मौसम सफा थियो । कोसौं टाढा-टाढासम्म हरियाली पहाड, वनहरु, अन्नपूर्ण हिमश्रृङ्खला र फेवातालको शान्त दर्पणरुपी वक्षमा माछापुछ्रे हिमाल छर्लङ्ग देखिएको थियो । यो दृश्यलाई सुदूर तालपारि विश्वशान्ति स्तुपको डिलमा बसेर दुई युवा हृदयहरु आनन्दित र रोमाञ्चित भएर हेरिरहेका थिए । प्राकृतिक अनुपम धरोहरको रुपमा सृष्टिकर्ताले अन्नपूर्ण हिमश्रृङ्खलाको मध्यभागमा माछापुछ्रे हिमशिखरको रचना गरेर गण्डकी अञ्चलवासीलाई ठूलो गुण लगाएको छ । विश्वको सुन्दरतम् हिमश्रृङ्खलालाई विहानको झुल्के घामले लालीमा दिएको अवस्थामा हेर्दा साँच्चै नै कुनै अलौकिक दृष्यको उदय भएझैं प्रतीत हुन्छ । प्राकृतिक सुन्दरताका पुजारीहरु विश्वका अनेकौं देशबाट पोखरा उपत्यका र हिमश्रृङ्खलाहरु हेर्न लालायित भएर आउँछन् ।
सृष्टिकर्ताको सुन्दरतम कृति, माछापुछ्रेको बिम्व फेवातालभित्र समाहित भएर युगौंयुग देखिको अमुक प्रेमी प्रेमिकाको आभाष गराइरहेको भान ती दुवै प्रेमी प्रेमिकालाई हुन्छ । दिलमायाको झ्याप्प परेको रेशमी टल्किने कालो कपाल बिस्तारै मुसार्दै मनराजले भन्यो-
“दिलु, मायाको परिभाषा तालभित्रको माछापुछ्रेको छाँयाले अटल बनेर दिँदैछ, हेर त …., मलाई लाग्छ युगौंयुग देखिको प्रेमी प्रेमिकालाई क्षणिक बादलले छेक्न सक्दैन, माछापुछ्रे र फेवातालको माया सृष्टि रहुन्जेल छुट्ने छैन ।”
प्रत्युत्तरमा मनराजको काखमा कोल्टे परेर त्यो दृष्यलाई हेरिरहेकी दिलमायाले भनी-
“मनु, हाम्रो माया पनि सदा यस्तै अटल, अमर र अजर रहोस्, म सदा तिम्रो मुटुभित्र यसरी नै बस्न सकूँ ।”
हावाको शितल लहर सररररर…………. चल्यो । मनराजलाई दिलमायाको मुहार कुनै अप्सराको जस्तो लाग्यो । उसले दिलमायाको ललाटमा चुम्वन लिँदै भन्यो-
“प्रिय जसरी फेवातालको वक्षभित्र माछापुछ्रे सज्जिएको छ, त्यसरी नै म पनि तिम्रो मुटुभित्र सदा सज्जिइन चाहान्छु”
त्यसपछि दुबै अँगालोमा आवद्ध भएर एक-आपसमा हराए प्रेमलोकमा । दुबैको मुटुको धड्कन एक रफ्तारमा चलिरहेको थियो, मानौं, जसरी फेवातालको माँझ एउटा डुङ्गा निकै तेज रफ्तारमा आफ्नो गन्तव्यतर्फ बढिरहेको थियो । यस्तै यस्तै कैयन् मिलनका दिनहरुमा स्वर्णिम आनन्द लिँदै कैयौं वसन्त, गृष्म, शरद र शीत श्रृतुहरु बिते । मनराज र दिलमायाको प्रेमकथाको साक्षी सेती गण्डकी, माछापुछ्रे हिमाल, फेवाताल र समस्त पशुपंक्षीहरु रमाउने हरियाली वनपाखा र डाँडाकाँडाहरु थिए ।
यौवनको लाली गालाभरि र अंगभरि वैंश बलेको अठारौं वसन्त मात्र पार गरेकी दिलमाया अत्यन्त रुपवती थिई र पी.एन. क्याम्पसमा प्रमाणपत्र तहमा पढ्दै थिई । मनराजले पनि स्नातक तह पूरा गरिसकेको थियो । नोकरी गरेर दिलमायालाई बिवाह गरी आफ्नो बुवाआमाको सेवा गर्ने र सुखमय जीवन बिताउने सुनौलो सपना हृदयमा साँचेर राखेको थियो । तीन वर्षअघि पोखरा रंगशालामा आँखा जुधेका यी दुई हृदयहरु अहिले एक अर्को बिनाको जीवनको कल्पनासमेत गर्न सक्दैनथे । उनीहरुको आत्मिक मिलन सृष्टिले पूर्व जन्ममा नै बनाएको आभास ती दुबैमा थियो । प्रेमको अनुभूति र आँखामा भविष्याको सपनाको महल सजाउँदै बाँचेका यी दुबै प्रेमी प्रेमिका, सारा संसारबाट बेखवर थिए ।
