~सुरेश रानाभाट~
माझीहरूले
माया गरे
गुलाफ जामुनका फूल हुन् भनेर
त्यही फूल जलकुम्भी भएर
छालसरि ताललाई नै ढाकिदियो ।
घँसिनीहरूले
जतन गरे
दूधिलाका फूल हुन् भनेर
त्यही फूल बनमारा भएर
सारा जङ्गलभरि फैलियो ।
अग्रजहरूले
विश्वास दिए
आगो हाम्रो आस्था हो भनेर
त्यही आगो तनभरि सल्काइदिए
भर्भराउँदो भुङ्ग्रोमा मिल्काइदिए ।
सहयात्रीहरूले
हात दिए
समवेत् यात्राको मित्र हो भनेर
त्यही मित्रले डडुल्नो निलिदियो
लात हान्दै शत्रुसित मिलिदियो ।
जनताहरूले
मान्दै आए
विष्णुको अवतार हो भनेर
त्यही अवतारको नकाव अगाउने मान्छे
बनिरहेको छ रगत पिउने नरभक्षी भान्से ।
गोठालाहरूले
बाँसुरी बजाएर
सर्पहरू काली नाग भएर आए
श्रद्धाले माली गाईको दूध खुवाए
अन्ततः विश्वासघाती काला सर्पहरूले विषै विष ओकले ।
(स्रोत : साहित्य संग्रहालय )