~नारायण सुवेदी~
‘चुनाव ता फेरि पनि आइयो नि रामकली बहिनी!’
‘अँ क्या दिदी! पाँच वर्ष गइसकेछन् नि भोट हालेको पनि!’
‘गए त बहिनी। जान त गए। तर कति धौ–धौसित गए भने त यै मनलाई थाहा होला। सुखीका दिन छिटो जान्छन् रे। दुःखीका दिन कष्टले ढिलो जान्छन् भन्छन्। केके न हुन्छ, केके न पाइन्छ भनेर भोट हाल्न गइयो।
मैलेमात्रै तीनटा भोट हालेको हुँ। मेरो मनले त झेल गर्न मानेन बहिनी। आफ्नो पालोमा भोट खसालेर बाहिर आएको थिएँ, त्यो हाम्रो वडाको इन्चार्ज सिएस भन्नेले खैनीले औठाको रङ पुछिदिँदै, ‘जाऊ फेरि तिम्री जेठानीको नाममा भोट खसाल’ पो भन्यो। म ता यत्रै गइनँ।’
‘अँ क्या, हाम्रो सिएसले पनि हामीलाई त्यही त भन्या हो नि। ‘त्यहाँ कसले चिन्छ र? भएका नभएका सबैको नाममा भोट हालेपछि पो हाम्रो पाटीले जित्छ। पाटीले जितेपछि हाम्रै सरकार बन्ला र हाम्रो माग पूरा हुन्छ’ भन्थ्यो। मैले होला त भनेर तीनपटक भोट खसालेँ। तर के ने भो र? पापमात्रै बोकियो दिदी!’
‘दुःख बोक्ने पनि हामी, पाप बोक्ने नि हामी। नेता भनाउँदालाई उहिले नि मजा। अहिले नि सुख!’
‘अँ क्या दिदी! हामीलाई त सधै उस्तै!’
‘यसपालि त मलाई भोट हाल्न मनै छैन के!’
‘अँ त दिदी। हाम्रो गाँउको पहिलेको इन्चार्ज भन्नेले चुनाव बहिष्कार गर्नुपर्छ, भोट हाल्न जाने होइन भन्छ रे। माओवादी र उसको पाटी फुट्या छन् रे त।’
‘भागबण्डा नपुगेर कुर्ची नपाएर त फुट्या होलान् नि। हामीलाई हेर्ने छैनन्, आफ्नो माग र आफ्नै भुँडी भर्ने ता हुन्।’
…………………
‘अँ दिदी! एमाले भन्ने पार्टी छ नि! त्यसले झन् विधवा भत्ता, वृद्ध भत्ता दिएको रे। त्यस्तो काम गर्ने पार्टी पनि राम्रै हो नि।’
‘यी कुरा तिमी र मेरोबीचमा मात्रै है। अरूले सुन्लान्!’
‘छलफल गर्न के भयो र? एमाले पार्टी त पुरानो कम्युनिस्ट रहेछ। भए पनि क्रान्तिको बाटो छोडेर गद्दारी गरेको पार्टी भनेर गाली गर्थ्यो हाम्रो नेता भनाउँदाले।
‘आफूका ती को सद्दे पार्टी हो रे? दस वर्षसम्म लडेर केही न केही! आफै क्रान्ति छोडेर भाग्ने। शान्तिमा लागेर सबै पाइन्छ भन्ने अनि अरूलाई दोष दिन पाइन्छ?’
तालीको ठूलो गडगडाहट सुनियो। दुवै मौन भएर एकछिन सुनिबसे।
‘सुन्यौ दिदी चुनाव जितेपछि म मन्त्री बन्छु रे। गरिब जनताको सेवा गर्ने रे …।’
‘पहिले पनि मन्त्री भएकै हो। के रातो पार्योर र अहिले धाक लगाउँछ।’
‘यसको भाषन नसुनम् है दिदी! जाम अब घर। आफ्नो बानमा आँटो कसले हालिदिन्छ र?’
‘हुन्छ बहिनी! भाषन तर जुन दिन सुनियो–सुनियो।’
‘चुनावको दिन भने भोट हालेर निस्केपछि पो भेट भयो दिदी–बहिनीको!’
‘आबुई दिदी! म त अघि तिमीलाई कता छ्यौ भनी हेरिराखेको थिएँ। आइनौ कि भन्ने लागिराखेको थियो।’
‘किन नआउनु! नआएर सन्चो पाइन्छ र?’