आफ्नो जीवनको युवावस्थाका स्वर्णिम क्षणहरुमा मनराजको बुवा बिर्खराज त्यस क्षेत्र वरिपरि बल, बुद्धि सबै कुरामा अघि थिए भन्ने चर्चा अचेल पनि बुढापाकाले गर्छन् । आफ्नो क्षेत्र वरिपरिका कैयौं ठाउँहरुमा “ठेलो” हानेर मैदानहरुमा पगरी गुथेका थिए । उनी विदेशमा भर्ती हुन पनि गएनन् । एक मात्र छोरा र खेतीपातीबाट नै मनग्य पुग्ने भएकोले स्वदेशमा नै उनी खुशी थिए । तीन-तीन पटकसम्म प्रधानपञ्चसमेत भइसकेका बिर्खराजलाई गाउँलेहरुले सँधै इज्जत गर्दथे । छोरालाई उच्च शिक्षा दिएर, देश सेवा गरेर नाम कमाओस् भन्ने बिर्खराजको सपना थियो ।
समय परिवर्तनशील छ । हिजोको व्यवस्था अहिले छैन । पंचायती व्यवस्थाको अन्त्यपछि परिवर्तनको लहरले सम्पूर्ण राष्ट्रलाई छोयो । बिर्खराजको राजनैतिक जीवनको सूर्य पनि अस्त भयो । जुन बलिया बाहुहरुद्वारा मैदानहरुमा “ठेलो” जितेका थिए, ती बलिष्ट भुजाहरु समयको गतिसँगै खोक्रो भइसकेका थिए । आफ्नो विगतलाई सम्झँदै र छोरा मनराजको सुनौलो भविष्यको ताना बुन्दै जीवन गुजारिरहेका थिए बिर्खराजले ।
तान्चोक गाउँबाट चालीसको दशकमा बसाइँ सरेको दिलमायाको परिवार पोखरा उपत्यकामा प्रतिष्ठित परिवारको रुपमा चिनिन्थ्यो । दिलमायाको बुबा मेहनती भू.पू. सैनिक थिए । व्यापार गरेर केही वर्षभित्र नै पोखरामा अग्रिम व्यापारीहरुको जमातमा आफूलाई उभ्याएर प्रतिष्ठित र वैभवको जीवन गुजारिरहेका थिए । घाँइघुँइ हावा बन्दै छोरीको प्रेम प्रसङ्गको चर्चा आमाबुबाको कानमा पनि ठोक्किन पुग्यो । आमा बुबा झस्किए । वदनामीको दाग आफ्नो प्रतिष्ठित च्यादरमा नलागोस् भन्ने डर र छोरीको बिवाहको चिन्ताले दुबै दम्पतिलाई सताउन थाल्यो । वास्तवमा हाम्रो समाजमा छोरीहरुको बिषयलाई लिएर हरेक आमाबुबा चिन्तित हुन्छन् नै ।
सोमबार बिहान कर्णल रनबहादुरले दिलमायाको बुबा भुवनसिंहलाई फोन गरे । कुनै बेला कर्णेल रनबहादुर भारतीय सेनामा १/४ जी.आर.को कमाण्डिङ अफिसर हुँदा भुवन सिंह त्यही पल्टनको सुवेदार मेजर थिए । दुबैको सुमधुर सम्वन्ध थियो । पेन्सनपश्चात् कर्णेल रनबहादुर पनि पोखरामा स्थायी रुपले बसोबास गर्दै आएका थिए । कर्णेलका दुई भाइ छोराहरु थिए । कान्छो छोरा ब्रिटिश सेनामा ल्कर्कमा भर्ती भएको थियो भने जेठो छोरा अर्जुनचाँहि भारतीय सेनामा रेगुलर कमिशन प्राप्त गरेर क्याप्टेन पदमा कार्यरत थियो । अर्जुन अत्यन्त आज्ञाकारी पनि थियो । उसको बिबाह गर्ने समय भएकोले असल कन्याको खोजीमा कर्णेल दम्पतिले पखेटा फैलाउन थालिसकेका थिए । यही सिलसिलामा भुवन सिंहकी छोरी दिलमाया माथि उनीहरुको नजर पुगेको थियो । पारिवारिक सम्वन्ध पनि राम्रो हुनुको साथै केटा र केटी पनि एक आपसमा पहिलेदेखि नै चीरपरिचित भएको हुनाले उनीहरु एक मनले ढुक्क थिए । कुरा चलाउनुभन्दा पहिले उनीहरुले घरमा छोरालाई विवाहको प्रस्ताव राखे । आमाबुबाको इच्छा शिरोधार्य भनेझैं अर्जुनले पनि आमाबुबाको प्रस्तावमा खुशीसाथ आफ्नो मन्जुरी दियो ।
बिहान सखारै कर्णेल रनबहादुरले भुवन सिंहलाई फोन गरे-
“हेलो, भुवन साहव हुनुहुन्छ ?”
