो हुने
शहरकी नायिकाको होर्डिङ्-बोर्डहरू जस्तै
मरणासन्न राजधानीको ब्यस्त चौकमा
के थाहा !
पुनः फेरिनेछन् फगतले ठडाएका होर्डिङ्-बोर्डहरू
अनि, तोडिनेछन् आरोहणहरू
ऐतिहासिक शालिकहरूजस्तै समयको प्रहारमा,
किनभने, तातिने क्रममा छन्
जितेको ठानेर सर्वस्व
हिजो गुमेकाहरू पनि खोज्दै अधिकार सडकमा
त्यसैले, अवका समयहरूसँग
अनुदित होइन हामीले
परिष्कृत बन्दै जानुपर्छ
अतः
लाल-त्रासदीबाट मुक्त अहिले र यहीँबाट,
बस्ती, शहर र समग्र मुलुकमा
कमरेड ! आस्थाका फूलहरू फुलाउनुपर्छ
शान्ति एवं सदभावनाको तुलहरू टाँग्नुपर्छ
एकता एवं प्रेमका होर्डिङ्-बोर्डहरू ठडाउनुपर्छ,
नत्र, देशको अर्को दुर्भाग्य !
फेरि दुख्नेछन् मुटुहरू
कुल्चिनेछन् तरूनी सपना र
गुराँसका रक्तिम थुङ्गाहरू
बल्झिनेछन् चोट र घाउहरू,
अनि, पलायन हुनेछन् भविष्यहरू,
ठिङ्ग एक्लै चिन्तित
विस्थापित एउटा मन
इ…! हेरिरहेछु-
उभिएर अघिल्तिर
मरणासन्न राजधानीको ब्यस्त चौकमा
हावामा लहराउँदै माथि उचालिएका
कमरेडका दाहिने हातको मुट्ठी
रङ खुइलिँदै गरेको तुलहरूमा
उप्कँदै गरेका जर्जर भित्ताहरूमा
अग्ला होर्डिङ्-बोर्डहरूमा
कमरेड ! त्यो मुट्ठीलाई
मेरो पनि सलाम !
तर, लालहीन स्वेत सलाम !
रक्तपातविहीन आस्थाको/शान्तिको
सदभावनाको/एकताको प्रेमको
कमरेडलाई निख्खर स्वेत सलाम !!
(प्रथम “पोखरेली झ्याल” कविता वाचन प्रतियोगितामा दोश्रो भएको कविता)
हङकङ ।
(स्रोत : Bagaicha.com)