नाम ? सर्वनाम ? विशेषण ? क्रियापद ? आदि इत्यादिको एउटै नाम हो काठमाण्डु । यसलाई कसैले राम्रो भन्दैनन् तर यसलाई छाड्न पनि कोहि चाहदैनन् । दिनभरि आमासँग झगडा गरेर बेलुका निदाउन आमाकै काख खोज्ने बालक जस्तै लाग्छन मलाई काठमाण्डु सराप्ने मान्छेहरू । यही काठमाण्डुको मुटुमा गाडिएका छन् दुई वटा खम्बाहरू । खम्बा एक – घण्टाघर, खम्बा दुई – धरहरा । खम्बा एक अलिक सानो छ तर मोटो छ । खम्बा दुई अलिक अग्लो छ तर पातलो छ । खम्बा एक अरुको लागि काम गर्छ । घामलाई मुठीमा निचोरेर समयको अमृत निकाल्छ र दुनियाँलाई बाँड्छ । खम्बा दुइ एउटा बाँचेको इतिहाँस हो । पहिले खम्बा दुई देशकै सबैभन्दा ठुलो खम्बा हो अरे तर आजभोलि अपार्टमेन्टहरूमा चढेर हेर्यो भने खम्बा दुई हाम्रो घरको जाँतो को मानी जत्रो मात्र देखिन्छ । यसपालिको काठमाण्डु यात्रामा खम्बा एक देखि खम्बा दुइसम्म निकै बेर लगाएर यात्रा गरें । आज बल्ल थाहा भो बर्षौ देखि समयले मलाई नै बिछ्याएर त्यहि माथिबाट हिड्न सिकाएको रहेछ ।
यात्रा आरम्भ :
खम्बा एक बिहानै उठ्यो र उठायो – बास्न सिक्दै गरेको भालेलाई, देश खाँदा खाँदा बढी भएर पखाला लागेका एक हुल बिरामीलाई, हाम्रो सरकारको भाषामा सर्वसाधारण जनतालाई र उठायो भर्खरै मात्र भोको पेटमा गम खाएर आफ्नै पैतालामा निदाएको बच्चालाई पनि । मैले सुनेको खम्बा एक निदाउदैन केवल ब्यूँझिन्छ र ब्युझाउछ मात्र । यहाँबाट मेरा पाइलाहरू अगाडि लागे ।
आम्मा मा………..मान्छेलाई कत्रो हतार । आउनुस सर हजारको को समान मात्र सयमा….आउनुस सर…..आउनुस……. । मान्छे आफूले बनाएकाहरू प्रति यति विश्वास गर्न थालेछ कि आफैलाई विश्वास गर्न छाडेछ । हजारको समान सयमा भन्नुपर्ने ठाउमा झुक्किएर समान सयमा मात्र भन्छु कि भन्ने डरले मान्छे घाँटीमा एउटा स्पिकर झुण्डाएर बसेको छ । उनीहरूलाई देखेर होला रत्नपार्कमा खुब हासिरहेको थियो एउटा समयको तस्वीर ।
उक्त बोल बजार नजिकै दुख प्रदर्शनी मार्ग छ । जहाँ मर्नुको मज्जा बिर्सेर बच्नुको कष्ट खेपेर बसेका छन् केही जोर टाउकाहरू । मैले टाउकाहरू भनेर एकमुस्ठ भन्नुको आशय टाउको चाहि सबैको थियो । कसैको खुट्टा थिएन,कसैको हात थिएन त कसैको टाउको र अलिकति ज्यान बाहेक अरु केही थिएन । यसलाई कसैले अपमान नासंझिदिनु होला । मैले एउटा टाउकाको जीवन खोतल्न खोज्दा टाउको स्पिकर झैँ फररर बोल्न सुरु गर्यो र भन्यो रु पचास । सोचें, आजसम्म कति जना लेखकले बनाए होलान उसको छाती माथि महल ? टाउको चिने झैँ गरी हेर्छ प्रत्यक चेहेरालाई ता कि उनीहरू अघिल्लो जन्ममा उसकै आफन्त हुदा हुन् । उसको जिवनको मुख्य उध्यश्य नै धेरै समय बाँच्नु र धेरै जनालाई हेरेर आफ्नो बनाउनु हो । मान्छे हेर्नु बाहेक उसको अरु कुनै कम नै छैन भन्दा पनि हुन्छ । अरुलाई हेर्नकै लागि पनि कोही यहाँ बचिरहेको छ भनेर मैले कहिल्यै सोचेको थिइन । हामीहरू आफ्नै लागि बाँच्दा पनि ठिक संगले बन्च्दैनौं उनीहरू अरुको लागि पनि बडो इमान्दारीका साथ बाँचिरहेका छन् ।
यहाँसम्म आउदा खम्बा एकले सहरको एक चक्कर लगाइसकेछ ठुलो स्वरले चिच्याएर मन हलुका गरायो । खम्बा एक प्रत्यक घण्टा सहर घुम्छ र एक पटक मन हल्का गर्न ठुलो स्वरमा भक्कानिन्छ ।म फटाफट पाइला सारेर अलि अगाडि पुगें ।
