~केशव वरुवाल पथिक~
नचाहेको कसैलाई बिर्सन खोज्दा,
झुल्किन्छ यौटा मुहार–
जसको मुस्कानको बाढीमा,
म बग्छु – बगी रहन्छु,
खोलामा दियो बगेझैँ।
त्यो निधार – जहाँ खुसी लहरझैँ खेल्छ,
जोडी आँखा – सिधै मनसित बोल्छ ,
नमिलेका ती दन्तहरूमा – मेरो मुटु धड्किन्छ ,
कोमल गाला – जीवनभरीको थकान सोस्छ ,
ओठ कल्पनामा उडाई लान्छ ,
र म उड्छु – मुहारसँगै ,
क्षितिजमा चङ्गा उडेसरी।
झुल्किन्छ ……
यौटा मुहार – जहाँ अध्याराहरू विश्राम गर्छन्,
रहरहरु जुर्मुराएर ब्यूँझन्छन् ,
अङ्गहरू गर्मीयामको वर्षामाझैँ झुम्छन् ,
पुरै शरीर रहरले निथ्रुक्क भिज्छ ,
र म भिजी रहन्छु – वर्षावनको माटोझैँ।
झुल्किन्छ यौटा मुहार ,
जहाँ जोस कहिलै रित्तिदैन,
आँखाको मुस्कानले दुःखलाई बास दिदैँन,
आँखिभुईँ माथिको सपना देखाउन ,
जाँगरको दियो बाल्छ ,
र म बल्छु – बली रहन्छु ,
अँध्यारो मन्दिरको मुर्तिअगाडि।
इटहरी –८, सुनसरी।
(स्रोत : Sahityasarita )