दशैँमा समेत दशैँ खर्च नपाएको झोँकमा गर्दै आएको काम छोडेर नरमानले नयाँ काममा हात हाल्यो । काम त के नयाँ भन्नु, उही मजदुरी न हो, साहूको पसलमा । तर ठाउँ नयाँ, साहू नयाँ, साथीहरू नयाँ, परिवेश नयाँ र शायद ज्याला नयाँ ।
दशैँ जस्तो भए पनि तिहार राम्रै बित्ने भयो भन्ने सोचेर नरमान दंग पर्यो र तिहारको किनमेलको योजना बुन्न थाल्यो ।
′बुबा मलाई एक जोर नयाँ जुत्ता ′ दशैँदेखि भन्दै आएको उही कुरो दोहोर्याई छोरीले ।
छोरो बोल्यो, ′मलाई जसरी भए पनि मोबाइल है बुबा ′
स्वास्नी बोलिनँ । तर उसको ठाउँ ठाउँमा टालेको धोतीले सबै बोलिरहेको थियो । नयाँ आश लिएर नरमान आज काममा हिँड्यो । दिनभरी पसलमा काम गरिसकेपछि ऊ साहूको अगाडि पुग्यो र बिन्ती बिसायो, ′साहूजी, तिहार मुखैमा आइसक्यो … ′
उसले वाक्य टुंग्याउनै परेन । ′ए, भुसुक्कै बिर्सेछु, एकछिन पख है ′ यसो भन्दै साहू भित्र कोठमा गयो र एकछिन पछि एउटा खाम ल्याएर नरमानको हातमा थमाइदियो । दंग पर्दै नरमानले खाम खोल्यो । खामभित्र एउटा रंगिन शुभकामना कार्ड थियो ।
(स्रोत : Merosrijana)