ओ, सुलतान हसनल !
हामी दुवै एउटै रंगको सपना देख्दा रहेछौँ
पहेँलो रंगको ।
तिम्रो ग्यारेजमा राखिएका
सात हजार कारहरुमध्ये
कतिवटा कारहरु सुनले बनेका छन् ?
सुनेकी छु तिमी सुनकै कारमा सवार हुन्छौ रे
तिम्रो वस्त्र, आभूषण, भाँडाकुँडा, बैठक कक्ष, शयन कक्ष
सबै सुनै सुनले बनेका छन् रे !
मलाई त शंका छ
कतै तिमी शौच पनि सुनकै कमोडमा त गर्दैनौ ?
ओ, सुलतान हसनल !
सुनै सुनले बनेको
तिम्रो बोइङ विमानको चुम्बकीय चर्चा मेरो देशमा पनि चल्छ
झन् बेवली हिल्सको बरन्डामा
तिम्रा सुनका कथानकहरु कति-कति अवतारमा प्रस्तुत हुँदा हुन् !
सुलतान हसनल !
सपनाको रंग एउटै भए पनि
तिम्रो पहेँलो रंग सुनको रंग हो
मेरो पहेँलो रंग बेसारको रंग हो ।
फगत नुन र खुर्सानी हालेको तरकारीमा
जब एक चिम्टी बेसार घोलिन्छ
मेरी बुढिया र बालाहरुको अधरमा फुल्छ अक्षय मुस्कान
र, त्यही तरकारीजस्तै रंगीन बन्छ मेरो जिन्दगी ।
सिंगो जिन्दगी बाँच्न
यही एउटा बेसारको पहेँलो रंग काफी छ मलाई ।
सुलतान हसनल !
जब प्रत्येक दिन भान्सामा
सुमसुम्याउँछे बेसारको डिब्बालाई मेरी बुढिया
र, सन्तुष्ट भावमा एक भकारी नजर फ्याँक्छे ममाथि
मलाई आफ्नो पहेँलो रंगको सपनाको झनै माया लागेर आउँछ ।
आश्चर्य त त्यति बेला लाग्छ
जतिबेला मेरी बुढियाको बुच्चो नाकसँग
तिम्री रानी सलेहाका रहरहरुले कोल्टे फेर्ने अनुमति माग्छन्
माफ गर सुलतान
मेरी बुढियाको गलामा
तिम्रा परित्यक्त मरियम र हकिमका निश्वासहरुको माला सुहाउँदैन ।
सुलतान हसनल !
गर्न त हामी दुवै एउटै रंगलाई प्रेम गछार्ंै
फरक यत्ति हो:
पहेँलो रंगको प्रेमले
म झन्झन् बलियो हुँदै छु र तिमी झन्झन् कमजोर !
(स्रोत : नेपाल साप्ताहिक )