भुवन सिंहले फोन उठाएर-
“हैलो, बोल्दैछु । ए कर्णेल साहव, जय गोरख .. दर्शन । धेरै दिनपछि सम्झनु भो त,.. कुशल मंगल नै हुनुहुन्छ ?”
प्रत्युत्तरमा कर्णेल जोशिइँदै-
“जय गोरख । ठीकै छु भन्नुपर्यो । आज बेलुकि तपाईंको घरमा आउने विचार गरेको छु, छोरा पनि छुट्टिमा आ’को छ । बरु यहाँको फुर्सद पो कस्तो होला ?”
भुवन सिंह खुशी हुँदै-
” ओ हो, हाम्रो अहोभाग्य । फुर्सद छ हजुर, सवारी होइसियोस् न । ठूलोबाबु अर्जुनलाई नदेखेको पनि निकै भै सक्यो ।”
अरु पल्टने कुरा गरेर बेलुका आउने वाचा गर्दै कर्णेलले फोन राखे ।
एकातिर कर्णेल दम्पतिले दिलमायालाई बुहारी बनाउने निर्णय गरिसकेका थिए भने उता भुवन सिंह र उनकी श्रीमतीको विचारमा पनि यदि अर्जुनले दिलमायालाई माग्न आउँछ भने यो छोरीको अहो भाग्य हुनेछ भन्ने मनसाय लिएका थिए र उसो भए मनराज सितको टेन्सन पनि सेलाउने पक्का थियो । भरसक टुङ्गो मिलाएर छिटोभन्दा छिटो उम्काउने उनीहरुको मनसाय थियो । दिउँसोदेखि नै कर्णेलको परिवारलाई रात्रिभोज घरमा नै गराउने विचारले दुबै दम्पतिले सरसामानहरु किनमेल गरी घर सरसफाइ गरेर च्याट्ट सिंगारेका थिए । दिलमाया यी सबै कुराहरुबाट अनभिज्ञ थिई, कारण उसलाई यस कुराको सुइँको समेत दिइएको थिएन ।
कर्णेलको परिवार साँझपख छिट्टै नै भुवन सिंहको घरमा पुगे । छोरा अर्जुन र कर्णेल दम्पतिलाई भुवन सिंह र उनकी पत्नी दुबैले स्वागत गरेर अभिवादन आदानप्रदान गरे । अर्जुनले दिलमायालाई देख्ने बित्तिक्कै अरुलाई छल्दै हेर्न थाल्यो । दिलामायाको रुप लावण्य र यौवनको खुमारीले भरिएको शरीर देख्दा अर्जुनको आँखाहरुले दिलमायालाई नै पछयाई रहेका थिए । दिलमाया यस कुराबाट अनभिज्ञ, सँधैझैं परिचित अर्जुनलाई दाइसरह नै हेलमेल भएर कुरा गर्न थालिन् । एकछिन पछि सन्ध्याको रमाइलो वातावरणमा कर्णेलले छोराको लागि दिलमायाको हात मागे । भुवनदम्पति यसै प्रखरको प्रतीक्षामा थिए, खुशी भएर मञ्जुरी दिए । अर्जुन खुशी नै थियो किनभने घरबाट पहिले नै सल्लाह गरेर आएका थिए कर्णेल परिवार, तर दिलमाया अचानक छाँगाबाट खसेजस्तै भई । ऊ कसैको विरोध नगरी कोठाभित्र पसेर र ढ्याप्प ढोका बन्द गरी । भित्र पसेर आफ्नो प्रेमको धरोहर ढल्ने नै भयो भनी रुन थाली । किनकि परिवारका मुखियाहरुले निर्णय गरेको कुरालाई प्रतिरोध गर्ने क्षमता उसमा थिएन । अर्को कुरा, दिलमायाले आमाबुबाको आज्ञाको अपहेलना अहिलेसम्म कहिल्यै गरेकिथिईन, ननै इन्कार गर्ने शक्ति नै उसमा थियो । कर्णेल दम्पति र भुवन सिंहले बिहेको कुरा सुन्ने वितिक्कै लाजले भित्र पसिन् भनेर हाँसो ठट्टा गरेर बिवाहको दिन यसै महिनामा निकाल्नु पर्ने र झट्टै बिवाह गराउने मञ्जुरी भयो कारण अर्जुनको छुट्टि धेरै बाँकी थिएन । तर, दिलमायाको आमाको मनमा छोरीप्रति करुणा जागेर आयो । पाहुनाहरु गएपछि छोरीको कोठाको ढोका खोलिन् र पसिन् कोठाभित्र । बलिन्द्र आँशुको धारामा भिजेकी छोरीलाई काखमा लिएर माया गरेर सम्झाउन थालिन् । दिलमायाले म बिहे गर्दिन भनेर धेरै विलाप र अनुनय गरी । अन्तमा उसको मन आन्दोलित भएर आयो । अब प्रेमको धरोहर ढल्ने ने भयो भन्ने ठानी । वर्षौंदेखि मनराजलाई लिएर सञ्चित गरेकी सपनाहरु चकनाचुर हुने भयो । अब के गरुँ ? भन्ने उसलाई लाग्यो ।
