कथा: त्यो पूर्ण चन्द्रको रात

~प्रकाश चन्द्र लोहनी~

पूणिर्माको दिन। दिनभरि गाउँमा जजमानी काम गरेर म थकित भएर घर र्फकंे। सामान्यतया यसरी साँझपख घर फर्किदा मेरी श्रीमती निर्मला गोठमा भएका तीनवटा गाईको स्याहार सुसारमा व्यस्त रहन्थिन्। तर त्यो दिनको दृश्य त्यस्तो थिएन। निर्मला गोठमा थिइनन्। घर पनि शून्य थियो। मलाई मनमा चिसो पस्यो। के भयो? पक्कै कतै गोलमाल छ। यस्तै प्रश्न गर्दै भर्‍याङ उक्लिएँ र बार्दलीमा पुगें। बार्दलीमा रहेको खाटमा निर्मला आँखाभरि आँसु लिएर बसिरहेकी थिइन्।

‘किन रोएर बसेकी,’ मैले आश्चर्य मानेर सोधें।

‘हाम्री छोरी कमला र मीना विक माओवादीमा भर्ना भए रे,’ उनले भनिन्। मेरो तालु चिसो भयो। ‘त्यो कसरी सम्भव छ र यो सत्य हो भने कसरी भयो?’ मैले प्रश्न गरें। छोरी माओवादी लडाकु जत्थामा भर्ना भई भन्ने कुरो विश्वास गर्न मेरो मन मानिरहेको थिएन।

निर्मलाले एक टकले मतिर हेरिन् र भनिन्, ‘खोइ म के जानूँ। आज दिउँसो स्कुलबाट आई र अब म र केही मेरा साथी नयाँ नेपाल बनाउन माओवादीमा भर्ना हुने भनी।’

मैले सोधें, ‘के हो यो नयाँ नेपाल भन्ने जन्तु?’ बलिन्द्रधारा आँसु बगाउँदै निर्मलाले भनिन्, ‘मलाई के थाहा।’

अब के गर्ने? मैले सोच्न सकिनँ। निर्मलालाई सम्झाउने शब्द पनि पाइनँ। म आफै विलखबन्दनमा थिएँ।

समय बित्दै थियो। कमलाको बारेमा केही कुरा थाहा भएन। थाहा पाउन पनि कहाँ जानु। एक दिन एउटा खबर आयो। कमला बन्दुक बोकेर अरू छापामारासँगै देउराली भन्ज्याङको जंगलमा छ रे। फेरि अर्कै खबर आयो जुन मेरा लागि अझै दुःखदायी थियो। देउराली भन्ज्याङका पुराना मित्र कालुजंग गुरुङको घरमा माओवादीले हमला गरेछन्। माल सामान लुटेपछि घर जलाइदिएछन्। कालुलाई जासुस भन्दै लिखु खोलाको बगरमा लगेर उनको घुँडामाथि बन्चरो हानेर हिँडेछन्। कालु मरेनन् तर अपांग भए।

सुनेँ, ‘त्यस ठाउँको माओवादी छापामार कमान्डर कमला हो रे।’ यस्तो कुरो पनि के साँचो होला र? कालु हाम्रो घरमा आउँदा काका आउनुभयो भनेर कमला खुसी हुन्थी। कसरी उनको टोलीले कालुमाथि त्यस्तो निर्दयी प्रहार गर्‍यो होला? मेरो कमला यस्तो काममा कसरी संलग्न भइहोली? कल्पना गर्दा पनि जीउ काम्न थाल्यो।

त्यसको केही दिनपछि बेलुकी खाना खाएर सुत्ने तयारी गर्दै थिएँ। अचानक तल ढोकामा जोडदारसँग ढक्ढक्याएको आवाज खायो। डराईडराई मैले झ्यालबाट बाहिर हेरें र भनें, ‘को हो? यसबेला राति अर्काको घरमा ढोका किन घचघच्याएको?’ बोल्दा आवाज दरो गरे पनि मेरो निधारमा पसिना आइसकेको थियो। त्यो अँध्यारोमा मैले कति मान्छे थिए भन्ने देख्न सकिनँ। १०/१२ जना थिए होलान्।

यत्तिकैमा तलबाट एउटा कठोर आवाज आयो, ‘वासु पण्डित भनेको तैं होस्?’

