हेर ममा घाउ नै घाउको खाटा छ साथी
भित्र मनभरी ठूलै ज्वारभाटा छ साथी
यो जिन्दगी पनि खै के जिन्दगी भन्नु ?
बाचेको छु तर पलपल घाटा छ साथी ।
……………………………………………………….
मेरो सम्पत्ती – हिरा मोती सुन मेरी आमा !
धर्तीकी फूल आकाशकी जून मेरी आमा !!
‘एक नै सर्वस्व’ संसार हराभरा बनाईराख्ने
यो एकै श्रृष्टीकी पनि श्रृष्टी हुन मेरी आमा !!!
……………………………………………………………..
हो मान्छे दुख-पीडामा पनि नाचेको हुन्छ
किन कि पीडामा अतित बाचेको हुन्छ
केहि न केहि त घटेकै हुन्छ जिवनमा
अनि त्यो अतितमा कोहि हासेको हुन्छ ।
………………………………………………………….
त्त्यो तिम्रो यो मेरो कथा एकै हो कि
उसै गरि बल्झिने ब्यथा एकै हो कि
खुकुरीको धार बनि बगिरैछ दरौंदी यो
चिरिएर बाच्नुपर्ने जेथा एकै हो कि !
…………………………………………………….
गर्छु जन्म मृत्यू समर्पण तिमीलाई
दिन्छु जिवन सारा अर्पण तिमीलाई
म त रित्तो, के पो छ र मेरो भन्नु ?
सुम्पिए जगत यो कण कण तिमीलाई ।
………………………………………………………..
यो श्रृष्टीमा आकाश र धर्ती खै किन बनायो होला ?
एउटालाई जून अर्कोलाई धुलो दिन बनायो होला !
को हो श्रृष्टीकर्ता ? -भगवान ? किन गर्छ पक्षपात ?
अनि सानो र ठूलो , धेर र थोर नापिन बनायो होला !!
प्रकाश क्षणिक ,गोरखा
July 16, 2010
(स्रोत : Sahitya Batika )