आजभन्दा २०, २५ वर्ष पहिले नेपाली चेलीहरु अहिलेको जस्तो विद्रोह गर्ने संस्कार समग्रमा थिएन, ननै आँट नै राख्थे तिनीहरु ।
अब उसँग एउटैमात्र विकल्प थियो, छिटोभन्दा छिटो मनराजलाई भेटेर ओह्रालो लाग्ने अथवा भागेर जाने । रातभरि निँद आएन, कसरी यस विपतबाट उम्केर मनराजसँग भेट्ने विचार गरी रातभरि । भोलिपल्ट मनराजलाई भेट्न उसको डेरामा गई । दिलमायाले मनराजलाई भेट्न सकिन । मनराजको बुबा विरामी भएकोले ऊ गाउँमा गइसकेको रहेछ । दिलमायाले घरबेटीकी छोरी सुनिताबाट एउटा सानो कागजको टुक्रामा मनराजले लेखेर छाडेको चिट्ठी प्राप्त गरी । मनराजले चिट्ठीमा लेखेको थियो-
प्रिय प्राणेश्वरी,
म आज तिमीलाई नभेटी अचानक गाउँ जाँदैछु । बुबा सिकिस्त बिरामी हुनुभएको छ रे । म तुरुन्त उपचारको लागि बुबालाई लिएर पोखरा आउनेछु । म नआउन्जेल धैर्य गरेर बस्नू । प्रत्येक पलको मुटुको स्पन्दनले तिमीलाई पुकार्दै यो हृदयभित्र तिम्रो तस्वीर राखेर जाँदैछु । म छिट्टै फर्कनेछु ।
मीठो चुम्बनसहित
केवल तिम्रो मनराज
दिलमायाको आँखाको डिलभरि आँशु रसाएर आयो र तपतप झर्न थाल्यो । उसलाई आफ्नो प्रेमको हत्या भइसकेको प्रतीत हुन थाल्यो । पर्खाइमा तीन दिन बितिसक्यो, मनराज पोखरा फर्केर आएन । अबको दश दिनभित्र १८ गते आइतबारको दिनमा दिलमाया र अर्जुनको बिबाह सम्पन्न हुने कार्ड छापेर इष्टमित्रहरुलाई वितरण भइसकेको थाहा पाउनसाथ दिलमाया झसङ्ग भई र छाङ्गोबाट खसेजस्तो प्रतीत हुन थाल्यो उसलाई । मनराजको बाटो कुर्दाकुर्दै दिलमाया कुनै अनिष्ट आशंकामा भयभित हुन थालिन् । ऊ विवशतावश आफ्नो जीवनको उज्यालो पाटा अँध्यारोतिर हराउँदै गइरहेको हेरिरहेकी थिई । फेरि पनि मनराजको प्रतीक्षामा एउटा आशा लिएकी थिई ।
दिलमायामाथि तब बज्रपात भयो जब उसलाई बिवाहको एकदिनअघि मात्र मनराजको घरमा घटेको दुःखद समाचार प्राप्त भयो । मनराजको बुवा बितिसकेकाले किरियामा बसेको मनराज अब दिलमायाको उद्वार गर्न आउन सक्दैन । दिलमायाको आशाको झिनो किरण निभ्यो । एकातिर मनराज पितृ शोकमा थियो भने अर्कोतिर दिलमाया दुःखको अप्रत्याशित खबर र आफ्नो प्रियतमबाट सदा-सदा टाढिने र विछोड हुने धक्काले मूर्छित भएर भुइँमा लडी । यो खबर लिएर आएकी सुनिताले तुरुन्त दिलमायाको आमाको सहयोगमा दिलमायालाई होशमा ल्याई । सुनितालाई दिलमायाको बिवाहबारे थाहा थियो । सुनिताले पनि दिलमायाको आमालाई यो बिवाह रोक्ने आग्रह गरी । तर समय ढिलो भइसकेको थियो । यो दुई खानदान बीचको प्रतिष्ठाको विषय थियो । दिलमायाकी आमाले सुनिताको उक्त आग्रहलाई त्यति वास्ता गरिनन् । छोरीको लाख अनुनय र विन्तिको केही जोड चलेन । आत्माहत्या गर्ने विचार पनि