देखिदै छ एकातिर टिभी स्क्रिनमा
बहुराष्ट्रिय कम्पनीद्वारा प्रायोजित
भव्य मञ्चमा
कमरेड बोल्दै गरेको फुटेज
र अर्कोतिर
उत्साहित गर्दैछ उसले
हँसिया हथौडा अङ्कित झन्डासँगै उभिएर
वालस्ट्रिटका विश्वव्यापी सञ्जालहरूको विरोध गर्न ।
कोर्दाकोर्दै जीवनको महान् चित्र
जब तरङ्गित भयो क्यानभासमा
पेप्सीकोलाको फेस्टिबल
नराम्रोसँग चक्करायो
पुँजीबजारको ग्राफमा उक्लिदै गरेको कवि;
घ्राणशक्तिको तीब्र कम्पनले चुहाउँदै ¥याल
मिल्कायो कलाकारले
वषौँदेखि सँगालेर राखेको कुची
र सगर्व बिक्री भयो
उत्तरआधुनिक रङ्गमञ्चको डबलीमा ।
सिउरेर कानमा गुहेलीको फूल
किसान भएको ढोँग गर्ने
छट्टु मनुवाले एलान ग¥यो
पुँजीबजारसँगै बदलिएको छ जीवनको परिभाषा नै ।
कविता लेख्दालेख्दै जब
यस युगकै महान् कविले भेट्यो
सूचनाहुन्डीको सट्टाबजारमा
विनिमय भइरहेको
अलभ्य चित्रकारीको नवीन बिम्ब
कवि अत्तालिँदै पुग्यो र सगौरव वाचन ग¥यो
बहुराष्ट्रिय कम्पनीको भव्य समारोहमा
आफ्नै विरुद्धमा लेखिएको कविता ।
सजाएर बैठकमा गुहेलीको फूल
अथवा रोपेर गमलामा गोलभेँडा
कहाँ बन्न सकिन्थ्यो र किसान !
वर्षौंदेखि खेती गरे पनि शब्दको;
लगाए पनि भाङ्ग्राको कछाड
कमरेड सतिसाल
मदिरा कम्पनीको भव्य सङ्गोष्ठीमा
मन्तव्य दिँदादिँदै
कछाडविहीन भयो ।
उसले हेक्कै राखेन नाँच्दानाँच्दै
कोकाकोलाको बिज्ञापनमा
मस्किरहेकी मोडलसँगै
खस्दै गएको कछाडको अन्तिम फेरो;
उसलाई त हतार छ यसपछि
खोज्न आफ्नै अनुहार कर्पोरेट स्क्रिनमा
दिनु छ भाषण बजारवादका बिरुद्ध
र लेख्नु छ द्वैधचरित्रको नयाँ दर्शन !
(स्रोत : Nepalisahityaghar.com)