जव जुठेल्नोले मेरो घर पछाडीबाट
उदाउने घाम देख्न सुरु गरेको छ
त्यतिबेला देखि म जुठेल्नोतिर बसाईं सरेको छु |
मलाइ लाग्यो म फोहोर हुँ
म बिकारहरुको वरीपरी छु
म बिकारहरु भित्र छु |
मोनालिसाको चित्रभन्दा
म बस्ने जुठेल्नो घामले राम्ररी देखेको छ |
संसारको कुन घामले मोनालिसाको
तस्वीरमा मुस्कान देखेको छ ?
मेरी श्रीमतीले हरेक बिहान जुठेल्नोबाट
घाम कुर्छिन |
मेरी छोरीले घामको उज्यालोमा
जुठेल्नोभित्रै क,ख पढ्छिन |
म जुठेल्नोभित्रै खुल्लेआम पिसाब फेर्छु |
यो पनि घामले देखेको छ |
कुन पत्रकारले ”कान्तिपुर” को फ्रन्ट पेजमा
मेरो जुठेल्नोको समाचार लेखेका छन् ?
मेरो जुठेल्नोमा आगोले ढिडो फत्किन्छ की
घामको तातोले फत्किन्छ ?
कुन पुलिस इन्स्पेक्टरलाइ थाहा छ ?
मेरी आमाले प्रत्येक बिहान
मेरो जुठेल्नोमाथि हातमुख धुन्छीन |
म त्यो पानीलाइ ‘पानी’ भनेर पिउंछु |
मेरा बाले त्यहि झुठेल्नोमा कुल्ला गर्छन
म त्यहि पानीले स्नान गर्छु |
मेरो जुठेल्नोमा अहिलेसम्म
त्यो शहरमा पाइनेजस्तो हाहाकार पानी किन आउन परेन |
मैले कुन कुन गौंडा, कुला,नहर र खोलाहरु थुनेको छु ?
यी यायाबरहरुको हँसिलो प्रकरणमा
छानो र ढोकासंग मुद्दा लड्नुपरेको छ |
हरेक महिना मिसिलको नक्कल प्रति बोकेर
जुठेल्नो नदेखेका तहसिलदारहरुलाई
जुठो पैसो घुष खुवाउनु परेको छ |
यो घरै घरको देशमा – म एक जुठेल्नोभित्रको मान्छे |
म कहिल्यै नयाँ हुन सकिन
सधैँ पुरानो हुनु मेरो परिचय भएको छ |
आफैले आफैलाई हेर्नु परेको छ – जुठेल्नो भित्र
हेरिरहेको छु |
(स्रोत : Bi Pra’s Facebook )