दिलमायाको मनमा नआएको होइन । चारैतिरको निगरानी र आफन्तहरुको आँखाअगाडि उसले सो कदम पनि चाल्न सकिन । लगनअनुसार दुलाहा जन्तिसहित आएर दिलमायालाई दुलही बनाई टप्प टिपेर लग्यो । दिलमाया पिंजडा भित्रको सुगासरी निस्सासिएर माइतीघरबाट विदा भई । भुवनसिंह र उनकी श्रीमती, घर छाडी जाने छोरीको आत्माको बोल सुनिरहेका थिए । उनीहरुको पनि आँखा रसाए । कताकता अनर्थ गरेजस्तो भुवनसिंहलाई प्रतीत भयो । तर प्रतिष्ठाको च्यादरले ममताको मुनालाई छोप्यो । केही दिनपछि मनराज पोखरा आउनुअघि नै दिलमायालाई कोखिल्टोमा च्यापेर अर्जुनले मुगलान लगिसकेको थियो ।
पन्ध्र-बीस दिनपछि मनराज पोखरा आउँदा उसको सपनाको महल तहस-नहस भइसकेको थियो । उसलाई दिलमायाले यसरी धोका देली भन्ने विश्वास थिएन । उसलाई के थाहा, दिलमाया कुन हालतमा कसरी वियोगमा पर्खी बसेकी थिई भन्ने ! मनराजलाई शुरुमा बुबाको शोक र त्यसपछि दिलमायासँगको विछोडले विछिप्त तुल्यायो । उसलाई सारा संसार स्वार्थी र विरानो लाग्यो । ऊ एक्लै मुटुभरि व्यथा बोकेर बौलाहा जस्तै कहिले शान्तिवन, कहिले शान्ति स्तुपको डिल, कहिले फेवाताल र कहिले सेतीको बगर हुँदै आफ्नो प्रियसीलाई सम्झँदै रुँदै गर्न थाल्यो । कहिलेकाँहि स्वार्थी संसारबाट विलीन हुने विचार पनि आयो उसलाई तर एक्ली बूढीआमाको अनुहार झल्याँस्स सम्झँदा मनमा करुणा जागेर आउँथ्यो । आफ्नो पीडा भुलेर जन्मदातृ आमाको लागि जो पति वियोगमा विक्षिप्त थिईन्, जसको सहारा केवल मनराज थियो, सम्झँदै मात्र पनि मनको भक्कानो उर्लेर उसको आँखाबाट बग्थे । अब आमाको लागि त बाँच्नै पर्यो भन्ने प्रयत्नमा उसको समय बित्दै गयो ।
दिलमाया अहिले अर्कैकी भइसकेकी थिई । तर पनि, बेला-बेलामा चसक्क टीस भएर मनराजको यादमा हृदय वल्झेर आउँथ्यो । ऊ यथार्थमा अर्जुनकी पत्नी थिई । तर उसको सोचाइ र ख्यालमा सदा मनराजले नै कब्जा गरेको हुन्थ्यो । अर्जुनले दिलमायालाई बिवाहलगत्तै पल्टनमा लगेर गयो । शुरु-शुरुमा अर्जुनले नवदुलहीलाई संकोच मानेजस्तो लाग्यो तर उसले दिलमायाको खुशीको लागि यथासम्भव हरेक कोणबाट खुशी दिने प्रयत्नमा रहिरह्यो । समय बित्दै गयो । दुःख र पीरका चोटहरुलाई समयको मल्हमले पुर्दै लग्यो । मनराज र दिलमायाको जीवनमा आएको तुफानले उनीहरुको जीवनको दिशा नै मोडिदियो । दिलमायाले आफ्नो मनभित्रको विवशता एउटा कागजमा लेखेर मनराजलाई छाडेकी थिई । केही दिनपछि सुनिताले मनराजलाई त्यो चिट्ठी दिई । त्यो चिट्ठी पढेर विगतलाई सम्झ्यो, दिलमायालाई सम्झ्यो । शारिरीक रुपमा कसैकी भए तापनि आत्मिक रुपमा दिलमाया सदा आफ्नै रहिछ भन्ने विश्वास मनराजलाई चिट्ठी पढेपछि लाग्यो । ऊ चिट्ठीलाई सुमसुम्याउँदै चुम्बन गर्न थाल्यो । चिट्ठीको बोलहरुमा उसलाई दिलमायाको आत्मा गुन्जिएजस्तो आभाष भयो । चिट्ठी यस प्रकारको थियो-
मेरो आत्मेश्वर,
म वियोगमा पर्खिबसें रुँदै, पर्खेँ न्याउलीसरी
दैव हरे सारा संसार अर्कै लाग्यो घडीघडी ,