‘म ता घरको काम भ्याउन झट्टै फर्कूंला भनेर आएको भोट हाल्न निकै ढिलो भयो। बहिस्कार गर्ने पनि भोट हाल्न आएछन्। पैसा खाएका रे दिदी। नेता सबैलाई सुख, सम्पत्ति पुगिगयो, अब केलाई जनता चाहियो? जनयुद्ध पनि भैगो, कुर्सी पनि पाइयो, मन्त्री पनि खाइयो, सम्पत्ति पनि नाति–पनाति पालासम्म पुग्ने गरि कमाइयो। अब केलाई …’
तालीको गडगडाहट सुनियो। सायद नेताजीले भाषन गर्न थाले होलान्। यता यी दुई दिदी–बहिनीको पीडा साटासाटमा त्यो रौनकता फिक्का छ।
‘साँच्ची दिदी तिम्रो पो के कसो छ नि?’
‘उही त हो नि! दुइटा छोरा हुन्। एउटा माओवादी जनसेना भएर गएको घाइते भएर आयो। अपांग छ। अर्कोले पाँचसम्म पढ्यो र छोड्यो। खेतीपाती गर्न नमान्ने। त्यही अपांग भत्ता पाइएको थियो, त्यही पैसा हालेर बाहिर देश पठाएको तीन वर्ष भयो। न मान्छे आउँछ, न पैसा। एक्लै घर गृहस्थी। बिजोग छ बहिनी!’
पर फेरि तालीको गडगडाहट सुनियो। दुवै एकछिन विस्मृत भए आफ्नै पीडा सम्झेर। केहीबेर माइकको आवाज निकै चर्को भयो। नेताले आफू अन्तर्राष्ट्रिय स्तरको नेता भएकाले जित्नैपर्ने र नजितेमा अन्तर्राष्ट्रिय बेइज्जत हुने कुरा सुनाए!
‘तिमी हामीजस्ता यही पार्टीको पछि लागेर दुःख पाएका देशभरि कति होलान्। युद्धको नाममा अनाहकमा मारिएका, लुटिएका, धपाइएका कति होलान्। अस्ति काग्रेसका नेता आएका थिए। हाम्रो पार्टीले कसैलाई दुःख दिन्न। शान्ति, सुख दिन्छ। तपाईंहरूले त्यत्रो दुःख गर्नुभयो आखिर के पाउनु भयो? लोग्ने, परिवार, सम्पत्ति केके गुमाउनुभयो। उही दुःख, पीडा! अँासु!’ भन्दै थिए। मलाई ता त्यो पार्टी नै मन पर्योग बहिनी!’
……………………………
धुमधाम गाजाबाजा बज्न थाले। जिन्दावाद र मुर्दावादका शब्दघोषले आकाश थर्क्यो। नेताजी मख्ख परेर अबिरको टीका र हेजारीको माला ग्रहण गदै मञ्चतिर पाल्नुभयो। सकी–नसकी बालक–बूढा सबैले ताली ठटाए। हात मुठ्ठी पार्दै र फुकाएर हल्लाउँदै नेताजी मुखै च्यातिने गरी हास्ँनुभयो।
‘यो मान्छेको त मलाई अनुहार हेर्न पनि मन लाग्दैन दिदी! यसैले मच्चाएर मेरो बूढा पार्टीमा लागे। सेनामा लागेर कहाँकहाँ लड्न गए। आखिरमा म्याग्दीको लडाइँमा मारिए …’
‘चुनावमा हाम्रो पार्टीलाई जिताएपछि सबै भइहाल्छ, जनवाद आइहाल्छ भन्ने पनि त यही हो नि बहिनी! युद्धले सबै फेर्छ, नयाँ सिर्जना गर्छ, कोही दुःखी–गरिबी हुन्न, सबैलाई खान–लाउन पुग्छ, राम्रो घर, छोराछोरीलाई सरकारले पढाउँछ, जागिर लाउँछ भनी भाषण गरेर जनता अल्लमलाएर त्यत्रो दस–दस वर्षसम्म नि कहाँ कटायो।’
‘अँ क्या! चार प्रहर सुतेर सोह् प्रहर काम गर्दा पनि नपुग्नेलाई आठ घन्टा काम गरे पुग्छ, खान–लाउन सरकारले दिन्छ, हाम्रो सत्ता आएपछि सबै पुग्छ भनेर आश देखाए। आफूले खाई–नखाई उनैलाई पालियो। लोग्ने, छोराछोरीलाई उतै लगाइयो। सेना–पुलिसको लात्ती खाइयो झन्डै मरियो। आखिरमा केही न केही।’
उता मञ्चमा औपचारिकता सुरु भयो। आसनग्रहण। माल्यार्पण, मौनधारण।’
‘दिदी उता गएर टाढै बसौ! यस्ता भाषण कति सुनियो कति! मनै मरेर गए केको मौनधारण हो!’
दिदी–बहिनी शीतलमा गएर लामो सुस्केरा हाले।
…………………………….
