सधै जसो म हिड्ने बाटो
आज मै सम्म हिडेर आइपुगेको छ
र सोध्दै छ – कहाँ लैजान्छौ भनेर
गोरेटै गोरेटो जिवनको
पतझड जङ्गल हुँदै
घिस्रिदै लछारिदै सपनाहरु हरायर आफ्नै सहरमा
मै सम्म आइपुगेर सोध्दैछ
मैले झुन्ड्याएर हिडे पछी
तिमी कसरी बाँच्यौ भनेर
प्रत्येक पलहरु जो मलाइ कुल्चदै हिडे
जस्ले पहाड जस्ता सुन्दर पर्खालहरु
मेरो भागमा कोसेली दिए
जहाँ म बाँच्नु थियो
जहाँ हिउँको एक विस्कुन चिसो माया थियो
जहाँ भिरालो उत्तिकै थियो
तल बग्ने कोशी मलाइ नै पर्खदै थियो
थुप्रै थुप्रै पलहरु गुमाएर
बाँच्नुको अर्थ भुलेको
चिठ्ठी हराएर रित्तो भएको खाम जस्तै
बाँच्नुपर्ने थियो मैले
या बग्नुको सौन्दर्य गुमाएर
निरन्तर बागमती झै
धुमिल हाँस्नु पर्ने थियो
मैले फुलहरु झै ओइलाउनु पर्ने थियो
मैले खहरे झै सुक्नु पर्ने थियो
उभिएर फ्युज भएको ल्याम्प पोष्ट झै
अन्धकारमा आफ्नै बिरानी बेच्नु पर्ने थियो
या पहिरो भै भत्किएर
तिमी भित्र जुन हासेको खुशी छर्नु पर्ने थियो
साँच्चै मैले आफ्नै छायाँ
लिलाममा राखेर बेच्नुपर्ने थियो
जहाँ धिप धिप बत्तीको मधुरो उज्यालो थियो
जहाँ सडक किनारमा बेवारिसे हुनु थियो
जहाँ मन्दिरबाट हराएको जुत्ता थियो
साँच्चै त्यँहा मलाई खोज्नेको भिड थियो
सपनाहरुले उचालेको जिन्दगी
बर्षात भएर खेतका गराहरुमा पुर्याए पछी
हिउँको एक बिस्कुन चिसो मायालाई
गुराँस फुलेर भिरहरुमा सजाए पछी
अध्यारो चिरेर क्षितिजबाट
उज्यालो चुहिदै गर्दा
हिउँको ढिस्को भरि माया पोखेर
मैले तिम्रो घृणालाई प्रेमले सुम्सुम्याउँदै
रित्तो खाम भित्र सजाए
जहाँ भित्रबाट मेरी प्रेमिकाको मिठो मुस्कान हराएको थियो
र जब जब म कमजोर भए
तिम्रो घृणालाई छोएर मैले आफुलाई बलियो बनाए
यसरी सधै मलाई घृणा गर्ने साथीबाट
यो जिन्दगी बाँच्ने गोरेटो कोरे
जहाँ घृणा भरी तिम्रो प्रेम थियो
जहाँ मैले हिड्नु थियो
जहाँ मलाई तिम्रैमात्र भर थियो
हो उ मेरो असल साथी थियो
साँच्चै म आफुलाई भन्दा साथी
तिमीलाई गुमाउने डर थियो !
– तेजविक्रम कार्की, चन्द्रनिगाहपुर-१, रौतहट
August 4, 2013
(स्रोत : Tej Bikram’s Notes )