~जयन्ता पोखरेल~
बोक्न मन छ !
छातीमा आकाश अड्याउनु कसरी ?
खस्दै छ मुट्ठीबाट हतास
बगिरहन्छ आँखाबाट सम्झनाको मीठो तरेली
मुर्दा बनाउनु कसरी ?
थोरै प्राप्तिको चहकिलो आभास ।
लतपतिएर माटोसँग हुर्कंदै छन् मुटुका टुक्राहरु
नाबालक अनुहारको भाग्यमा
टुहुरोपनाको आफ्नै फोटो देखेर
मर्न झुन्ड्याएको पासो
खोलेर भन्छे कमली:
म आत्महत्या गर्दिनँ !
कालो रातमुनि घात अंशमा छाडेर
स्निग्ध वैँशलाई हिलोझैँ हिल्याएर
अन्तै सर्यो उसको सिन्दुर ।
खुसीको मलामीमा टोलाइरहँदा
उमेरको कलिलो गुनगुन
सन्दुकभित्र सुकसुकाउँदा उत्साहको जून
अँध्यारो साम्राज्यमा
हिम्मतको टुकी बालेर भन्छे कमली:
म आत्महत्या गर्दिनँ !
छिनमै, तरल भएर बग्ने/छिनमै पहाड भएर डट्ने
एकदम, फरक हुन्छ आमा मन
स्नेहले उमार्न सक्छ आशाको हरियो सुमन
इच्छाले खोजिरहँदा जीवनसँग छुटानाम
द्विविधाको चाकाचुली ओर्लिएर
हिँड्दै छ कमली, आगोको राजमार्ग ।
उसकै निम्ति भोलि उभिन सक्छ बिहान !
उसकै निम्ति भोलि उभिन सक्छ घाम !
उसकै निम्ति भोलि नुहिन सक्छ सम्मान !
समस्याको कसिलो अँगालोमा
लुलिने हरेस
तङ्ग्राएर भन्छे कमली:
म आत्महत्या गर्दिनँ !
(स्रोत : नेपाल साप्ताहिक )