मलाई मात लागेको थियो । प्रेमको मात । आफ्नो प्रेमको लागि आत्महत्या गर्ने मात । एकछिन घोरिएँ तालको गहिराइतिर फर्किएर । यो त्यही ताल हो जसको किनारमा बसेर उनी र म गफमा घण्टौ बिताउँथ्यौं । सोचेँ ‘उसले मलाइ आफ्नो सोच्न चाहिन यति समयसम्म भने अब म उ भनेर के बाचौं, फेरि उ बिना बाँच्न पनि त सक्दिन, तड्पिनेछु धेरै, जिन्दगीभर ।’
बाँच्ने इच्छा नै रहेन । मात जो लागेको थियो । मृत्युको मात । उसलाई सम्झिएँ फेरि । माया त गरेको थिएँ मैले । लाग्छ अहिले पनि, धेरै । उसको लागि भनेर म संग भएको सबै माया पोको पारेर छोडिदिन पाए हुन्थ्यो जस्तो लाग्यो। उसंग मेरो लागि भनेर माया नभएपनि मैले छोडिदिएको मायाले उसलाई कहिले एक्लो आभास नहोस भनेर । तर सम्भव नै छैन ।
उभिएँ किनारमा । लामो सास लिए। आँखा चिम्म गरेँ । खुट्टाले जमनिलाई तलतिर धकेलिदिए र आफु माथितिर उफ्रिए। कानमा हावाले एक प्रकारको आवाज सृजना गर्यो । स्वाट्ट !!! सास ठप्प पारे । अनि छप्ल्याङ्ग !!!
पानीमुनि पुगेपछि आँखा खुला राख्ने प्रयत्न गरे। भरसक जसरी हुन्छ पानीले नै मलाइ क्षति होस् र चाडै सास छोड्न पाउँ भन्ने लाग्यो । त्यही भएर आँखाबाट नै पानी पसोस भनेर आँखा खुला राखे । हात खुट्टा चल्दै थिए । नचलिदिए हुन्थ्यो भनेर सक्दो चलाइन । शरीर छट्पट्टिदै थियो ।
छप्ल्याङ्ग !!! अर्को आवाज आयो । म फाल हान्दाकै ध्वनी प्रतिबिम्बित भएछ भन्ठानेँ । तुरुन्तै सोचे – अह, हैन ।के होला त रु आखा खुल्ला थियो त्यही भएर हेर्न भ्याएँ । हतारिए म । मर्ने चाहना हराएर गयो । मैले बाँच्नै पर्छ केही छिनलाई भएपनि भन्ने लाग्यो । ‘उनले त किन फाल हान्न पर्यो ?’ यस्तै सोच्दै उनको शरीरलाई एक हातले जोडले समातेर किनारातिरा पौडिएँ । पानीमा फाल हानेर नै मर्छु भनेर सोच्नुको एउटा कारण यो पनि थियो कि यदि अन्तिम प्रहरसम्ममा केही गरी बाँच्ने इच्छा जाग्यो भने पौडिएर पनि बाँच्छु ।
किनारामा ल्याएँ उसलाई । मन आत्तिरहेको थियो । उसको हात मुसारे । पेटमा जोड जोडले थिचेँ, उसको मुखबाट पानी आयो । केही छिन पछि आँखा खोली उसले । उसको आखामा धोका छचल्किरहेको थियो । मलाई दिएको धोका हैन । उसले पाएको धोका । उसका आखाले भन्दै थिए ‘मलाई उसले धोका दियो, मैले तिमीलाई दिए जस्तै धोका ।’
हो उ मलाई मन् पराउदा पराउदै अरुलाई नै माया गर्न थालिसकेकी थिई । त्यही भएर मलाई मृत्यु को मात जो लागेको थियो । धोका पाइछ उसले पनि । उसले मलाई दिएको धोका जस्तै । उसको मुखबाट सबै सुनिसक्दा मेरा आसु झर्न थालिसकेका थिए । उसले मलाई जोरसँग अङ्गालो हाली । मैले पनि साथ दिए उसलाई । मनमा एउटा गीतको हरफ गुन्जिरहेको थियो, ‘तिमी भएर मात्रै जिन्दगीमा मजा छ ।’
(स्रोत : Chakrapath )