इन्द्रेणीसँगै खोज्दै यो मन फेवाताल पुग्छ
हावासँगै उड्दै म शान्ति स्तुप पुग्छु ।
सेती अत्तिएर धर्तीमुनि भासियो,
वसन्तमा फुल्ने फूलहरु सारा नासियो ।
माछापुछ्रेको अटल विश्वास टुटेछ,
हत्केलामा आज आफ्नै भाग्य फुटेछ ।
मनको कुरा के भनूँ, यसै-यसै रुन्छ
सम्झना बल्झिएर यो मन साह्रै दुख्छ
यो जन्ममा हुन सकिनँ तिम्रो, अर्को जन्म सही
मेरो आत्माको ईश्वर तिमी, आजलाई विदा
अन्तिम पटकको चुम्वनसहित
उही अभागिनी दिलमाया
गालाका डिलहरुमाथि गंगा जमुना वहिरहेको मनराजलाई थाहै भएन । आँखाबाट खसेका सिन्धूका थोपाहरुले नीलो अक्षरहरु मुसार्दै नीरगंगा बगेसरी भुइँमा तपतप खसे । मनराजलाई एक्लो जीवनको नैराश्यतामा विरक्तिएर धेरै टाढा भागौं जस्तो लाग्थ्यो । उसको जीवनमा केवल बूढीआमा थिईन् । जीवन गुजार्नको लागि केही न केही गर्नुपर्यो । एक दुई वर्ष गाउँमा नै बसेर स्कुलका केटाकेटीहरुलाई पढाउने काम गर्यो । तर जब-जब ऊ पोखरा आउथ्यो, तब-तब उसलाई ती बगर, ताल र हरियाली डाँडाहरुले दिलमायाको याद दिलाउँथ्यो ।
नेपालबाट नै बाहिर जाने विचारले उनले आर्मीमा भर्ती हुने विचार पनि गर्यो । ब्रिटीश पेन्सन क्याम्पमा ल्कर्कको लागि आवेदन फाराम भरेर आफूलाई प्रस्तुत गर्यो तर भर्ती हुन सकेन । त्यसपछि एकजना आफन्तले गोरखपुरमा स्नातक पास भएका व्यक्तिहरुलाई सीधै हवल्दार ल्कर्कमा भर्ती खुल्दैछ भन्ने सूचना दियो । मनराजलाई भारत पस्ने इच्छा जाग्यो । अन्तमा प्राय सबै नेपालीहरुसरह नै एक विहान हिमचुलीमा उषाको लालीमा चढेको बेलामा आफ्नो जन्मभूमिलाई छाडेर मुग्लान पस्यो । शिशिरको बिहान भएकोले अलिअलि जाडो पलाउन लागेको थियो । एउटा अन्यौल गन्तव्यको खोजीमा मनभरि धेरै अथाह व्यथाहरु लिएर ऊ भारत पस्यो ।
उसको साइतले साथ दिएछ । ऊ कुँडाघाट भर्ती डिपो केन्द्रबाट सीधै हवल्दार ल्कर्कमा भर्ती भएर प्रशिक्षणको लागि ५८ गोर्खा प्रशिक्षणकेन्द्र शिलाङमा रवाना भयो । २२ हप्ताको आधारभूत तालिमपछि फेरि ३२ हप्ताको लिपिक तालिमको लागि आर्मी ल्कर्क प्रशिक्षण केन्द्र औरङ्गाबादमा गयो । औरङ्गावादबाट तालिम गरिसकेपछि ऊ ६/८ गोर्खा राइफल्समा पोस्टिङ भएर गयो । फौजी जीवनको कडा, नौलो अनुभवमा ऊ खुशी नै थियो । त्यतिबेला ६/८ गोर्खा राइफल्स “अपरेशन पवन” को लागि श्रीलंकामा तैनाथ थियो । श्रीलंकामा तामिल गुरिल्लाहरुलाई दमन गर्नको लागि भारत सरकारले श्रीलंका सरकारको अनुरोधमा धेरै पल्टनहरु पठाएका थिए । मनराज पनि श्रीलंकाको भीषण युद्धमा भाग लिन बाध्य भयो ।
उनीहरुको रियर मद्रासमा थियो । माथिबाट आदेश आएअनुसार मनराजलाई “सी” कम्पनी ल्कर्कको काम गर्न रियर ओ. सी. साहबले मुभमेन्ट अर्डर बनाएर श्रीलंकामा पठायो । भीषण गोलाबारुदको बीचमा मनराजले आफूलाई पल्टनको “सी” कम्पनीको सी. एच. एम. साहब धनबहादुरले स्वागत गरेको पायो । “सी” कम्पनी त्यतिबेला जाफ्ना प्रायदि्वपको एलिफेन्ट पास नजिकैको गौंडामा डिफेन्स लिएर बसेको थियो । चारेतिर घमासान गोलाबारुद भइरहेको