गाँउघरमा यसपटकको चुुुनावको रन्को अलि ढिलो शुरु भयो। पाँच वर्षअघिभन्दा यसपालि चुनावको प्रचार पनि सजिलो भयो। उहिले जस्तो उम्मेदवारलाई लखेट्ने, धपाउने काम पनि भएन। रातदिन जनता खेर्दै नारा–जुलुस गर्ने काम पनि भएन। अर्काको पार्टीको कार्यक्रममा नजाऊ भनेर पनि भनेनन्।
‘आफ्नो पार्टीको कार्यक्रममा त जाने पर्यो रे। जिल्लाका सबैभन्दा ठूला नेता, अरू केन्द्रका नेता उठेका छन् रे यसपालि। अघिल्लो पालि त उनी यो ठाउँबाट उठेनन् रे। आफूभन्दा ठूला नेतालाई यो ठाउँ छोडिदिएर आफू अर्कै ठाउँबाट उठेका रे।’
यी दिदी–बहिनीको दोस्रो भेटका लागि चुनाव पर्खनु परेन। पार्टीको आमसभाले भेट पनि जुराइदियो। मन खोलेर कुरा गर्ने समय पनि जुराइदियो।
‘आबुई दिदी! तिमी पनि आइछ्यौ नि सभामा!’
‘आबुई बहिनी! कस्तो संयोग। यही चुनावको प्रचार र नेता आउने कुराले जुरायो!’
‘यो सभामा न आए पाँच सय खारा तिर्नुपर्ने रे। कि तीन दिनको भारा, कि पाँच सयको खारा!’
‘अँ क्या, ऊ तिनीहरूलाई हेर त! ‘हामी त वैद्य पक्षका हौं, बहिस्कार गर्छौं’ भन्थे आज झारा कि खाराको करले सबै आएका!’ नेता तिनै, तिनका अरौटे–भरौटे तिनै। तिनका सिद्धान्त उही, युद्धकालको बानी ब्यहोरा उही। शासन उही। के फेरिएको छ र बहिनी?’
………………………
‘मभन्दा चार–पाँच वर्षले कान्छी हौली! तर कति बूढी देखिएकी तिमी।’
‘होला ता नि दिदी! बूढा छैनन्। छोरो पार्टीमा नलाग भन्दाभन्दै लाग्यो। अहिले केही काम छैन। हल्लिएर बस्छ।’
‘छोरी नि बहिनी!’
‘उहिले पार्टीको सभा–नाटकमा खुब नाच्थी। उः बेला उतैका मान्छेसँग पोइल गइछे। अहिले कहाँ छे पत्तो छैन।’
‘खोजखबर गरिनौ?’
‘के कुरा गर्छेउ दिदी! तिम्रो लोग्ने बेपत्ता भएको थाहा लाग्यो र? पहिले जनयुद्ध जितेपछि खोजखबर गर्छौं भने, पछि शान्ति सम्झौता गरेपछि बेपत्ता परिवारको खोजी गर्छांै भनेका हुन कि हैनन्? न तिम्रो लोग्नेको पत्तो लाग्यो, न मेरी छोरीको।’
‘अँ बहिनी! सरकार बनाएपछि पत्ता लगाउँछौं, घरैमा ल्याएर बुझाउँछौं, बेपत्ता पार्नेलाई कारबाही गर्छांै, पत्ता नलागे क्षतिपूर्तिको व्यवस्था हुनेछ, बाँचुन्जेल खान–लाउन पुग्ने पेन्सनपट्टा बनाइदिन्छांै भन्थे। सबै ठग्ने, ढाँट्ने गरिब जनता मार्ने मेलो।’
‘आफू कसरी ठूलो मान्छे बन्ने, जनतालाई कजाएर कसरी शासन गर्ने भन्नेमात्रै ता रैछ नि दिदी।’
‘तिमीले त सहिद भत्ता पनि नौ लाख पाइछौ त बहिनी!’
‘केको हुनु! नौ लाख पाइने भो भनेर फोटो खिच्न पठाए। सिफारिस, कागजपत्र केके हो केके! कतिपल्ट सदरमुकाम धाइयो। बल्ल पहिलो साल एक लाख दियो, अर्को साल एक लाख।’
‘दुई लाख ता पाइछौ नि। हामी केही नपाउनेलाई भन्दा त।’
‘पाइयो मात्रै भन्नु। पार्टीलाई त्यही पैसाबाट चन्दा, सदरमुकाम जाँदा–आउँदा खर्च। आखिर क्यै न क्यै। त्यो पनि विदेशीले दिएको रे। अब त नदिने भएछ नि।’
………………………..
‘बहिनी तिमीले केमा हाल्यौ त भोट?’
‘आ दिदी! मलाई त भोट हाल्ने मनै थिएन। करले आएको। रद्द पो गरिदिएँ।’
‘साँच्चै बहिनी! मलाई त कसैलाई भोट दिन मन लागेन। बरु सबैलाई छाप लगाइदिएर आएँ।’
…………………………..
सुवेदीको ‘१०० दिन माओवादी कब्जामा’ पुस्तक प्रकाशित छ।
(स्रोत : Nagarik News )