आँखामा कालो चस्मा लगाएका एक हुल मान्छेहरू ठुलै उत्सब हुदै छ कि जस्तो गरी गीत गाइरहेका थिए । गीतको बोल “कान्छीलाई घुमाउने काठमाण्डु सहर”…….। सायद उनीहरूलाई थाहा छैन होला आजकाल काठमाण्डु घुम्न आएका कन्छिहरूसँग काठमाण्डु घुम्छ । उनीहरू संसार देखेका छैनन् र पनि संसारकै वर्णन गरेर गाउनु पर्छ किनकि उनीहरू आफ्नो लागि गाएका होइनन् । आंफ्नो गीत पनि गाएका होइनन । अर्को तर्क, उनीहरूले सहर देखेका छैनन् र मज्जाले सहरलाई गाउन सक्छन यदि देख्थे त घाँटीमै अड्किन्थ्यो । मैले आजभन्दा एक वर्ष अगाडि मात्र मादल र खैजडीमा देखेको त्यो झुण्ड अहिले त माइक स्पिकर र हर्मोनियममा पो भेटियो । सायद उनीहरूलाई पनि मन पर्न छाड्यो जिन्दगीको क्लासिक् धुन । उनीहरूले बुझ्न सिकेछन मान्छेको चाहना । दिनभरि गाउदा पनि थकान उनीहरूसँग शरण लिन आउदैन । आजकाल पानीले उनीहरूको घाँटीमा बसेर प्यास मेट्छ । मृत्यु उनीहरूलाई जीवनको संगीत सिकाउछ ।
संगीत केन्द्रसंगै जोडिएको छ एउटा बृदा आश्रम । यो मान्छे राख्ने बृदा आश्रम होइन । यो त किताब हरुको बृदा आश्रम हो । उमेर पुगिसकेका पुराना पुस्तकहरुलाइ मृत्यु पूर्व अन्तिम पटक यहाँ ल्याएर बिक्रीमा राखिन्छ । यहाँ उनीहरुको मूल्य जन्मदाको भन्दा निकै कम हुन्छ । अक्सर साहित्यकारहरु पसलमा गएर पुस्तक हेर्ने र किन्न चाही यहाँ आउने गर्छन ।
अब त म लगभग खम्बा दुई को नजिक पुगिसकेको रहेछु । घामको बैश चड्न थालेको थियो । एक हुल मन्दिरका घण्टहरू भोक बजाउन थालिसकेका थिए । हाम्रो बनेको धर्ममा हो या बनाएको धर्ममा एउटा कुरा मलाई असाध्यै अनौठो लाग्छ । ढुंगालाई भोक लाग्छ, ढुंगालाई संगीत मन पर्छ र ढुंगालाई शृंगार पनि राम्रो लाग्छ । ढुंगा घण्ट बजाएर संगीत सुन्छ, मान्छे उसलाई आफ्नो भोक चडाउछ ।
आर एन ए सी पछाडि मन्दिरमा चडाएको लड़डुलाई एक बालकका आँखाहरू खुब मज्जाले खाइरहेका थिए । सायद उसले सानोमा आमाले सुनाएको देउती आमाको कथा सम्झियो । मनले लागिसकेको हात पनि दिमागले निकालेर आफ्नो बाटो लाग्यो । यो मेरो त्यही देश हो जहाँ छाला को मान्छे भोको हुन्छ ढुंगाको मान्छे अघाउछ । त्यहि देश हो जहाँ भूपीले कविता लेख्छन ।
बाटो छेउ एउटा लामो वीर मृत्युकुन्ज छ । केही थान मृत्यु पत्र भर्खर हावाले उडाएर त्यहाँ भित्र पुर्याएको थियो । थाह छैन पत्रमा नाम क-कसको छ । मृत्यु कुन्जको गेटमा टाँसिएको थियो देशमा राम्रो काम गर्ने हरु पहिला । मेरो मनले खुसुक्क मलाई भनिरहेको थियो पत्र तेरो पनि तयार नै छ । ढिलो चांडो भन्ने तेरो काममा भर पर्छ ।
म लगभग दुई घण्टा लगाएर खम्बा दुई अगाडि आइपुगें । भत्केको बिरासत लिएर खम्बा दुई एक टकसँग सिंहदरबारलाई हेरिराखेको थियो । अपार्टमेन्टको झ्यालबाट मान्छेहरू उसको टाउकोमा पिसाब फेर्छन । ऊ थाहा नपाएको जसरी मौन बस्छ । मान्छेहरु उसको उचाइको प्रशंसा गर्दा उसलाई आत्मग्लानी हुन्छ । ऊ एउटा इतिहास बोकेर वर्षौ देखी उभिएको छ इतिहास जोगाउनु उसको जिम्मेबारी हो । उ सहरको एक अग्लो स्तम्भ हो यसकारण उ सहरको धेरै चिज देख्छ । सायद त्यसैले आजकल निदाइरहन मन पराउछ ।
वास्तबमा काठमाण्डु सहर एउटा कोलाज हो । प्रत्यक मान्छेको जिवनशैलिको टुक्रा टुक्रा मिलेर सहरको पूर्ण सभ्यता बनेको छ । धरहरा र घण्टाघर तिनै मध्यको दुइ टुक्रा हुन् । यो सिंगो सहर खुसीले हाँसिरहेको जस्तो देखिन्छ तर यो भित्रका अधिकांश टुक्राहरू खुशी छैनन् । यहाँ मान्छे धरहरा भएर पनि खुसी हुन सक्दैन । धेरै जना घण्टाघर जसरी अरुका लागि बाँचेका छन् । उनीहरू पनि खुशी छैनन् । यहाँ एकजना मान्छे मात्र खुशी छ त्यो आफुलाई रत्नपार्कको मालिक भन्छ, सबैले भन्छन उसको दिमाग छैन ।
(स्रोत : Ratopati)