बेलामा उसलाई शुरुमा भय र त्रास लाग्यो । तर पछि गोलाबारुदको आवाजहरुसँग अभ्यास हुँदै गयो । आफूजस्तै कैयौं गोर्खालीहरुको लाम आफूसँगै स्वचालित राइफल एस. एल. आर. को सिलिङ घांटीमा मालाजस्तो बनाएर एम्यूनेशन पोच भरी बम, गोलीगट्ठासहित राइफल मजबुतसँग पक्डेर सतर्कसँग निगरानी गर्ने र मौका परेमा अगाडि बढ्ने वातावरणमा आफूलाई अभ्यास पार्दै लग्यो । फाइरिङको आवाज र बेलाबखत मर्ने र घाइते हुनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको थियो । गोली कताबाट कुन बेला आउने हो भन्ने डर सबैलाई थियो । पल्टन कहिले डिफेन्समा कहिले आक्रमणमा जानु पर्थ्यो । पल्टनका कैयौं मानिसहरु तमिलहरुको रक्षापंक्ति तोड्न जाँदा हाताहात भएका थिए । सबैभन्दा पहिले पल्टनको सी. ओ. लाई निशाना बनाएर मारेको थियो । तामिल गुरिल्लाहरुतर्फ पनि धेरै संख्यामा मरेका थिए । बीचबीचमा डिफेन्स लिँदै अघि बढ्ने हुकुम आउँथ्यो । एक मान्छेबाट अर्को मान्छेको दूरी १५ – २० मिटरको हुनुपर्थ्यो । किनकि तमिलहरुको ए. के. ४७ राइफलको निशानाबाट बच्नको लागि यो उपाय अख्तियार गरेको थियो । बाक्लो धानबाली भएको खेत र नरिवलका रुखहरुको छाँया नै डिफेन्सको माध्यम थियो । पानी परेको बेलामा निकै कष्ट उठाउनु पर्थ्यो ।
“सी” कम्पनीको नेतृत्व मेजर अर्जुनको हातमा थियो । श्रीलंकामा आएपछि ऊ क्याप्टेन पदबाट एक्टिङ मेजरको पदमा पदोन्नति भएर कम्पनी कमाण्डरको अभिभारा लिएका थिए । मेजर अर्जुनलाई मनराजको बारेमा केही थाहा थिएन न नै मनराजलाई । उनीहरु लडाइको मैदानमा भेटेका थिए । लडाइको मैदानमा मनराज “सी” कम्पनीको ल्कर्क र मेजर अर्जुन उसको कमाण्डर थियो । घनघोर बादल छाएको थियो । नरिवलका रुखका हाँगाहरु एक तमासले हावाको वेगसँगै हल्लिरहेका थिए । एकैछिनमा ठूलो मुसलधारे वृष्टिपात भयो । गड्याङगुडुङ चट्याङ पड्केको आवाजमा बिजुलीको तेज रोशनीमा ए. के. ४७ राइफलको टररर………….ररररररर गर्दै गोलीको वर्षा, कम्पनी हेडक्वार्टरमा आउन थाल्यो । साथै टुइन्च मोटरको सपोर्ट फाइरिङले कम्पनीमाथि तमिल गुरिल्लाहरुले आक्रमण गरेको कुरा प्रष्ट भयो । उनीहरु हजारौको संख्यामा थिए । जवाफी आक्रमणमा जवानहरुले गोली आएको दिशातर्फ अन्धा-धुन्ध गोली चलाउन थाले । यो अप्रत्याशित आक्रमणमा सबैभन्दा पहिले मेजर अर्जुनको छातीमा गोली लागेर भुइँमा ढल्न पुग्यो । बाँया छातीबाट ह्वाल-ह्वाल्ती रगत बगिरहेको थियो । मनराज घिस्रिँदै मेजरको छेउमा पुग्यो । मेजरले सकी नसकी मनराजलाई भन्यो-
“मेरो स्थिति साह्रै खराब छ । सायद अब म ……..यो औंठी मेरी पत्नीलाई दिनू……….बाबुजी !” (आर्मीमा ल्कर्कलाई बाबुजी भनेर सम्वोधन गर्ने गरिन्छ)
रोक्दै-रोक्दै भन्दै अगाडि भन्दै गयो अर्जुन-
“मेरी पत्नीले कसैलाई मन पराउँथिन्………. तिनीलाई करकापमा बिबाह गराइदिएका हुन् । तिनीलाई भन्नू, आफूले मन पराएको व्यक्तिसँग पुनर्बिबाह गर्नू……..। मेरो अन्तिम समय आयो त….पा….इं……. आफै गएर भन्नू ल ?”
