यी आँखाको लयमा
युद्ध खोज या शान्ति
यति बेला म भने
लय हरायर
बत्तिको शिखा मुनी आफैलाइ खोजिरहेछु
भित्ता भरि नाराहरुमा बाँचेको जिन्दगी
घाम पानीले खुइलिएर
सहरका चम्किला घरहरुको ऐनामा चम्किरहेछु
कसैसँग उधारो लिएर समय
सडकमा बालिएका टायरहरुको
एक मुस्लो धुवासँगै उडाइरहेछु
यसैबेला
समयको ऐनालाई च्यातेर
छानोबाट चिहाई रहेको घामले
मेरो लाजलाई झनै उदाङ्गो पारीरहेछ
र म एक क्षितिज मरुभुमि बाँचेर
हरेक दिन चुल्होमा
सपनाहरु बालिरहेछु
यी आँखाको लयमा
घृणा खोज या प्रेम
यति बेला म आफै बिक्षिप्त छु
धुन हराएर गीतहरुमा
चुडिएर तारहरु यत्रतत्र छरिएका छन् जिन्दगीका
रोएर खसेका आँशुको एक तलाउ प्रेम
हिउँका ढिक्का जसरी जमेका छन्
कुल्चेर जानेहरुको पाऊको नाप यो छातीमा
मलाई थाहा छ
सम्हालेर राखेको छु
ति डोबहरु
यति बेला म युद्धका घाउहरुमा मलहम लगाइरहेछु
पर्खाइको एउटा अग्लो पहाड चढिरहेछु
र भिरहरुमा जिवनको चौडाइ नापीरहेछु
फेरी आउने घोषणा-पत्रहरुको आखाँले
म बसेको झुप्रो देख्लान् नदेख्लान्
यति बेला म भने पिढीमा बसिरहेको छु
र दिउँसै खोलेर आखाँहरु सपना बुनिरहेछु
साँच्चै तिमी युद्ध खोज या शान्ति
घृणा खोज या प्रेम
यति बेला मैलै जिवन रोइरहेको देखेकोछु
यति बेला मैले देश दुखिरहेको देखेकोछु
बिझाउँदै समयसँगै
यि आखाँको लयमा …….
– तेजविक्रम कार्की, चन्द्रनिगाहपुर-१, रौतहट
August 4, 2013
(स्रोत : Tej Bikram’s Notes )