~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~
चौतारीमा साईकल अड्याउँछ
र एकैछिन सियाँलले जिउ भिजाउँछ ।
जुवाडेहरुको छेउ बसेर
आखाँ तन्काई तन्काई सत्यले हेर्दैन;
खेल्नु त परै जाओस् ।
‘कुन रङ बोल्ने ?’
वास्तवमै सत्यले तासको रङ चिन्दैन,
सत्य बेकम्मा भएर बस्दैन ।
यत्ति थाहा छ;
परिश्रमको रङ रातो हुन्छ ।
पसिना रगत बग्छ ।
सत्य बोलिदिन्छ: कालो !
तासको खालमा हाँसो उठ्छ ।
बैशाखको उत्पात धूपमा
सत्य बरफ बेच्दै थियो र
हातदेखि मुखसम्म
पुल बनिरहेको थियो ।
‘ओए देशी!
ओए धोती! रोक्!!’
यस्तो बोलावट धेरै सुनिन्छ,
सुनिन्छ मात्रै;
उ नसुने झैं गर्छ ।
सत्यले कहिल्यै
घामबाट जोगिन खोजेन ।
उ का…लो हुँदै गयो;
केहिल्यै नमाझेर पनि
उसका दाँतहरु सेता हुँदै थिए ।
पान खाने आदत डाल्यो
र दाँत पहेला बनायो ।
इत्रिएका केटिहरु जिस्क्याउँछन्:
‘फेयर एन्ड ह्याण्डसम लगाउ’
उ मुसुक्क हाँस्छ र साईकल तान्छ ।
(कहिलेकाहीं उकालो/ओरालोमा
साईकलले उसलाई तान्न खोज्छ ।)
‘टुटे फुटे फलामके डन्डे
खाली सिसा, प्लाष्टिक,
बियरका बोत्तल
कापी, किताब,
ठण्डे बरफ,
खस्ताक्राडी मामफुली’
घरको यादमा
तिर्खा लागेको सम्झदैन ।
हरेक घरको पिंढीमा उ
आफ्नी बिबी देख्छ ;
हरेक बाटोमा माटो खेलाईरहेका
आफ्नै बालबच्चा देख्छ ।
अन्तिम प्रहर
यौटा चोकमा केटाकेटीहरु सगँ जिस्किन्छ
बिग्रेका बरफका टुक्राहरु बाँड्छ
र तिनका ओठहरुका कोमल फूलहरु हेर्छ
र पेटमा ताण्डव गरिरहेको भोकसगँ सम्झौता गर्छ ।
सत्यले केटाकेटी बिगार्यो रे
सत्यले केटाकेटी ठग्यो रे
सत्यले मोहनी लगायो रे
‘ओए धोती!,अबदेखी
यो गाउँमा आइस् भने गोदाई खान्छस्’
सत्यले सोच्छ-अब नून बेच्छु ।
रेडियोमा
आयोडिनको विज्ञापन सुनिन्छ ।
उजस्तै सत्यहरु
दिनभर रिक्सा चलाउँछन्;
दिनभर हलो जोत्छन् ।
अँध्यारोमा लुक्छन् असत्यहरु
साँच्चै,
सत्यहरु घामदेखि कहिल्यै डराएनन् ।