~सुरेश नाचीज~
मरेको कयौँ दिनपछि
आँखा खोलेर हेर्दा
बातावरणलाई तुषारोले ढाकेको थियो ।
झिँगाहरु भन्किईराखेका थिए ।
आसपास फोहोरको डंगुर थियो ।
खूब जाडो थियो ।
कुकुरहरु दाँत र नङ्ग्राले पेट कन्याउँदै थिए ।
खल्तीमा यौटा चुरोट किन्ने पैसा पनि थिएन ।
चुरोटहरु पैसामा बिक्छन
पैसा(हरु) चुरोटमा ।
युगले युग साँट्दैन , मुल्यहरु मान्यताहरु , ब्यबहारहरुमात्र बदलिन्छन् ।
सेरोफेरोमा आदिम बस्तीको झलक मिल्थ्यो ।
स्वासधारीहरुको अनुपस्थित उपस्थिती पनि दुरुस्तै !
आउनेहरु जानेहरु समान ।
यौटा फगत चाल !
छेउमा एकमात्र बाठो काग कराईराखेको थियो ।
उसले उठ्ने मन गरेन ।
आत्माहरु दुरुहता बाँच्दैनन्
शायदै बाँच्लान ।
शायद बाँच्नु यौटा नियति या बिबशतामात्र !
झिंगाहरुको यसमा कुनै भुमिका छैन ।
न कागको
न त कुकुरहरुको नै !
ती केबल कराउँछन
कन्याउँछन् पेटमा जिजिविषा !
दुरुह फगत कानले सुन्छ ।
एन्द्रिक अ/चेतनामा
उ रुमल्लिएको हुँदै होईन ।
छेउछाउ उ जस्तै छ
तर
खोल ओढेका
दुरुह न्यायाधिस
दार्शनिक
बिनासक
बिबिध पदधारीहरुको पट्यारलाग्दो लर्कन देख्यो ।
र
केहि नवनिर्मित पदावली र नामावली पनि !
उसले झिँगाको पँखेटा
कुकुरहरुको दाह्रानङ्ग्रा
र कागको ठुँडलाई प्रेम गर्न उचित ठान्यो ।
हामी हावाको बहाबलाई
शायद उसैको स्व-निर्णय ठान्छौँ ।
जो सरासर शरीरभित्र पस्छ ।
म छेउमै सास फेर्दैछु ।
मसित सपना र रहरहरुको गणनाको ठुलो चाङ्ग छ ।
(स्रोत : Shabdahar )