तिमीले नागरिकता लियौ
बाबुको नाम, थर पायौ
तिमी नागरिक हुनसक्यौं ।
तिमीले फेरि नागरिकता लियौ
तर थर फेरिएर पायौ
नागरिकको दर्ज्यानी बढेर
कुनै बहादुरको बहादुर्नी
कुनै डाक्टरको डाक्टर्नी
कुनै पुलिसको पुलिस्नी
वाजसको बन्यौ
उसकै नामको लिङ्गी पायौ
नागरिकको ‘ना’ हरायो
स्वास्नीकोे ‘नी’पायौ ।
तिमी नेतृत्वबाट च्यूत भयौ
पुच्छ्रे परिभाषामा लिप्त रह्यौ ।
तिमी जन्मिएको घरबाट नागरिक भयौ,
तिमीअन्मिएको कारणबाट नोकर भयौ
नोकर यस अर्थमा –
तिम्रो विवेक, भावना, स्वच्छन्दता
तिम्रो आशा, भरोसा, भौतिकता
नयाँ थर र लिङ्गीपाएको उत्सवमा
संस्कारगत समर्पण भयो ।
तिम्रो जीवन र जोवनअर्पण भयो
नागरिकताले…।
जब एउटा अवसर आयो
तिम्रो लाम्टा चुसेका
रगत, पसीना र ममत्व लुटेका
तिम्रा प्राण हंशकाहक स्थापित गर्न
तब तिम्रो काम हरायो ।
हो नि अस्ति तिम्रो थर हरायो
हिजो तिम्रो नाम हरायो
आज तिम्रो काम हरायो ।
तिमी कसको नागरिक
कहाँको नागरिक ?
सापटी लिङ्गी लिएकी
नबाबु न बहादुरकी भएकी
वंश र अंशका औंसियार नभएकी
बेनाम अनामिकाबाट
नागरिकता कसले पाउँछ र ?
काठमाडौ
(स्रोत : Chakrapath )