सोचेँ-
यस्तो कविता लेखूँ
जो कसैले नबुझोस्
लेखिएका,
अक्षर हुन् कि भन्ने परोस्
देखिएका,
शब्द हुन् कि भन्ने लागोस्
तर
अक्षरको अनुहार
शब्दको सार
कसैले नबुझोस्
सधैँ-
जे देखेँ
त्यही लेखेँ
जे भोगेँ
त्यही पोखेँ
जानिएन,
हेराइभन्दा भिन्न दृष्टिकोण बनाउन
सिकिएन,
भोगाइभन्दा भिन्न अनुभव संगाल्न
यसपाला
आफूले देखेको कसैले नदेख्ने गरी लेख्छु
आफूले भोगेको कसैले नछुने गरी लेख्छु
किनभने
मेरो भोगाइ सधैँ तरुण नहुन सक्छ
मेरो हेराइ सधैँ करुण नहुन सक्छ
एकान्तको मेरो सुसेली
जमघटलाई नपच्न सक्छ
अशान्तको मेरो सुस्केरा
सरगममा नरम्न सक्छ
सोचेँ
यस्तो कविता लेखूँ
जो कसैले नबुझोस्
(स्रोत : Paniphoto.com)