~कृष्ण कट्टेल~
चरनमा थुप्रिएका
बग्रेल्ती भेडाहरुजस्तै
थुपारिएका छन् सयौँ
अस्ताएका जूनहरु ।।
रगत लत्पत्तिएको खप्पर
हातखुट्टा छिनेका अर्धमुर्छित जून
रगत उम्लिएको आलो घाउहरु
सुतिरहेका छन् हरेक अस्पतालहरुमा ।।
आँखै अगाडी मौन थियो
एक अवोध बालिकाको
सास उडेको शरीर
थुप्रै लास र अर्धलास थुपारेर
शोकमा डुबेको छ बीर अस्पताल पनि ।।
नजिकै ठुन्का ठुन्का भई पछारिएको छ
भिमसेनले बनाएको वीरताको अग्लो पहाड
मानिसहरुको छात्ती माथी,
ऊ कहिल्यै ब्युझँनेछैन अब
न त ब्युँझिनेछन् उ सँगै लपेटिएका सपनाहरु ।।
जव उम्लियो धरती,उफ्रियो
भूँइचालोसामु घुँडा टेकेर
तव पछारिए जूनहरु चमक गुमाउदै
उछिट्टिएर, थिच्चिएर अनि भाँचिएर ।।
लास निल्नमै व्यस्त छन्
आर्यघाट र घाटहरु
बेहोसिमै मुर्छा पर्दै
बागमतीसँगै बगिरहेका छन् आँशुहरु ।।
भग्नावषेशबाट
कुहिएका हाड मासुको दुर्गन्ध बोकेर
कुदिरहेको हावाले
पूरै सन्नाटा छाएको छ
भन ए भगवान कुन तागत हो त्यो ?
पृथ्वी नै पराजित हुने !
कृष्ण कट्टेल
भूकम्प ग्रसित क्षेत्रबाट ।।
(स्रोत : Nepalpati)