कसैले मलाई गाउँमा तँ भनेको थिएन।

तर मसँग रिसाउने तागत थिएन। जवाफ दिएँ, ‘हो यो गाउँमा पण्डित भनेको मै हुँ।’

तलबाट आवाज आयो, ‘ल ठीक छ, तुरुन्त तल ओर्ली। हाम्रो तँसँग कुरा गर्नु छ।’

डरले ओठ तालु सुक्दै गइरेको थियो। तैपनि भनेँ, ‘होइन यस्तो मध्यरात छ। तपाईंंहरू को हो र म तल आउने?’ बहादुरीका साथ यति भने पनि मैले जे परे पनि तल ओर्लिन नहुने देखिसकेको थिएँ।

त्यसपछि तलबाट बन्दुकजस्तै गरी आवाज पड्कियो, ‘ए पण्डित तैंले नखोले हामी ढोका फोरेरै भित्र पस्छम्। अनि तैंले दुःख पाउँछस्। ढोका खोल्दैनस् भने तेरो जीउको भाँचिएको हाडखोर यही घरको छ फिट तल गाडी दिन्छम्।’

मैले कुरो बुझें। ढोका नखोली नहुने भो भनेर तल ओर्ले। ‘ल ल हुन्छ। मेरो हाडखोर तिमीहरूले गाड्नु पर्दैन, म ओर्लं,’ बहादुरीका साथ यस्तो घोषणा गर्दै ढोका खोलेँ। मेरो अगाडि बीस वर्ष जतिको एउटा अग्लो केटो थियो। उसले नेपाली सेनाको ड्रेस लगाएको थियो र उसको हातमा बन्दुक थियो। उसको अनुहार गम्भीर थियो। उसले डरलाग्दो किसिमले हेर्‍यो र सोध्यो, ‘तेरो छोरीको नाम कमला हो?’

‘हो, तर मेरो छोरीको नाम किन सोध्दै छौ,’ भित्र डराए पनि बाहिर दरै आवाजमा मैले भनें।

‘अब धेरै बुज्रुगी कुरा नगर। तँलाई खुब थाहा छ। अब सिंगो जीउ राखेर बाँच्ने हो भने भन् तेरो छोरी कहाँ छे?’ उसले बन्दुकमा हात राखेर भन्यो।

अब मलाई पनि झोंक चल्यो। अघिसम्मको डर पनि हरायो। मर्नै पर्ने भए किन डराउनु? म पनि कस्सिएँ र चिच्याएँ, ‘एउटा नागरिकलाई मध्यरातमा आएर गाड्छु भन्ने? कमला मेरी छोरी हो र ऊ घर छोडेर गएको चार महिना भयो र म आफै उसको खोजी गर्दै छु। तिमीहरू सरकारका मान्छे हौ भने मेरो छोरी कहाँ छ मलाई बताइदेऊ।’ यति भन्दा भन्दै मलाई कमलाको हँसिलो अनुहार आफ्नै अघिल्तिर देखेजस्तो लाग्यो। अनि मैले आफूलाई रोक्न सकिनँ। मेरो आँखाबाट खोलै जसरी आँसु बग्न थाल्यो।

‘धेरै नखरा नपार। तँलाई थाहा छ तेरो छोरीले कति मान्छे मारी? हामीलाई थाहा छ, यो लामिछाने गाउँको पारिपट्ट िकोल्टी डाँडामा माओवादी छन्। नाटक नगरी त्यो डाँडामा हामीलाई बाटो देखाएर हिँड्,’ त्यो सिपाही निर्देशनात्मक रूपमा गर्जियो। मलाई जान मन थिएन। भनें, ‘यो मध्यरातमा कसरी जाने? बाटो असाध्यै गाह्रो छ।’

सिपाही साँच्चिकै रिसाएर गर्जियो, ‘रात छ भन्ने मलाई पनि थाहा छ। अब खुरुक्क हिँड्।’ म अगाडि लागें।

मेरो घरबाट पारि कोल्टी पुग्न ओरालो थियो। बाटो सानो थियो र अलिकति खुट्टा चिप्लिए सिधै सिधुरे खोलाको बगरमा पुगिन्थ्यो। भाग्यले पूर्ण चन्द्रमाको रात थियो। बिस्तारै हामी सबै ओर्लिएर सिधुरे र डाँफे खोलाको दोभानमा पुगेम्। वरिपरिको वातावरण शान्त थियो। खालि खोलाको कलकल मात्र सुनिन्थ्यो। चन्द्रमाको उज्यालोमा देखिएको जंगल पनि शान्त थियो।

दोभान तरेर कोल्टीपट्ट िउकालो चढ्न थालेम्। म अगाडि थिएँ। मेरो पछाडि बन्दुक बोकेका सिपहीहरू थिए। माथिबाट अचानक बन्दुक चलेको आवाज आयो। मकै भुट्दाजस्तो गोलीको पर्रा छुट्यो। मैले कहिल्यै बन्दुकको आवाज सुनेको थिइनँ। आवाज सुन्दा मेरो होसै उड्यो। ज्यान जोगाउन म दौडन थाले। कता दौडने भन्ने पनि मलाई याद भएन। दक्षिणपट्टिको गोरेटोमा म भएभरको बल निकालेर दौडें।

