सम्झनाका धेरै धेरै
पलहरू जोडिएर
एउटा नदी बगीदिन्छ हृदयमा
एकै छिन छाडेर जिन्दगीको सबै हिसाबहरू
म बेगले उर्लिदिन्छु
बेहिसाब
तिम्रो मनको डोबै डोब
भन म के जवाफ दिउँ ?
घुम्ती मोडहरुमा भेटीनेहरूलाई
सोध्लान ?
यो आधा जिवन लिएर
तिमी हिड्ने बाटो कहाँसम्म पुग्ला ?
सडक किनारका ति निला फूलहरू
उसैगरी फुल्दै छन्
त्यो रुख मुनि
उभिएको एउटा आभा
अझै उसै गरी पर्खिए झै लाग्छ
बतासको मिठो सुस्केरासँगै
तिम्रो पछ्यौरीको सुगन्ध
वारी
किनार नाघिरहेको मन
अझै उसै गरी छोएर गए झै लाग्छ
पर बादल छुने गरी उडेका पंक्षीहरू झै
म उडेर तिमी सम्म पुग्न सक्छु सक्दिन ?
जीवनको यो गोरेटो हिडेर
तिमीलाई भेट्न सक्छु सक्दिन ?
भन म के जवाफ दिउँ ?
घुम्ती मोडहरुमा भेटीनेहरूलाई
सोध्लान ?
यो आधा जिवन लिएर
तिमी हिड्ने बाटो कहाँसम्म पुग्ला ?
छामी हेर्छु यो छाती भित्र
मेरो भन्नु यै ढुक ढुकी पनि किन हराएको होला ?
बतासीएर वेगले हावासँगै
त्यो पछ्यौरी बादलुको
कुन देश पुग्यो होला ?
खोलाको किनारै किनार हिडे भने
नदीसँग सँगै म विलिन हुने
मेरो आफ्नै समुन्द्र होला की नहोला ?
मैले विसाएर भारी यो जिवनको
निदाएर तिम्रै काखमा
एकै छिन सुस्केरा मार्ने
त्यो चौतारी
झरीसँगै बगेर
कहाँ पुग्यो होला ?
भन म के जवाफ दिउँ ?
घुम्ती मोडहरुमा भेटीनेहरूलाई
सोध्लान ?
यो आधा जिवन लिएर
तिमी हिड्ने बाटो कहाँसम्म पुग्ला –
बुझेको छु अध्यारै नहुने भए
यति विघ्न मोह
उज्यालोको कहाँ हुन्थ्यो होला र –
बग्दै नबग्ने भए आँशुको
कहाँ कुनै मोल हुन्थ्यो होला र ?
पानी भएको भए सायद
मरुभुमिको तिर्खा कस्ले सम्झिने थिए र ?
जवाफ निस्कने भए
जिन्दगीकै पनि हिसाब किताब
कस्ले गर्थ्यो र ?
फेरी पनि आज बेहिसाब
बगेर जिन्दगीमा
बेगले उर्लिरहेकै छु
तिम्रो मनको डोबै डोब
भन म के जवाफ दिउँ ?
घुम्ती मोडहरूमा भेटीनेहरूलाई
सोध्लान ?
यो आधा जिवन लिएर
तिमी हिड्ने बाटो कहाँसम्म पुग्ला ?
‘हरायका ति लाखौ गुमनाम जिन्दगीहरूमा समर्पित’- मेरो यो एउटा कविता
– तेजविक्रम कार्की, चन्द्रनिगाहपुर-१, रौतहट
(स्रोत : Tej Bikram’s Notes )