‘गमका खजाना तेरा भी है मेरा भी
ये नजराना तेरा भी है मेरा भी… ।’
– (जगजीत/लता)
जब-जब गजलका तिनै सेरहरू अति जतनसाथ आवाजमा पाउजु चलाउँछन्, म शून्यमा बस्न पुग्छु । अर्थात् यसदेखि बाहेक कतै छँदै छैन अर्को स्वर्गीय सतह ! शब्दको ढाढस कतिसम्म न्यानो हत्केला भएर शिरमा नरम मालिस बन्न सक्छ, यही गजलले मलाई प्रवचन दियो । यसको तालले आफ्नो बेताललाई कहाँसम्म प्लास्टर गर्छ भने, घाउको चिराचिरा स्वतः मखमलको स्वाभाविक जुनीमा फेरिइसक्छ ।
मानौँ हामी जिन्दगी नामको प्रतियोगीतामा कुदिरहन्छौँ र एउटा-एउटा खजानाको तिर्खाले रन्थनी छुटेर बहुलाइरहन्छौँ । यस्तो बहुलाइरहनुको निरन्तरता त्यहाँसम्म चालू भइरहन्छ, जहाँहाम्रो समग्र दौडको अघिल्तिर एक मान्छे खरानी वा माटोको चिता वा खाल्डो जम्काभेटमा देखिँदैन । खजाना भेट्ने लफडामा हामी जिन्दगीलाई सुमसुम्याउन छाडेर एकैचोटि मृत्युको काखमा सुहाउँदो बच्चा बन्न पुग्छौँ क्यार । तर लफडैलफडाको धुनमा सँगालिन आइपुगेको हाम्रो दुःखको भने कुनै तौल रहन्न । संवेदनाको चौकिल्ला छल्दैछल्दै तौलको हिसाब निकाल्ने त्यसो त हामी जुँगामुठे व्यापारी पनि होइनौँ । यद्यपि यही दुःख पनि त यात्राभरि कमाएको र हाम्रै भागको खजाना हो नि, माथिको गजलले यस्तै केही भन्छ सायद । र, यस्तो निर्विवाद खजानाको धनी आफू एक्लै पनि त होइन नि ! म पनि तिमी पनि… । साथी भएपछि कहीँ नभएको कहाली ब्युँताएर सुर्ताउने के नै काम ?
यसैकारण आत्माको इनारमा तृप्तिको फिँज उठ्छ ।
जिन्दगीमा हामीलाई छडीले छुलुक्क पारीपारी पाठ पढाउने गुरु दुःखहरू निकै हुन्छन् । हामी अनुभूतिमा नोट गरिरहन्छौँ । गुरुको अपेक्षा त हामीलाई सदा रहन्छ नै । गुरुकै कुरामा, बालापनमा तिनले कति-कति हाम्रा बदमासीका अघि पनि आँखा चिम्लिँदै उल्टै मिठाइ टक्र्याएर फकाएका छैनन् (थिएनन्) र ? दुःखहरू पनि ती गुरुभन्दा कुनै मानेमा कम छैनन् । तिनले यात्राभरिको रङ्गीविरङ्गी मन्डपमा हाम्रो सिर्जनशीलताको सिउँदो भरेर समाजमा निर्भीक भएर हिँड्न भरपर्दो रेखा दिन्छन् । भने, दुःख बेकामी हुन्छन् नै कुन अर्थमा र ? प्यारा गुरु दुःखहरू.., जसले हामीलाई कुनै मोडमा खुत्रुक्कै बसाए पनि सम्हालिएर चिप्लिनलाई सरल ‘लिक’ दिए ।
भित्ताको तस्वीरमा एकपटक हाँसेको त्यो रुप र त्यही पल छाडेर हामी हिँड्दै गर्छौँ अघि झन् अघि …। तर तस्बिर उस्तै गरी हाँसिरहन्छ । तस्वीरमा कैद हुनुको कुनै अपशोच त्यस चेहरालाई हुन्न । कारण, त्यही त त्यसको स्वाभाविकता हो क्यार । अर्थात् फ्रेमको चार कुनामा स्थिर जीवन रच्नु । दुःखको फ्रेमभित्र हाम्रो यात्रा पनि त्यस्तै तस्वीरजस्तो स्वाभाविक लाग्छ । यही दुःख त रहेछ अन्तरङ्ग साथी, जसको आडमा हामी सुख र चैनको झिल्कादार आतिसबाजीलाई झट्ट नियाल्न भ्याउँछौँ-सक्छौँ ।
कसैले भनेको छ कतै- ‘फकाउने मान्छे भएसम्म जति रिसाए पनि कुनै फरक पर्दैन ।’ हामीमध्ये धेरैजसो त्यस्तो फकाउने मान्छे नभएर निस्ताउँछौँ । घरमा बसिरहँदा ‘खाजा खायौ ? खानुपर्दैन त बदमास मान्छे ?’ भन्ने गाली सुन्न नपाएर भोकै दुब्लाउँछौँ । कलेजमा कक्षा सकिएपछि घर फिर्ने बेलामा ‘बाइ है फुच्चु !’ भन्ने बिदाइ-सम्बोधन नपाएर एक्लिन्छौँ । ‘राम्रो नाटक चल्दा पनि तिमीबिना त्यो नाटकघरमा भूतघर बेहोर्नलाई जान मन लागेन’ भन्ने समभाव व्यक्त गर्ने आत्मीय साथी नपाएर हुरुक्क बन्छौँ । आफू मन दुखाएर अनाम नदीको किनारैकिनार एक्लै बहकिइरहँदा खोजी गर्ने कोही नहुँदा पटक-पटक मर्छौँ ।
– तर दुःख त अपेक्षाभरि सधैँ साथै हुन्छ ।
– कुनै गुनासोलाई मनबाट निकासी गर्नुपर्दैन ।
– हैरानीलाई पकेटमा च्यापेर हिँड्ने मौका मिल्छ ।
May 30, 2009
(स्रोत : Dautari )