अलि पर एउटा युवकको शरीर गोरेटोमै तेर्साे परेर लडेको थियो। म रोकिएँ र त्यो मान्छेको मुख हेरें। त्यसको छातीमा गोलीले ठूलो भ्वाङ पारेको थियो। भर्खरको युवक कलिलो र सुन्दर थियो। उसको छातीबाट अझै रगत बगिरहेको थियो र उसका आँखाहरूले एकनास आकाशतिर हेरिरहेका थिए। तिनमा कुनै आवेग थिएन।

म त्यो युवकको शरीरनिर गएर उभिएँ र घुँडा टेकेर सोधें, ‘तिम्रो घर कहाँ हो?’ अनि मैले झल्यास्स सम्झें, यो त त्यही युवक हो जसले दुई घन्टाअघि मेरो घरको ढोका घच्घच्याएको थियो।

युवकले मुस्किलले मुख खोल्यो र आँखाभरि आँसु लिएर बिस्तारै भन्यो, ‘मेरो नाम रामकृष्ण मगर हो, घर रोल्पा।’ त्यसपछि ऊ केही क्षण रोकियो र भन्यो, ‘बाजे अब मेरो आखिरी आयो। घरमा बा आमा छन्। मेरो आमालाई तपाईंले भनिदिनु…।’ यति भन्दाभन्दै उसको स्वर बन्द भयो। मैले उसको नाडी समातें, ऊ मरिसकेछ।

अब के गर्ने? म अन्योलमा परें। उसको आँखा बिस्तारै बन्द गरिदिएँ। उसको अनुहार फेरि हेरें। यो होनहार भर्खरको नौजवानको आज किन यस्तो गति? मसँग उत्तर थिएन। म के गर्न सक्थें र ! एकछिन रोएँ। मलाई लाग्यो त्यो गोली उसको छातीमा मात्र नभएर मेरो छातीमा पनि पस्यो।

चारैतिर गोली चलेको आवाज थियो। म फेरि दौडें। मेरो खुट्टाले भुइँको कुनै ठोस पदार्थसँग ठक्कर खायो। म भुइँमा लडें। उठेंं र फेरि दौडिएँ। अचानक मलाई लाग्यो, त्यो ढुंगा थिएन। त्यो अलि नरम थियो। मेरो मुटु चिसो भयो। म टक्क रोकिएँ र फर्किएँ। बिस्तारै नजिक गएँ। त्यो मान्छेको शरीर रहेछ। शरीर घोप्टिएको थियो र अनुहार देखिंदैन थियो। मलाई लाग्यो यो मैले देखेको र चिनेको मानिस हो। डराईडराई मैले त्यसलाई उत्तनो परें र अनुहार हेरें।

म स्तब्ध भएँ मानौं मेरै मृत्यु भयो।

त्यो अनुहार मेरी छोरी कमलाको थियो। उसको कुम र पेटमा गोली लागेको थियो। दुवै ठाउँबाट रगत बगिरहेको थियो र पीडाले ऊ बिस्तारै ऐया ऐया भनिरहेकी थिई। कमलाले मतिर हेरी। एकक्षणका लागि मलाई लाग्यो, उसको अनुहारमा मन्द मुस्कान देखियो। त्यो रातको सुनसानमा म चिच्याएँ।

‘बाबा तिमीलाई यो कसले गर्‍यो?’ मेरो छोरीको टाउको मैले दुई हातले उठाएँ र आफ्नो काखमा राखें। कमलाको सास अझै थियो। उसको आँखाको चमक अझै गएको थिएन। उसले मतिर हेरेर भनी, ‘बाबा हजुरलाई मैले धेरै दुःख दिए, अनि आमा…’ यति भन्दाभन्दै उसको आवाज रोकियो र आँखाबाट आँसु बग्न थाल्यो।

‘आमालाई के भन्न खोजेकी छोरी तिमीले?’ मैले पीडाको आगोमा दनदनी बलेर यो प्रश्न गरें। बडो मुस्किलले कमलाले भनी, ‘आमालाई भनिदिनुस् म गएँ। अब नयाँ नेपाल…’ त्यसपछि कमलाको दुई आँखा आकाशतिर फर्किए। उसका गालामा बगेका आँसु बिस्तारै उसको शरीरको रगतले भिजेको माटोमा एक हुँदै थियो।

(स्रोत : Ekantipur)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.