~प्रशान्त खरेल~
सर्सराउँदो हावाको झोक्का
एकैपटक सोहोरिएर कसिंगर बढार्न खोज्दैछ
भित्र बसेर महलको ढोकामा
छेस्किनि लगाउन खोज्दैछ
समयको त्रासदीमा बाँचेको अजिङ्गर
ए मानवहरू हो जुरूक्क उठ अब
यस पटक पनि समय संत्रस्त छ
समयको बन्धकि राख्नेहरू देखि साबधान ।
चोक र गल्लिहरूका बृक्षहरूमा चियो बस्दै
पातहरूका सुसेलीलाइ त्रस्त भएर सुन्दैछ
रातको अन्धकारको घुम्टो भित्र लुकेर
काँचुली फेर्ने कोशिसमा लागेको अजिङ्गर
बगैँचामा डढेलो सल्काउने तानाबाना बुन्दैछ
ए नर नारीहरू हो, कम्मर कस अब
यस पटक पनि समय संत्रस्त छ
बगैँचामा पुल्ठो झोस्नेहरू देखि साबधान ।
खोला, नाला, पैनी र खोल्साहरूमा
प्वाल बनाएर लुकेको कायर अजिङ्गर
प्यासी निमुखा प्राणिहरूको बाटो ढुकेर
प्राणहरण गर्ने धृष्टताकासाथ
कुटिल चाल चाल्दैछ हुँडारहरूसँग मिलेर
ए पशुपालक र रक्षकहरू हो, कटबाँस समाउ अब
यस पटक पनि समय संत्रस्त छ
सार्वभौम अधिकार मास्नेहरू देखि साबधान ।
बदला, ब्यभिचार, अपराध र बेथितिको कल्पनामा
दिउँसै सपना देख्दै विच सडकमा सुतेको अजिङ्गर
समता, सह अस्तित्व र समान स्रोतका
हाम्रा इच्छाहरूलाइ यहि समयसिमा सँगै
निमिट्यान्न पार्ने दिवास्वप्नमा बाँचेको छ
ए हाम्रा अस्तित्वका रक्षकहरू, पट्टि हटाउ अब
यस पटक पनि समय संत्रस्त छ
समानता बिरोधिहरू देखि साबधान ।
स्वतन्त्रता बिरोधिहरू देखि साबधान ।।
सह अस्तित्व बिरोधिहरू देखि साबधान ।।।
मुलभुत न्यायका बिरोधिहरू देखि साबधान ।।।।
प्रशान्त खरेल
गौरादह – ४, झापा
(स्रोत : Shabdahar )