आज रजत जयन्ती ।
आँखा, तँ बन्द हो-
तेरो नक्कलझक्कलको आज के काम ?
कान तँ टालिई-
तेरो सुँघ्ने शक्तिलाई आज बिर्सिदे
यो उत्ताउलो फूलले लटरम्म वसन्त त होइन ?
दशै इन्द्रियहरू, आफ्ना आफ्ना थान्का लाग ।
तिमीहरूको घमण्डको पखेटा
आज काटिदिन्छु ।
जोसित इच्छा छ उसैसित सोध ।
सबै एकै स्वरमा जबाफ दिनेछन् !
“आज हाम्रो आनन्द दिवस हो-
यो दिन ननिभ्ने गरी उज्ज्वल छ;
आज रजत जयन्ती ।”
(क)
रात औंसीकोलाई स्वागत !
दिन सूर्यग्रहणकोलाई !
नक्षत्रहो !
तिमीहरू आफैं विलिन हुन सक्तैनौ भने
बादलको पर्दाभित्र लुक
मुख नदेखाओ-
मन त्यसै गद्गद् छ ।
छाती फुलिरहेछ ।
पृथ्वी, तँ आज खुम्चिन छाड् !
तेरो यो सानू देहले
हाम्रो छाति र कानलाई
ठाउँ पुर्याउन सक्ला र ?
“आज रजत जयन्ती”
(ख)
स्वर्ग
के खुशियालीकी घर रे ?
स्वर्ग, तँ स्वर्गै भइस् ।
जा, मनले आज बिदा दियो ।
तडागमा प्रतिबिम्बित चन्द्रलाई
टिप्न किन हामफाल्ने पानीमा ?-
के आनन्दको सट्टा लिने हातभरी हिलैहिलो ?
आज हाम्रो समावेशले स्वर्ग हुन्छ अझ सुखी ।
स्वर्गका अप्सराहरू,
इन्द्रधनु जस्ता पोल्टा थाप !
आज हामी आनन्द व्यापार गर्दछौं !
हाम्रो आनन्दको लायक बदलामा दिने
छैन भने अरू केही कुरा, युगयुगको निम्ति
सापटी हामी दिनसक्तछौं ।
अरू चाहिए, सित्तैमा पनि खुशीसँग ।
फेरि, हिमालयको अग्लो टुप्पाबाट,
शंख आज फुक्तछु !
आनन्द लुट्न कसैलाई
इरादा छ भने- “स्वागतम् !
त्यो आआोस् नेपालमा ।
आज रजत जयन्ती ।”
(ग)
आज हामी आनन्दी छौं !
आज हामी सुखी छौं ।
संसारमा आज हाम्रै कथा छ ।
सधैं याद राखौं यति कुरा-
“यस्तै आनन्दी आज,
र आज जस्तो भोलिले
भरिएको छ
युग युगको नसा नसा ।
आज रजत जयन्ती ।”