एक हाते फरिया
एक बित्ते चोलो
र एक भारी बैंश -छाडेर
तिमी गयौ फट्कु
यी अहिले-
छताछुल्ल पोखिएर बैंश
लाज चिहाइरहेछ
भोकको शिविरबाट
झ्याउकिरीको गीत
सिस्नेखोलाको छङ्छङ् संगीत भएर
हावामा उड्दै उड्दै
पानीमा बग्दै बग्दै
तिमीसम्म पुगिने भए
तिम्रै काखमा घोप्टिएर
सारा बैंश बिसाउथे
लाज पखाल्थे
तर तिम्रो अजंगको शहर
मेरो मनको आकासबाट देखिन्छ कहाँ?
त्यो सिस्ने खोला
त्यो गुराँसे पाखा
रिसले
उचालिएर
पछारिएर
त् कहिले दयामा पग्लिएर
मेरो उन्मुक्त बैंश छोप्न
एक अँगालो छहारी
सापटी दिन्छन
र फेरि छिनमै
खोस्छन पनि
फट्कु
अचेल भोलि
म पनि सोंच्छु-
यसरी भोक चपाएर
आङ् घाममा सुकाएर
मान्छेको
एक रति दयामा पग्लिएर
त कहिले
सिरेटो र तुषारोमा
बैंश चिस्याएर
अंह
म बाँच्दै बाँच्दिन
भोकले मलाइ सुकरात बनाउला
शोकले मलाइ सेक्सपियर बनाउला
यो सत्य हो-
न म भोक चपाउन सक्छु
न शोक बगाउन नै
तर अब भोकको बिज्ञापन हुने छैन
शोकको प्रदर्शन हुने छैन
म भोकको बिरुद्ध
यी बालिष्ठ पाखुरा बजाउछु
त्यो पत्थर पगाल्छु
काँडाघारी उखेल्छु
र एक मुठी भोक डकार्छु
त्यसो त फट्कु
मलाइ तिम्रो काठमाडौको माया नभएको हैन
मलाई तिम्रो मोह
तिम्रो काठमाडौको प्यास छ
तर,
प्यासी प्यासी रहेर
भोकहरु सहेर
कतिन्जेल म तिमी र तिम्रो काठमाडौलाई पर्खन सक्छु?
अब म यो सिरेटो
र भोकको खडेरी छल्न
तिमी र काठमाडौको भर पर्दिन
अविश्वासी नभने…..
(स्रोत : Shabdahar )