~पुष्प आचार्य~
चीसो
टलक्क कालो
सलल्ल
अए,
यो जिरिङ्ग रात !
छेवैबाट झस्काइदिन्छ
फिसिक्क जम्काभेटमा मुस्काए झैं
के ओठ तन्काओस् थरर्र हल्लिएको मुटु
हुँदैन
सकिँदैन आँखा चिम्लन
मुसोजस्तो घामलाई
रात्रिमध्यमै
चिल्लो
कालो
झसङ्ग अन्धकारले
दुलैभित्र कतै सुलुत्त नपारिदेओस्
अए,
यो जिरिङ्ग रात !
(स्रोत : साहित्य संग्रहालय )