त्यसपछि मेजर अर्जुनले आफ्नो नश्वर शरीरबाट प्राण त्याग्यो । मनराज अत्तिइँदै अलिपर भएको सुबेदार धनप्रसादलाई पुकार्यो-
“सुबेदार साहब, मेजर साहब रहनु भएन ” ।
गोलाबारुद चली नै रहेको थियो । तर दुश्मनको तर्फबाट कमै मात्रमा एकाध गोली आउँदै थियो । सुबेदार धनप्रसाद घिस्रिँदै-घिस्रिँदै कुहिनाको बलबाट त्यहाँ आयो । हतार-हतार सिपाहीहरुको मद्दतले मेजरको लाश पल्टनको रियरमा पुर्याउने चाँजो मिलाइयो ।
तीन चार महिनापछि लडाइको बीचमा भारतीय सेनालाई श्रीलंकाबाट भारत सरकारले फिर्ता बोलायो । सम्पूर्ण भारतीय सेना श्रीलंकाबाट मद्रास हुँदै आ-आफ्नो स्थायी शिविरहरुमा फर्के । पल्टन मद्रासमा आइपुग्दा पल्टनका व्यक्तिहरुले धेरै साथीहरु गुमाइसकेका थिए । विदेशी भूमिमा उनीहरुको चिहान भयो । कैयौं साथीहरु अंगभंग भएर जीवनभरको लागि अपाङ्ग बने । मनराजको चारमहिनाको छुट्टि मञ्जुर भयो । उसँग मेजर अर्जुनको औंठी र सन्देश पुर्याउने कार्य पूरा भएको थिएन । उसले त्यो औंठी र सन्देशको बारेमा कसैलाई पनि भनेन । केवल मेजर अर्जुनको परिवारको ठेगाना लिएर देहरादून हुँदै नेपाल जाने विचारमा पल्टनबाट प्रस्थान गर्यो । बाटोमा उसले आफ्नी आमा र गाउँघरलाई सम्झ्यो । मेरी बृद्धआमा मेरो बाटो हेरिरहेकी होलिन् । यस्तै-यस्तै अरु धेरै कुराहरु सोंच्दै र कल्पना गर्दै देहरादून पुग्यो । त्यो रात स्टेशनको आरामगृहमा नै गुजार्यो । भोलिपल्ट एउटा टेम्पो चढेर आर्मी सेपरेटेड (विशेष गरी पल्टन युद्धक्षेत्रमा जाँदा आर्मीका परिवारलाई राख्ने घरहरु ) फेम्ली क्वार्टटरमा गयो । एकजना मानिसलाई मेजर अर्जुनको घर सोधेर त्यसतर्फ लाग्यो । क्वार्टर बंगला टाइपको थियो । घरको अगाडिपटि्ट दूबो र फूल रोपिएको थियो । दूबोमाथि कुर्चीमा सेतो साडी लगाएकी उजाड सिउँदो र उसको बादलजस्तो घना केश खुला छोडेकी दिलमायालाई देखेर मनराज अवाक् भएर मूर्तिवत् जड् भयो । दिलमायाको त्यो रुप उसले कल्पना नै गरेको थिएन । यदि दिलमाया मेजर अर्जुनको श्रीमती हो भन्ने थाहा पाएको भए त्यहाँसम्म मेजरको सन्देश बोकेर आउने हिम्मत उसमा हुने थिएन । अप्रत्याशित रुपमा मनराजलाई देख्दा दिलमाया बेहोश होली जस्तै भई । एक क्षणसम्म दुबै जनाले एक अर्कालाई हेरे तर दुबैको मुखवाट एक शब्द पनि फुटेन । अन्तमा विवश नारी दिलमायाको मनको बाँध फुटेर आँखाभरि टम्म भइसकेको आँशुको भेललाई रोक्न सकिन । दुबै हातले मुख छोपेर रुन थाली । मनराजको पनि मन छियाछिया भयो । आँखाबाट बलिन्द्र आँशुका धाराहरु खस्न थाले । तर मेजरले जुन सन्देश भन्नु भनेका थिए ती शव्दहरु मुखबाट निस्केनन् । न उनको मनमा नै दिलमायाको उजाड सिउँदोमा फेरि सिन्दुर भरी दिने हिम्मत पलायो । मेजर अर्जुनले दिएको औंठी दिलमायाको काखमा राखेर मनराज आँशु पुछ्दै फरक्क फर्केर आयो । ऊ पछाडि फर्केर हेर्न सक्ने अवस्थामा थिएन । तर उसको कानमा एकजना बच्चा “मम्मी-मम्मी” भन्दै दौडँदै दिलमायातिर आएको पदचाप सुन्यो । वच्चाले दिलमायाको आँशु पुछ्दै गाला मुसार्न थाल्यो । दिलमायाले मनराजलाई ओझेल नहुन्जेल एकटक हेरिरही ।
(यस कथामा उल्लेख गरेका पात्र र घटनाहरु पूर्णतया कल्पनामा आधारित प्रेमकथा हो, कसैको जिन्दगीसँग यस कथाको केही सम्बन्घ छैन । लेखक)
(स्रोत : Ghatanarabichar.com )